काठमाडौं । नेपाली कांग्रेसको हरेक चार वर्षमा पार्टी महाधिवेशन हुनुपर्ने विधान छ । विधानअनुसार कांग्रेसको महाधिवेशन भए ०८२ मङ्सिरमा १५औँ महाधिवेशन हुनुपर्छ । कांग्रेस विधानले महाधिवेशन सकिएको ६ महिनाभित्र विभाग र समिति गठन हुनुपर्ने व्यवस्था गरेको छ । तर पार्टीका १४ विभागले अहिलेसम्म पनि नेतृत्व पाउने सकेका छैनन् ।

कांग्रेसका ५९ विभाग भने गठन भइसके पनि केहीले अधिवेशनको तयारी पनि गरिरहेका छन् । कांग्रेसले आगामी महाधिवेशनका लागि चैत मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने कार्य तालिका बनाएको छ । क्रियाशील सदस्यता नवीकरण पूरा भएपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी कांग्रेसको छ ।
तर कांग्रेस नेताहरु भने १५औँ महाधिवेशनको तयारीमा देश दौडाहामा व्यस्त छन् । महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण नहुँदै दर्जनभन्दा बढी आकांक्षा नेताहरु कांग्रेस नेतृत्व हत्याउन १५औँ महाधिवेशनको आन्तरिक तयारीमा जुटेका छन् ।
दुई पटक भन्दा बढी सभापति बन्न नपाउने कांग्रेसको विधान छ । विधान अनुसार सभापति शेरबहादुर देउवा आगामी १५औँ महाधिवेशनमा उम्मेदवारी बन्न पाउने छैन। देउवाको पार्टी नेतृत्व गर्ने यो अन्तिम हो ।
देउवा सभापति नबन्ने भएपछि गत महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका, तत्कालीन समयका आकांक्षी नेताहरूदेखि हालका महामन्त्री गगन थापासमेत आगामी नेतृत्व हत्याउने दाउमा जुटेका छन् । १४औँमा संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार डा. शेखर कोइराला समूहबाट महामन्त्री जितेका गगन थापा भने यो पटक कोइराला समूहबाट लगभग अलग भइसकेका छन् ।
गगन १२औँ महाधिवेशनमा सुशील कोइराला सभापति निर्वाचित हुँदा उनी सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भए । पार्टीको १३औँ महाधिवेशनमा महामन्त्री रहेका कृष्णप्रसाद सिटौलाले थापालाई महामन्त्रीको उम्मेदवार बनाएर आफू सभापतिको दाबेदार बने ।
२०७२ फागुन १९ गते काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सिटौलाले महामन्त्रीमा थापालाई लिएर आफ्नो टिम घोषणा गरेका थिए । तर, त्यसबेला थापा पराजित भए । महामन्त्री पराजित भएपछि थापा गुट परिवर्तनमा लागे । सिटौलालाई छोडेर थापा पार्टीको १४औँ महाधिवेशनमा इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाको समूहबाट महामन्त्रीकै उम्मेदवार बन्न आइपुगे । गगन महामन्त्रीमा निर्वाचित भए तर, उनकै प्यानलका सभापति उम्मेदवार शेखर पराजित हुन पुगे । अर्थात्, गगनको लोकप्रिय मत शेखरलाई ’ट्रान्सफर’ भएन ।
१४औँ अधिवेशनमा संस्थापनइतर समूहबाट महामन्त्री जितेका गगन यो पटक कोइराला समूहबाट अलग हुने निश्चित छ । शेखर समूहबाट सभापतिको उम्मेदवार बन्न नपाउने निश्चित भएपछि उनी संस्थापन समूहमा नजिकिन थालेका छन् । तर, देउवा समूहबाट पनि गगनले सहयोग पाउने असम्भवजस्तै छ ।
२०७९ मंसिर ४ मा काठमाडौँ–४ बाट निर्वाचित भएका गगन पुस ६ गते कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिए । दलको नेताका लागि निर्वाचन लड्दा उनले अर्का आकांक्षी डा. शेखर कोइरालालाई बल्लतल्ल मनाएका थिए । त्यतिबेला कोइरालालाई मनाएपछि थापाले भनेका थिए– १५औँ महाधिवेशनमा डा शेखर कोइरालालाई सभापतिको उम्मेदवार प्रस्ताव गर्छु ।
त्यसबेला उनी पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवासँग पराजित हुन पुगे । गगनलाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका थिए । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए ।
कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार प्रस्ताव गर्छु भनेका थापा अहिले आफैँ सभापति लड्ने गरी देश दौडाहा गरिरहेका छन् । औपचारिक रूपमा घोषणा नगरे पनि गगन सभापतिको दौडमा लागिसकेका उनका गतिविधि र उनीनिकट नेता–कार्यकर्ताका अभिव्यक्तिले पुष्टि गर्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको आशीर्वाद बिना सभापति बन्न असम्भव हुने थाहा पाएका गगन पछिल्लो समय संस्थापन समूहमा नजिक हुन् थालेका छन् । सभापति देउवाका कार्यशैलीप्रति सार्वजनिक रूपमै विरोध गर्दै आएका गगन पछिल्लो केही समयदेखि देउवाविरुद्ध मुख बन्द गरेका छन् ।
गगनले देउवाविरुद्ध कुनै सार्वजनिक कार्यक्रममा बोलेका छैनन् । उनी पटक–पटक देउवा निवास बुढानीलकण्ठ पुगेर देउवासँग संवाद गरिसकेका छन्। त्यसो त गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । तर गगन-विश्वप्रकाश समूहले मात्र महाधिवेशनमा चुनाव लड्न असम्भव छ ।
गगन सभापति बन्ने सम्भावना कति ?
१४औँ अधिवेशनमा संस्थापन इतर समूहबाट महामन्त्री जितेका गगन थापा यो पटक कोइराला समूहबाट अलग हुने निश्चित छ । शेखर कोइराला सभापति लड्ने पक्का भएपछि गगनले समूह परिवर्तन गरेका हुन् । शेखर समूहबाट सभापतिको उम्मेदवार बन्न नपाउने निश्चित भएपछि गगन सभापति बन्न कै लागि संस्थापन समूहमा नजिक हुन थालेका छन् ।
१५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारी नबन्ने भन्दै संसदीय दलमा उम्मेदवारी बनेका गगन पदकै लागि शेखर समूहबाट अलग भएका हुन् । दर्जनभन्दा बढी सभापतिको आकाङ्क्षी भएका कारण गगनलाई सभापति बन्न फलामको चिउरा झैँ हुने निश्चित छ ।
सभापतिको मुख्य प्रतिस्पर्धी समूह देउवा र शेखर हो । शेखर आफैँ सभापतिको आन्तरिक तयारीको लागि जिल्ला दौडाहामा व्यस्त छन् । देउवा समूहबाट भने गगनलाई सहयोग पाउने लगभग असम्भव जस्तै छ ।
पहिलो कारण हो– महाधिवेशनको मुखमा समूह फेर्ने गगनको प्रवृतिले गर्दा पनि गगनलाई सहयोग गरिहाल्ने अवस्थामा छैनन् देउवा । दोस्रो– दुई पटकसम्म आफूलाई सभापतिमा सययोग गरेका दर्जनभन्दा बढी नेताहरु सभापतिको आकांक्षीमा छन् ।
यसअघिका महाधिवेशनमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरेकै नेतात्रयमध्ये उपसभापति पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र कृष्ण सिटौला मुख्य आकांक्षी हुन् । यी तीन नेताबीच देउवालाई कसरी खुशी पार्ने भन्ने प्रतिस्पर्धा देखिएको छ । यी नेताहरुमध्ये पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह पनि सभापतिका आकांक्षी हुन् ।
शेखर र देउवा समूहबाहेक अन्य समूहबाट सभापति बन्ने सपना गगनको लागि ’दिवा सपना’ हुनेछ । १५औँ महाधिवेशनमा पनि देउवाको आशीर्वाद जसले पाउछ, उनै बलियो सभापतिका दाबेदार हुनेछन् । देउवा आफू सभापति नबने पनि आफ्ना पक्षका विश्वास पात्रलाई सभापति बनाउने तयारीमा छन् ।
उत्तराधिकारी खोज्दै बुढानीलकण्ठमा नेताहरूको भिड
पूर्व महामन्त्रीसमेत रहेका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलासहित संस्थापन पक्षीय दर्जनभन्दा बढी नेताहरू बुढानीलकण्ठ पुगेर सभापति शेरबहादुर देउवालाई संस्थापन समूहबाट उम्मेदवारबारे चासो राख्न थालेका छन् ।
फागुन २ गते सिटौलाले १४औँमा सभापतिको उम्मेदवारी दिएका पूर्व उपसभापति विमलेन्द्र निधि, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र एनपी साउदका साथ बुढानीलकण्ठ पुगेका थिए ।
तर देउवा भने आगामी नेतृत्वबारे मौन छन् । देउवाका विश्वासका पात्र रहेका बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उपसभापति खड्कालाई सभापति बनाउन सक्ने नेताहरु बत्ताउँछन् । तर देउवा भने यस विषयमा मौन छन् । जसले गर्दा अहिले नै को सभापति उम्मेदवार हुने हो भन्न सकिँदैन ।
कविधानअनुसार कांग्रेसको महाधिवेशन भए ०८२ मङ्सिरमा १५औँ महाधिवेशन हुनुपर्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवा ८२ मै महाधिवेशन नगर्ने मोडमा छन् । ८२ मङ्सिरमा महाधिवेशन गरे देउवा प्रधानमन्त्री बन्न पाउने छैन । पार्टीको सभापति नै प्रधानमन्त्री बन्ने भएकाले देउवा ८२ मा महाधिवेशन नगर्ने तयारीमा छन् ।
विधानले नै सभापतिलाई एक वर्ष थप्ने अधिकार प्रत्यायोजन भएकाले देउवाले त्यही अधिकार प्रयोग गर्ने निश्चित छ ।