Logo
Logo

मह जोडीकाे प्रष्टीकरण- हामीले कुनै पनि धर्मको विरोध गरेका छैनौँ


2k
Shares

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुबमार्फत नै दातृ निकायको सहयोगमा आफूहरूले बनाएका कार्यक्रममा कतै पनि हिन्दू धर्मलाई ठेस पु¥याउने काम नगरेको प्रष्टीकरण दिएका हुन् ।

‘मह जोडी’ले अमेरिकी सहयोग नियोग युएसआइडीबाट अनुदान लिएर हिन्दू धर्मविरुद्ध कार्यक्रम बनाएको भन्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । ती साम्रगीसँगै मह जोडीको आलोचना गर्नेहरु पनि बढिरहेका छन् । यसैक्रममा मदनकृष्ण र हरिवंश बिहीबार एक भिडियो सन्देश पोष्ट गर्दै त्यसको खण्डन गरेका हुन् ।

उनीहरुले आफूहरूले यूएसआइडीको पैसामा केही सचेतनामूलक कार्यक्रमहरू बनाएको भएपनि ती कार्यक्रममा कुनै धर्मको पक्षपोषण वा विरोध नभएको बताएका छन् । हरिवंश आचार्यले भनेका छन्, ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो ।’

उनले आफूहरुले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरुमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनले अनुरोध गरेका छन् ।

आचार्यले भनेका छन्, ‘पण्डित हुँदैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य भनेको पण्डितलाई पनि गर्न पाइन्छ, नेतालाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध ग¥यो भन्ने कुरा चाहिँ कपोलकल्पित कुरा हो ।’

आफूहरु निरन्तर काममा लागिरहने बताउँदै उनले भनेका छन्, ‘यस्ता किसिमका कुराहरु आएर हामी हतोत्साही हुँदैनौं र नेपाली जनताहरुलाई यी सबै भ्रामक कुराहरुको विश्वास नगरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्