काठमाडौं । ‘एपिक नेपाल म्युजिक अवार्ड’को पाँचौ संस्करण आगामी चैतमा हुने भएको छ । आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठको आतिथ्य तथा म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा आगामी चैत्र २ गते अवार्ड प्रदान गरिने जानकारी दिइएको हो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित हुन लागेको यस कार्यक्रममा नेपाली गीतसंगीतका सबै विधा (चलचित्रसहित) ३२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
यस पाँचौँ संस्करणमा बरिष्ठ कलाकार बसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यस्तै, पत्रकार ऋषि धमला र युवा पत्रकार सम्मान क्रषि थपलियालाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । साथै, कार्यक्रममा अभिनेता भुवन केसी र पल शाह पनि सम्मानित गरिने बताइएको छ ।
आयोजकका अनुसार पाँचौँ संस्करणको यस अवार्डका लागि अभिनेत्री मिथिला शर्मा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट, प्रशना शाक्य निर्णायक रहने भएका छन् ।