Logo
Logo

चावहिल–साँखु सडकखण्ड : तीर्थयात्रीलाई सास्ती


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ माघ । निर्माणाधिन चावहिल–साँखु सडकखण्डमा हिलो र चिप्लोका कारण विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीलाई समस्या भएको छ । शंखरापुर नगरपालिकाको साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शालिनदी मेलामा आउने भक्तजनले सडकका कारण सास्ती भोग्नु परेको हो ।
सडकमा ठूला खाल्डा, हिलो र चिप्लो भएकाले चावहिलबाट साँखु जाने गाडी फस्ने गरेका छन् भने मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेका तीर्थयात्री जयराम खतिवडाले बताए ।
गाडी फस्ने हुँदा सवारी आवागमन समस्या भएको छ । लामो सवारी जामपर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा हिलाम्मे सडकमा पैदल मन्दिर जान बाध्य छन् । चावहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिक मार्ग नभएकाले सोही बाटो हँुदै जानुपर्ने बाध्यात्मक अवस्था रहेको मेला हेर्न आएका रुपेश श्रेष्ठले बताए ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाई ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सो सडकको विस्तार गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्