Logo
Logo

त्यो समयले सिकाएको पाठ


2.7k
Shares

चीनमा चारवर्ष बिताइसक्दा पनि हामी उमेरले अझै युवा नै थियौँ । भोगाइ र जीवनले सिकाएका पाठले भने आफूलाई बुढो बनाएजस्तो लाग्थ्यो ।

लेखेकी रहेछु डायरीमा– “एक एक मिनेटको हिसाब गर्नु पर्ने बेला कसैसित गफ गर्नु पनि अनावश्यक लाग्दो रहेछ । टिभी हेर्दा पनि समय खेर गएको जस्तो लाग्छ… पन्ध्र–सोह्र वर्षको उमेरमा नै राजनीतिमा होमिनु, अरुले देखाएको बाटोमा समर्पित भएर लाग्नु, पढाइ छोडेर भूमिगत जीवन बिताउनु जस्ता कुरा त्योबेला आफ्नै निम्ति ठुलो नलागे पनि आमाको चित्त भने बेस्सरी दुखाएकी छु । त्यसैले पनि यो जीवनको हरेक क्षण सितिमिति फाल्नु हुन्न भन्ने लागिरहन्छ…’’

त्यतिखेर मेरो पढाइको अवधि सकिन लागेको थियो । तर सरोज अझै थेसिस लेख्दै थिए । एकदिन साँझ दिक्क हुँदै फर्के होस्टेलमा । अनुहारले समस्या छ भन्ने बतायो तर खास समस्या के हो थाहा थिएन ।

मैले “के भयो ?’’ भनेर सोधेँ । उनले बताएपछि थाहा भयो– रात दिन नभनी, कहिले अस्पताल कहिले प्रयोगशालामा राती राती बसेर उनले अनुसन्धान गरेको नतिजालाई अर्को एकजना चिनियाँ विद्यार्थीले झण्डै आफ्नो बनाउन लागेको रहेछ ।

बुढा ज्यादै दानी, खुल्ला र अव्यवहारिक मान्छे भएको त शुरुदेखि नै थाहा छ मलाई । सबै कुरा सबैलाई भन्नु जरुरी छैन भनेर उहिल्यैदेखि भनिरहन्थेँ । अहिले फेरि आफ्नो अनुसन्धानको प्रारम्भिक नतिजा जोपायो त्यसलाई ‘साथी’ ठानेर सुनाउन हतारिएछन् ।

आफ्नो त्यत्रो मिहिनेत र तपस्यालाई कसैले चोर्न खोजेको कुरा उनलाई मात्र दुःख लाग्ने कुरा थिएन, म पनि रिसाएँ । देश फर्केर धेरै काम गर्ने सपना देखिरहेको बेला यस्तो कुरा सुन्नु पर्दा मलाई निको लाग्ने कुरा भएन । उसको नियत सरोजले थाहा पाएपछि कुरा गर्दा त्यो ‘साथी’ले अझै लाजै नमानी हाँस्दै भनेछ – “तिमी आफ्नो देश फर्किहाल्छौ क्यारे, के भयो र ? यति डेटा मलाई प्रयोग गर्न देउ न, तिम्रो के बिग्रिन्छ ?’’

‘साथी’को बौद्धिक चोरी गर्ने प्रयत्न त विफल भयो, तर पनि केही समय सरोजको मूड बिग्रिरह्यो । बुढालाई सकेसम्म सान्त्वना दिने प्रयत्न गरेँ । एकदिन साँझ होस्टेलमा दिक्क भएर बस्नुको सट्टा कतै बजार घुम्न जाउँ भनेँ । छोरी पनि खुसी भइ । बजार जाने कुरालाई बुढाले पनि नाईँ भनेनन् त्यो दिन । अलिकति पैसा बोकेर बजार गयौँ तीनैजना ।

शाङ्हाईको बजार न हो, अत्यन्त भीड थियो । तर मेरो मनमा एउटा आशा थियो बुढालाई जसरी पनि खुसी बनाउने । त्यो दिन मैले बुढाको निम्ति उनलाई मनपर्ने वाइन पनि किनिदिएँ । बुढाले रक्सी खाएको मलाई पटककै मन पर्दैन थियो । तर त्यो दिन किनिदिउँ जस्तो लाग्यो । बुढा आफै छक्क परे । अनि मलाई मन पर्ने सानोसानो घोडाको बुट्टा भएको रातो टाई पनि किनिदिएँ । बुढाको अनुहारमा केही परिवर्तन देखेँ । उनलाई पनि निकै मन प¥यो त्यो टाई ।

पछि देश फर्केपछि पनि धेरै वर्ष उनले त्यो टाइ लगाए । उनलाई मन पर्ने दुइटा कुरा किनेपछि एउटा रेष्टुराँमा पस्यौं र छोरीलाई मन पर्ने खाना खायौँ । बजारबाट फर्किँदा बुढाको अनुहारमा तनाव केही कम भएजस्तो लागेर म सन्तुष्ट भएँ ।

चीन आएपछि सबभन्दा व्यस्त र अर्थपूर्ण समय बिताउन पाएको वर्ष पनि थियो त्यो । मान्छेले सुखको खोजी गरि नै रहन्छन् । तर जीवनको बाटो कहिल्यै सोझो हुँदैन, जहिले पनि बाङ्गोटिङ्गो नै हुन्छ । उकाली–ओरालीले भरिएको हुन्छ । सोच्दै नसोचेका बाधाहरूले गतिलाई छेक्न खोज्छन् । तर ती बाधा पार पनि हुन्छन् । समय आफ्नै गतिमा अगाडि बढिरहन्छ ।

छोरीलाई उसको नियमित पढाइबाहेक आइतबार छुट्टीको दिन चिनियाँ चित्रकला सिक्ने स्कूलमा लिएर जान्थेँ । ऊ पनि अत्यन्त प्रतिभाशाली बच्चा भएकोले बेलैमा सिक्न पाओस् भन्ने लाग्थ्यो । म बच्चा हुँदा घरको अभाव र शिक्षित अभिभावकको कमीले गर्दा सिक्न खोजेका धैरै कुराहरू सिक्न पाएकी थिइनँ । जीवनमा सधैं खट्किरह्यो त्यो कुरा – अझै पनि खट्किन्छ ।

विधवा आमाले हुर्काएका हामी तीन छोरीहरूमा दिदीहरू त झन् अत्यन्त प्रतिभावान भइकन पनि स्कूलै जान पाउनु भएन । झण्डै मैले पनि पढ्न नपाएको । कसरी कसरी समयले साथ दियो । मलाई माया गरेर पढाउनुहुने गुरुआमाहरू प्रति म सधैं आभारी छु । मलाई साथ दिने दिदीहरुप्रति पनि । अनि स्कूल पढ्नु पर्छ भन्ने फुपूप्रति पनि । म मात्र आठ महिनाकी हुँदा उबेलाका शिक्षित र ज्ञानी बाको देहावसान भएपछि आमासँगै हामी पनि अथाह दुःख भोग्न बाध्य भएका थियौँ ।

सबैसँग आ–आफ्नै दुःखका कथाहरू हुन्छन् भन्ने कुरा पनि समयले सिकाउँदै लग्यो । “संसारमा त हो दुःख हुने’’ भन्ने ज्ञान पनि गहिरिन थाल्यो । दुःख, अभाव र भेदभाव हटाउन भनेर नै किशोरावस्थादेखि क्रान्तिको अप्ठेरो बाटो छानेको हो ।

तर राजनीतिक संगठनहरूभित्र फराकिलो सोचले ठाउँ नपाउँदा बल्लबल्ल पढ्न पाएको पढाइ पनि त्याग गर्नु परेको थियो ‘बुर्जुवा शिक्षा’ भनेर । त्यो त्याग गर्ने कुरामा मेरो असहमति थियो । तर म अल्पमतमा परेकी थिएँ । शिक्षाको प्यास ममा ताजै थियो । तर त्यो बेलाको पार्टीको आदेश आएपछि “ठूलो उद्देश्यका निम्ति’’ भनेर पढाइ त्याग गरेका थियौँ । यसरी पढाइ त्याग गर्नेमा अरू साथीहरु पनि थिए ।

समयले मलाई चीन पु¥याएको थियो र आमा भइसकेपछि पनि छात्रवृतिसमेत पाएर पुनः पढ्न पाएकी थिएँ– बच्चा हुर्काउँदै बुढालाई पनि साथ दिंदै । अब त दुवैको पढाइ सकेपछि देश फर्किन पाइने भयो भन्ने बेला फेरि अर्कै किसिमको मानसिक तनाव हुन थाल्यो । फर्केर कहाँ बस्ने ? आफ्नो भन्ने घर छैन । सधैँ माइतीमा बस्न मिल्दैन । घरको अन्तर्जातीय बुहारी म । ससुरा बुवाले “तिमीहरू घर फर्क, छोरीलाई नेपालमा पढाउनु …’’ आदि भनी चिठीमा लेखे पनि मेरो अन्तरमनले यो कुरालाई जस्ताको त्यस्तै पत्याउन सकिरहेको थिएन । मनमा अनेक आशंका थिए… ।

तर बहुदल आएपछिको नयाँ देश हेर्ने इच्छा पनि जागिरहेको थियो । पहिले देश फर्कौ, अरु जे पर्ला टर्दै जाला नि भन्दै फर्किने मानसिकता पनि बनाउँदै थिएँ । आखिर जीवन भनेको संघर्षको कथा पनि त रहेछ ।

प्रतिक्रिया दिनुहोस्