Logo
Logo

आर्थिक भार थेग्न नसकेपछि दुई अनलाइनले कर्मचारी कटौती गरे


न्यूयोर्क/एजेन्सी


न्यूयोर्क, १३ माघ (एजेन्सी) । अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइट बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको संकेत जनाउने गरी यी दुबै सञ्चार संस्थाको आर्थिक स्थिति सकंटपूर्ण बन्दै गएको छ ।
बजफीडले १४ महिनाभित्रै दोस्रो पटक कर्मचारी कटौती गरेको हो । बजफीडले दोस्रो पटक २०० कर्मचारी हटाउन आन्तरिक सूचना जारी गरेको छ । पहिलो पटक कम्पनीले १०० जना कर्मचारी हटाएको थियो । यो समाचार संस्थामा एक हजार ७०० कर्मचारी कार्यरत थिए ।
हफपोस्टमा पनि सम्पादकीय विभागमा कार्यरत करिब १० प्रतिशत पत्रकार कटौती गरेको छ । हफपोस्टले पत्रकार कटौतीका बारेमा स्पष्ट गरेको छैन । हफपोस्टको संस्थापक कम्पनी भेरिजोन मिडिया आफैँले पनि आफ्ना अरु कम्पनीबाट कर्मचारी हटाउँदैछ । भेरिजोनले हाल एओएल, याहू र भेरिजोन मिडिया सर्भिसेज सञ्चालन गरिरहेको छ ।
‘ठूलो संख्याका पाठक, श्रोतालाई आफूतिर आकर्षित गर्ने र विज्ञापनको ठूलो हिस्सा ओगट्ने मनसायबाट यी सञ्चार माध्यमहरु स्थापना गरिएको थियो,’ पोइन्टर इन्स्टिच्यूटका मिडिया विश्लेषक रिक एडमन्डले भने, ‘तर, गूगल र फेसबुकले बजारमा अनपेक्षित सफलता प्राप्त गरे । यी दुई संस्था सूचना सङ्कलनमा अग्रणी देखिए र ठूलो संख्यामा पाठक, श्रोतालाई पनि आकर्षित गरे ।’
इमार्केटियरको प्रक्षेपण अनुसार, गूगल र फेसबुकले सन् २०१८ को कूल इन्टरनेट विज्ञापनको करिब ५८ प्रतिशत हिस्सा ओगटेका थिए । सन् २०११ मा यी दुईले करिब ४६ प्रतिशत बजार ओगटेका थिए । अर्को ठूलो कम्पनी अमेजनले आफूलाई तेस्रो नम्बरमा उभ्याएको छ । ‘निःशुल्क, विज्ञापन–आधारित मोडेल अपनाउने डिजिटल मिडिया अहिले संकटमा पर्न थालेका छन्,’ नर्थइस्टर्न युनिभर्सिटीमा पत्रकारिताका प्राध्यापक ड्यान केनेडीले बताए । तर, केनेडीको विचारमा बजफीड र हफपोस्ट दुबै बजारबाट विलुप्त हुने सम्भावना छैन ।
बजफीडका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक जोनाह पेरेटीले आर्थिक संकट उत्पन्न भए अरु संस्थासँग गाभिन सक्ने बताउनुभयो । उनी हफपोस्टको सहसंस्थापक पनि हुन् । उनले सार्वजनिक रुपमै भाइस, भक्स, रिफाइनरी२९ र ग्रुप नाइनलाई गाभ्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्