Logo
Logo

को बन्लान् ३१औं आईजीपी ? यी हुन तीन प्रतिस्पर्धी


31.3k
Shares

काठमाडौं । नेपाल प्रहरीमा ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) को चर्चा सुरु भएको छ । आईजीपी बसन्तबहादुर कुँवर अवकाशमा जाने दिन नजिकिएसँगै भावी आईजीपीको चर्चा सुरु भएको हो ।

विद्यमान प्रहरी नियमावलीअनुसार अबको २३ दिनपछि अर्थात चैत ५ गते आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ । यस्तो अवस्थामा ३१औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका तीन अधिकृत मुख्य प्रतिस्पर्धामा छन् ।

जसमा सीआईबी प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी छन् ।

आइजीपी कुँवरका व्याची टेकप्रसाद राई दूर्गा सिंह चन्द, कुवेर कडायत, बुद्धिराज गुरुङमात्रै बाँकी छन् । राई पनि केही दिनमै बिदा हुँदैछन् भने आइजीपी कुँवरसँगै कडायत, चन्द र गुरुङ बिदा हुनेछन् । 

अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीन जना पनि हालका आईजीपी कुँवरकै ब्याची हुन् । उनीहरु वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

२६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए ।

आईजीपी बढुवाको प्रतिस्पर्धामा रहेका तीनै जना एआइजीहरु बढुवाका लागि तीव्र लविइङमा छन् । आफू निकट शक्तिकेन्द्रलाई दबाब दिएर उनीहरू आईजीपी बन्न लागिपरेका छन् ।

आइजी प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापाको उच्च तहका सबै राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । करिब दुई साता समेत सिनियर भएको र शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध रहेकाले उनी आईजी बन्ने सम्भावना प्रबल रहेको अड्कल गरिन्छ ।

त्यसैगरी अर्का प्रतिस्पर्धी गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । बाबुको लिगेसी र आफ्नै पनि कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले गिरीको पनि आईजी बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।

अर्का प्रतिस्पर्धी तामाङ पूर्वडीआईजी देवीलाल तामाङका ज्वाईं हुन् । झापा ससुराली भएका पूर्वडीआईजी तामाङको एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । जसकारण स्वच्छ छवि भएका तामाङको पनि आईजीपी बन्ने सम्भावना छ ।

सरकारले यी तीन एआईजीमध्ये एकलाई आगामी चैत ५ गते आईजीपीमा बढुवा गर्नेछ । थापा, गिरी र तामाङमध्ये जो आईजीपी भए पनि उनले ११ भदौसम्म कमान्ड सम्हालेछन् । त्यसपछि उनीहरू पनि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्