प्रधानमन्त्री आमजनताका अभिभावक हुन् । पदीय हिसाबले देशको अभिभावक राष्ट्रपति होलान् । तर, हाम्रोमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ । त्यसैले प्रधानमन्त्री देशका मूली हुन् । घर सपार्ने, बिगार्ने मूली पिता भएजस्तै देश सपार्ने बिगार्ने जिम्मा प्रधानमन्त्रीलाई हुन्छ । देश सपारेको जस र बिगारेको अपजस प्रधानमन्त्रीलाई नै जान्छ । त्यो जिम्मा प्रधानमन्त्रीले लिनै पर्छ ।

अहिले देशका मूली छन्, केपी शर्मा ओली । उनलाई एमालेजनले ‘बा’ भन्ने गरेका छन् । तर, उनी एमालेजनको मात्रै ‘बा’ होइनन् । आमजनताका ‘बा’ हुन् । तर, उनै अभिभावकले कसैलाई काखा र कसैलाई पाखा गर्ने गरेका छन् । यसको केही पुष्टि पछिल्ला केही उदाहरणहरूले पुष्टि गर्छ ।
गत माघ सात गते धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री ल्याएर पानी माग्न संघीय राजधानी काठमाडौं आइपुगे । उनको माग थियो– वर्षौंदेखि काकाकुल धराने जनतालाई पानी देऊ ।’ जनताको मुद्दा बोकेर उनी सिंहदरबार पुगे । तर, प्रधानमन्त्री ओलीले भेट्न मानेनन् । कारण हो– उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि होइनन् ।
यसको पुष्टि ओलीको एउटा भाषण सम्झँदा नै प्रस्ट हुन्छ । उनी २०७९ कात्तिक २५ गते धरान पुगेका थिए । त्यसबेला भनेका थिए– ‘यहाँको खानेपानीको कुरा, अब यहाँका मेयरलाई खानेपानी ले भनेर, कतिवटा घैला बोकुन्, बिचरा ! कसको घरमा खानेपानी पु¥याउन् । यहाँ त राष्ट्रिय बजेट, राष्ट्रिय योजना चाहिन्छ, नगरको बजेटले त्यो सम्भव हुँदैन । म केही भन्दिनँ अब, छान्ने बेलामा आँखा देख्नुभएन । अहिले भनेर हुन्छ ?’
धरानका स्वतन्त्र मेयर हर्कलाई भेट नदिएका प्रधानमन्त्री ओलीले अर्का स्वतन्त्र मेयर बालेन साहमाथि पनि प्रतिशोध साधेका छन् । काठमाडौं महानगर साढे दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । जसले गर्दा प्रशासकीय कामकाज ठप्प छ । कर्मचारीले तलब समेत पाउन सकेका छैनन् ।
हर्कलाई भेट्न नमानेका ओलीले माघ २४ गते दुई टिकटकरलाई बालुवाटारमा स्वागत गरे । ओलीको निमन्त्रणमा टिकटकर अंशु वर्मा र मिस पवि बालुवाटार पुगे । ओलीले आफ्नो गुणगान गाउन लगाए ! उनीहरूले पनि ओलीको भक्ति गाउँदै टिकटक बनाए ! चौतर्फी विरोध भइरहेको सामाजिक सञ्जाल विधेयकको प्रशंसा गरे ।
त्यसपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भयो । तर, उनले त्यो आलोचनाको प्रवाह नै गरेनन् । अर्को युवकलाई फेरि बालुवाटार बोलाए । ती युवकको ‘बिट बक्स’मा प्रधानमन्त्री ओली मन्त्रमुग्ध भए । ‘बिट बक्स’को साथमा ती युवकले ओलीका कामकाज र व्यक्तित्वको प्रशंसा गरे–
सुखी नेपाली समृद्ध नेपाल, नयाँ केपी ओली देश नै बब्बाल
केपी बा… नायक केपी बा… नायक…नायक केपी बा
ढलेको धरहरा कसले बनायो ?
…केपी बाले
सुरुङ युगको सुरुवात कसले गरायो ?
….केपी बाले
बालुवाटारमा पुगेर ओलीलाई ‘बिट बक्स’ले मन्त्रमुग्ध बनाउने युवक हुन्, पोखराका अश्रान्त पहारी । उनी एमालेनिकट नेपाल युवा संघका पूर्वअध्यक्ष राजीव पहारीका छोरा हुन् । राजीव हाल एमाले केन्द्रीय सदस्य छन् र युवा इन्चार्ज पनि हुन् ।
मानिसलाई देवता बनाइनु र मानिस आफूले देवता बन्न खोज्नु भनेको मानिसले आफ्नो क्षमतामाथि गरेको अविश्वास र लघुताभास हो । यसबाट प्रधानमन्त्री ओली अछुतो छैनन् । यो बिन्दुबाट यथार्थ मानवीय व्यक्तित्वको मृत्यु र काल्पनिक दैवी व्यक्तित्वरोपण गरिएको हुन्छ ।
त्यस्तै पूर्वी नेपाल अशान्त भएको एक महिना बढी भयो । ‘नो केबलकार’ पक्षधरले मन्त्रिस्तरीय वार्ताको माग गर्दै आएको छ । तर, सरकार कानमा तेल हालेर बसेको छ । भ्रष्टाचार बढेको बढ्यै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको अनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको वरियतामा १०७औँ स्थानमा छ । गत वर्ष नेपाल १०६औँ स्थानमा थियो ।
यता, शुसान पनि खस्किएको छ । सेनाले सुरक्षा चुनौती थपिएको स्पष्ट पारिसकेको छ । बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण चनाखो रहनुपर्ने सेनाको विश्लेषण छ । विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको सेनाले जनाएको छ ।
विदेशिनेको लर्का थामिएको छैन । चालु आर्थिक वर्षको ७ महिनामा झन्डै ५ लाख युवा काम खोज्दै विदेश पुगेका छन् । मूल्यवृद्धि ६ प्रतिशत नाघेको छ । नेपाली जनताले जन्मँदै ८८ हजार विदेशी ऋणको भारी बोक्नुपर्छ । डढेलोको सिजन आउँदै छ, पूर्वतयारी छैन । जनतामा निराशा बढेको छ । र, सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । उनीहरूको मुख थुन्न सामाजिक सञ्जाल विधेयक ल्याइएको छ ।
देशमा धेरैथरि समस्या छन् । देशको समस्या समाधान गर्ने नेता स्वयं अहिले देशको मुख्य समस्या भएका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ बनेका छन् ।
लुटेराहरूको वैधानिक समूह (राजनीतिक दल)का देश भताभुंग लथालिंग भएको छ । त्यही भताभुंग लथालिंगको गीतमा शासक मस्त छन् । प्रधानमन्त्री भने आफ्नो कुर्सी कसैले हल्लाउन नसक्ने घमण्ड गर्छन् । आफ्नो गुणगान गाउनेसँग नतमस्तक छन् । आफूलाई ‘हजुर, बक्सियोस्’ नभन्दा रिसाउँछन् ।
अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ, न त राजनीति दल । झन् नयाँ–नयाँ राजनीतिक स्वार्थ समूहको उदय भएको छ । उनीहरू सर्वश्रेष्ठ भएको भ्रम सिर्जना गर्न भक्त र भजनमण्डलीको खडा गर्छन् । भजनमण्डलीको मुख्य काम कुनै पात्रलाई देवत्वकरण गर्नु हो । अन्तः त्यस्ता व्यक्ति लोकतन्त्रकै लागि घातक हुन्छन् । विश्व राजनीतिमा यस्ता थुप्रै उदाहरण छन् ।
मानिसलाई देवता बनाइनु र मानिस आफूले देवता बन्न खोज्नु भनेको मानिसले आफ्नो क्षमतामाथि गरेको अविश्वास र लघुताभास हो । यसबाट प्रधानमन्त्री ओली अछुतो छैनन् । यो बिन्दुबाट यथार्थ मानवीय व्यक्तित्वको मृत्यु र काल्पनिक दैवी व्यक्तित्वरोपण गरिएको हुन्छ ।
आफ्ना लाखौँ मानिसहरूलाई कत्लेआम गर्दै आएका आक्रान्तहरूबाट आफ्नो रक्षा गर्ने नेतृत्वलाई देवता तुल्य मान्नु अस्वाभाविक पनि हुँदैन । देवत्वकरण गर्ने अनुयायीहरूमा पनि स्वार्थ लुकेको हुन्छ । अर्कापट्टि सम्बन्धित नेतृत्व भावनात्मकरूपले किञ्चित पनि नभई प्रफुल्लित हुन्छन् ।
राजनीतिमा जे हुनुपथ्र्यो त्यो भइरहेको छैन । जे नहुनुपथ्र्यो त्यहीचाहिँ भइरहेको छ । राणा र राजाका शासनकालमा राजा त ठीक थिए । तर, तिनका आसेपासे र भाइभारदारहरू बेठिक भएकाले यस्तो दुर्दशा खेप्नुपरेको धेरैले टिप्पणी गर्ने गरेका छन् ।
ओली, देउवा, प्रचण्ड ठीक थिए तर यिनका आसेपासे, नातेदार भाइभारदारहरू बेठिक हुन् भन्ने दिन पनि आएकै छ । त्यसैले नेताहरू आफू ‘देउवता’ भएको भ्रमबाट मुक्त हुनुपर्छ । र, देवत्वकरण गर्नेलाई काखा र आलोचना गर्नेलाई पाखा गर्नु हुँदैन । देवत्वकरण गर्नेबाट टाढा रहँदै आलोचना गर्नेहरूको सम्मान गर्दै देशको अभिभावकी भूमिका निर्वाह गर्न जरुरी छ ।