जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर बन्द गरिएको छ । अनुगमनका क्रममा इण्डो हस्पिटल अनुमति नलिई सञ्चालन गरिएको पाइएपछि मुख्यमन्त्री सिंहले तत्कालै बन्द गराएका हुन् ।

अस्पताल बन्द गरिएपछि त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र सार्न निर्देशन दिइएको छ । मुख्यमन्त्री सिंहले बुधवार वीरगञ्ज पुगेर विभिन्न ७ वटा नीजि अस्पतालको अनुगमन गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले मुख्यमन्त्री सिंहको निर्देशनमा इण्डो हस्पिटल बन्द भएको बताएका उनका अनुसार इण्डो हस्पिटल कुनै निकायमा दर्ता छैन । साथै, अस्पतालको मापदण्ड समेत पुरा नगरेको पाइएको थियो ।
मुख्यमन्त्री सिंह नेतृत्वले बुधबार वीरगञ्जका श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वोत्तम अस्पताल, आशाराम हस्पिटल र स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल अनुगमन गरेका थियो ।
सोक्रममा श्री भवानी हस्पिटल र स्पर्श मल्टिस्पेशलिटी हस्पिटलले पनि नवीकरण नगरेको पाइएको बताइएको छ । दुवै अस्पताललाई नवीकरण गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले जनकपुरधामबाट नीजि अस्पतालको अनुगमन सुरु गरेका थिए । उनको निर्देशनमा जनकपुरधाममा सञ्चालन अनुमति नलिएका आधा दर्जन अस्पताल बन्द भइसकेको छ ।