पार्टी छ, मदन छैनन्


Published On : 30 June, 2020

चिनियाँ जनक्रान्तिको सफलताको पछाडि माओत्सेतुङको माक्र्सवाद लेनिनवादको अध्ययनसँगसँगै पूर्वीय र पाश्चात्य युद्ध दर्शनका निम्ति सुविख्यात सुनजुको युद्धकला सम्बन्धी गहिरो अध्ययन थियो भनी माओको जीवनी लेख्ने धेरै लेखकहरुले छर्लङ्ग पारिसकेका छन् । माओ उदयपूर्वको चीनको राजनीतिक, सामाजिक र आर्थिक अवस्था हेरेर भन्न सकिन्छ, पश्चिमी साम्राज्यवादीहरुले आफ्नो साम्राज्य विस्तारको निम्ति चीनलाई कसरी उपयोग गरिराखेका थिए भन्ने कुरा । भूमिको असमान वितरण, समाजमा हुनेखानेहरुले गरिखानेहरुमाथि गरी आएको शोषण र अन्यायसँगसँगै जापान र पश्चिमी साम्राज्यको बढ्दो दबाबले देशभित्र राष्ट्रवादीहरुको बलियो मोर्चा बनाउन दबाब दिइरहेको थियो ।

मदन अनि माक्र्स र लेनिनको दीक्षामा माओको नेतृत्व र लाखौँ चिनियाँ जनताको बलिदानले लेखिएको चीनको इतिहास, यी दुवैको ऐतिहासिक दस्तावेजमा मदन भण्डारीले बुझेको अर्को महत्वपूर्ण पक्ष सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्ट राज्यसत्ताको पतन । मदन भण्डारीले प्रस्तुत गरेका दस्तावेजहरु, लेखहरु, भाषणहरु र उनको विचारलाई केलाएर हेर्न हो भने पूर्वी युरोप र सोभियत कम्युनिष्टहरुको पतनका पछाडि सत्ताको अहँकार, शक्तिलाई आफैँमा समेटीराख्ने प्रवृत्ति, व्यक्तिभित्र हुर्कने तानाशाही चरित्रका कारण जनतासँग टाढिनु नै हो भन्ने थियो । सत्तामा पुगेर जनतासँग टाढिनु र आफैँले बनाएका आदर्शहरुबाट च्यूत हुनु नै पूर्व युरोपबाट कम्युनिष्ट शासन पतन थियो भनी बुझ्न सकिन्छ ।

मदन भण्डारीको बारेमा बोल्नुपर्दा चीनको जनक्रान्ति र माओको नेतृत्वको इमान्दारिताको बारेमा स्वयं मदन भण्डारीले खुला र बन्द प्रशिक्षणहरुमा दिने गरेका उदाहरणहरुलाई सम्झिनुपर्ने हुन्छ । र, यो सबै कुराको चुरो माओका युद्ध आदर्श सुनजुको दर्शनमा गएर ठोक्किन्छ । सुनजुले भनेका छन्, युद्ध त्यसैले जित्छ जसले पहिला स्वयंको सामथ्र्य बुझ्दछ, अनि शत्रुको सामथ्र्य बुझ्ने ल्याकत राख्दछ । त्यही युद्ध महासंग्राममा माओले आफ्ना सेनालाई प्रशिक्षित गर्दै भनेका थिए, जनतासँग सियो पनि नलेउ । जनतासँग खेत खलिहानमा जाउ । उनीहरुका दुःखमा साथ देउ । उनीहरुको न्यायको निम्ति गोलबन्द गर । आवाज उठाउ र सत्यको मोर्चामा सधै अग्रपंक्तिमा अघि बढ ।

वनारसमा पूर्वीय दर्शनले दीक्षित मदन भण्डारी माक्र्सवाद लेनिनवादको गहिरो अध्ययनपछि र चिनियाँ जनक्रान्तिको सफलताको अन्तर्यमा पुगेपछि बिना सशस्त्र आन्दोलन पनि जनतालाई एकीकृत गर्न सकिन्छ भन्ने निष्कर्षसहित जनताको बहुदलीय जनवाद प्रतिपादन गरेका थिए । एकातिर चाणक्यको नीति, भारत वर्षका पुराना युद्धहरुको अध्ययन गरेका मदन अनि माक्र्स र लेनिनको दीक्षामा माओको नेतृत्व र लाखौँ चिनियाँ जनताको बलिदानले लेखिएको चीनको इतिहास, यी दुवैको ऐतिहासिक दस्तावेजमा मदन भण्डारीले बुझेको अर्को महत्वपूर्ण पक्ष सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्ट राज्यसत्ताको पतन । मदन भण्डारीले प्रस्तुत गरेका दस्तावेजहरु, लेखहरु, भाषणहरु र उनको विचारलाई केलाएर हेर्न हो भने पूर्वी युरोप र सोभियत कम्युनिष्टहरुको पतनका पछाडि सत्ताको अहँकार, शक्तिलाई आफैँमा समेटीराख्ने प्रवृत्ति, व्यक्तिभित्र हुर्कने तानाशाही चरित्रका कारण जनतासँग टाढिनु नै हो भन्ने थियो । सत्तामा पुगेर जनतासँग टाढिनु र आफैँले बनाएका आदर्शहरुबाट च्यूत हुनु नै पूर्व युरोपबाट कम्युनिष्ट शासन पतन थियो भनी बुझ्न सकिन्छ ।

आरम्भदेखि अन्त्यसम्म मदन भण्डारीका विचारको केन्द्रमा अरु कोही छैन, जनता छ । जनतालाई कसरी सशक्त बनाउने ? जनतालाई कसरी गोलबन्द गराउने र समाजको असमानतालाई हटाएर जसको जोत उसको पोत कसरी बनाउने भन्ने चिन्तनको सारसँग्रहकै कारण सशस्त्र द्वन्द्व छाडेर प्रचण्ड एमालेमा मिल्न आइपुगेका हुन् । इतिहासको सत्य बिर्सन हुन्न, प्रचण्ड नेतृत्वको माओवादीले फौजी हमला नबोलेको भए नेपालमा यथास्थितिमा रहेका शक्तिहरुबाट राजतन्त्र बिदा हुन सम्भव थिएन ।

जुन २७ मदन भण्डारीको जन्म दिवसको दिन एउटा प्रश्नले गिजोलिरहन्छ, जनतालाई मदन भण्डारीले झैँ केन्द्रमा राखेर सोँच्ने, कार्ययोजना बनाउने र त्यसलाई व्यवहारमा उतार्न प्रतिवद्ध भएर लाग्ने अर्को जोधाहा को होला ? जो थिए, उनी असमयमै मारिए । सुनजुकै शब्दमा तत्कालीन समयको प्रतिध्वनि मदन भण्डारीले बुझ्न सफल भएका थिए । समाजको समस्या बुझेरै त उनले भनेका थिए, यौटा राजालाई फालेर फेरि सयौँ अरु राजाहरुलाई जन्मायौँ भने त्यो फाल्नु को अर्थ नै के रह्यो र ?

दासढुँगामा मदन भण्डारीको हत्या भएको पनि धेरै भइसकेको छ । यस बीचमा संसारको राजनीति, अर्थतन्त्र र प्रविधिको क्षेत्रमा पनि धेरै परिवर्तन भइसकेको छ । झापा संघर्षकालीन माले र प्रचण्ड नेतृत्वको माओवादीको बलिदानीपूर्ण सशस्त्र संघर्ष, पुष्पलालको दीर्घकालीन परिष्कृत कार्ययोजनालगायत यी सबै भँगालोको गण्डकी बनेर नेपालका कम्युनिष्टहरु सत्तामा पुग्न सफल भएका छन् । बदलिँदो विश्व परिदृष्य, सोभियत कम्युनिष्टको पतन र हार बेहोरिरहेका श्रमजीवीहरुको बीचमा जनताबाटै अनुमोदित भएर सत्तामा पुग्नु पनि कम्ती चानचुने कुरो होइन । जनतालाई विश्वासमा लिन सकियो भने जनताले नै विजयको किल्ला गाड्नेछन् भन्ने मदन भण्डारीको उद्घोषलाई जनताले प्रमाणित गरेर देखाइदिएका छन् ।

यहाँनेर सुनजुको भनाइ जुन माओत्सेतुँगले बडो पटक पटक भन्ने गरेका थिए, विना चातुर्यको रणनीति ढिलो विजय हुने आधार हो, तर रणनीति बिनाको चातुर्यता पराजयपूर्वको हल्ला मात्रै हो । जनताले त जिताएर पठाए । मदन भण्डारीको सैद्धान्तिक रणनीतिको आधारमा विस्तारित संगठनको जगमा सत्ता पनि प्राप्त भयो । तर, के मदनको विरासत थामेको दाबी गर्ने दल र नेताहरुले रणनीतिसहितको चातुर्यता प्रदर्शन गर्न सकेको छ त ? कि पूर्वी युरोप र तत्कालीन सोभियत संघका अगुवा झैँ यी पनि जनतासँग टाढिँदै गएका छन् ? यहाँनेर बडो सोचनीय र सोधनीय प्रश्न बनेर उभिएको छ ।

सुन्जु भन्ने गर्थे, हरेक अवसरको एउटा चरित्र हुन्छ । अवसर देख्न जान्यो भने त्यो दोब्बर तेब्बर हुँदै जान्छ । यत्ति हो, त्यो अवसर देख्ने दृष्टि कमसँग मात्रै हुन्छ । मदनका विचार निर्माणको जगमा सम्भवत यिनै युद्धकलाका ठूला रणनीतिकारको चिन्तनसँग नजिक थियो । जसले त्यो अवसर देख्ने क्षमता राख्दछ, उसैले त्यो युद्ध जित्ने अवसर राख्दछ ।

अहिले देशमा शासन गरिरहेको मदन भण्डारीकै वैचारिक धरातलको जगमा उभिएको पार्टी यतिबेला स्थायी कमिटीको वैठकमा व्यस्त छ । दुई फरक स्पिरिटबाट उदाएका तर, समयको करकापले एकै ठाउँ बस्न बाध्य भएका दुई फरक शैलीका नेताहरुको एकता अझै हुन बाँकी छ । संसार जित्न हिँडेको योद्धा कतै रणनीतिबिनाको कपट र दूर्गन्धित चातुर्यको डंका बजाइमा त अल्मलिएको छैन ? पार्टी कुनै एउटा व्यक्तिको क्षणिक आवेग र उत्कन्ठाले मात्रै बन्दैन । पार्टी बन्नका निम्ति पुष्पलालदेखिका ससाना इँटका टुक्राहरुको सम्मिश्रण जरुरी हुन्छ । महासागर यत्तिकै कहाँ बन्छ, त्यहाँ नदी,नाला, कुलो कुलेसा हुँदै हरेक बूँदहरुको उत्तिकै महत्व हुन्छ । अझ बादलहरुलाई पनि हेप्नुहुँदैन, किनकि ती फेरि झरी बनेर त्यही सागरमा मिसिनेछन् । बर्खे झरीमा गड्गडाउनेहरुका झोँक एकैछिन मात्र हो ।

लेनिनले एकपटक भनेका थिए– कहिलेकाहीँ इतिहासलाई पनि धक्का मार्नुपर्ने हुन्छ । अहिले लेखिदै गरेको कम्युनिष्ट शासनको यो वर्तमान अर्थात् भोलिको इतिहासलाई पनि लेनिनले भने जस्तै धक्का मार्नुपर्ने भएको छ । इतिहास कतै गलत त लेखिदै गरेको छैन ? जनतासँग कतै टाढिँदै गइएको त छैन ? मदनले भने जस्तै कतै एउटा राजाको ठाउँमा सयौँ राजाहरु उत्पादन त गरिएको छैन ? के यो मुलुक मदनकै सपनाअनुसार जसको जोत उसको पोत र गरिखानेहरुको बराबरी हकको बाटोमा अघि बढिरहेको छ ? के सरकारले ल्याएका कार्यक्रमहरु त्यो बाटोतिर डोरिने दिशातिर गइरहेका छन् ?

लेनिनकै अर्को कुरा ‘क्रान्तिकारी कार्यक्रम र नीतिबिना कहीँ पनि क्रान्तिकारी गतिविधि हुँदैनन् ।’ पार्टीभित्रै संग्रामी बहसको धक्का, अपराधीहरु दण्डित र असल काम गर्नेहरु पुरस्कृत हुने वातावरणको धक्काको जरुरी छ । सरकार पार्टीको लगाममा चलेन भने, पार्टीभित्रै भोलिको बाटो तय भएन भने, सरकारमा बस्नेले पार्टीको दीर्घकालीन योजना अनुसार काम गरेनन् भने त्यसको दुखान्त फल जनताले भोग्नेछन् । पार्टी कार्यकर्तामाथि अन्याय हुनजानेछ ।

अहिले कम्युनिष्ट पार्टीको सरकारले जुन कार्यक्रमहरु ल्याइरहेको छ, ती मदन भण्डारीका सपना अनुसारका छन् कि छैनन् त्यो तमाम कार्यकर्ताले मूल्याँकन गर्नुपर्ने बेला भएको छ । डिलमा बसेर यति मात्र भन्न सकिन्छ, मदन भण्डारीको जन्म दिवसको दिन बालुवाटरमा बसेर मदनको भजन गाएर मात्रै कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन पार्टीभित्र फलामे अनुशासन चाहिन्छ । विधि, विधानसम्मत ढंगले पार्टीको नेतृत्व गर्नुपर्छ । सानो घेरामा बसेर पुच्छरले कुकुर हल्लाउदैमा पार्टी सुदृढ हुन सक्दैन । पार्टी सुदृढ गराउनका लागि सबैभन्दा पहिला आफूले गरेका गल्ती कमजोरी सच्याउँदै सामूहिक नेतृत्वको धारणामा अगाडि बढ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्