Logo
Logo

खुला दिसामुक्त क्षेत्र घोषणा गर्न मुख्यमन्त्रीलाई रातो कार्पेट


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ,१५ माघ ।

झुटो तथ्यांक देखाएर गत वैशाखमा दार्चुला जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो। तर, सदरमुकाममै सयभन्दा बढी परिवारको दिसापिसाब महाकाली नदीमा बग्छ।

पूर्ण रूपमा चर्पी बनाएर मात्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका मिडियाले आवाज उठाउँदा पनि जिल्ला समन्वय समितिले घोषणासभा आयोजना गरेको थियो।बजेट मात्रै फर्स्योट गर्ने उद्देश्यले आयोजित घोषणासभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका लागि रातो तुल बिछ्याइएको थियो । राजाजस्तै तुलमा हिँडेर स्टेजमा गएका उनले दार्चुलालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरेका थिए। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरा समेत दार्चुला पुगेका थिए। अतिथि सत्कार मै ६ लाखभन्दा बढी खर्च भएको थियो। सदरमुकाम रहेको महाकाली नगरपालिका – ४ घाट बजारका सयको हाराहारीका घरपरिवारको दिसापिसाब सिधै नदीमा बगाइन्छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

उनीहरूको सेफ्टीट्यांकी छैन। वडा नम्बर ५ तितरसैनका एक दर्जन परिवारले शौचालय बनाएका छैनन्। सदरमुकाममै यस्तो अवस्था छ भने ग्रामीण क्षेत्रमा कयौँ बस्तीमा शौचालय बनेका छैनन्।

घोषणा हुनु पूर्व गतवर्ष १९ चैतमा बसेको जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको बैठकले महाकाली नगरपालिकाको ४ र ५ वडाका एक सय ११ परिवारसँग सेफ्टी ट्याँङ्की नभएको वा शौचालय नै नबनाइएकोले ती घरपरिवारलाई सेफ्टी ट्याङ्की निर्माण गराउन लगाएर मात्रै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्