काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रामकुमार राईले खोटाङको आगलागीमा रु सात करोडको क्षति भएको, दुई घर जलेर नष्ट भएको सुनाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधिले मिलेर आगलागी नियन्त्रण गरेको उनले जानकारी दिए । तत्काल आगलागी पीडितलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न उनले माग गरे ।
सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गरे । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले योगदान गरेको पनि उनले सुनाए । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले ग्यास सिलिन्डर बाहिर फालेका कारण आगो धेरैतिर फैलन नपाएको सांसद बजिमयले बताए ।
सांसद रघुजी पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्नुहुँदै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताए । राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद् भएको उल्लेख गर्दै प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद् भएको धारणा राखे ।
सांसद अशोककुमार चौधरीले चार घण्टापछि मात्र खोटाङको आगो निभाउन सकिएकाले सबै जिल्लामा दमकलको व्यवस्था गर्न माग गरे । आगो निभाउनका लागि पूर्वतयारी गर्न पनि उनले सुझाव दिएका थिए । सांसद वीरेन्द्रप्रसाद महतोले बलात्कारका घटनामा पीडितले आत्महत्या गर्ने अवस्था आउँदा पनि पीडित कानुनी कारबाहीको दायरामा नआउनु दुःखद भएको बताए । सांसद सीताकुमारी रानाले दैलेखको पश्चिम क्षेत्रका केही विद्यालयमा तनावसँग सम्बन्धित रोग फैलिएकाले अन्तिम परीक्षा सुरु हुने बेलामा यस्तो रोगको समाधान गरिनुपर्नेमा जोड दिए ।
सांसद सूर्यबहादुर थापा क्षत्रीले आइतबार संसद्मा प्रश्नोत्तर सकेर प्रधानमन्त्री निस्कँदै गर्दा बाहिर बसेका पत्रकारले तपाईं हिटलरको बाटोमा हिँड्न खोजेको हो भनी सोध्नु जायज नभएको र पत्रकार आचारसंहिता विपरीत भएको बताए ।