Logo
Logo
जम्काभेट

‘साहित्यमा यौन लेखिन जरुरी छ’


3.2k
Shares

उनी नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाउँछिन् । कथा, कविता, उपन्यास र गजलजस्ता विधामा कलम चलाउँदै आएकी अनुपम रोशी नेपाली साहित्यफाँटमा निक्कै चर्चित छिन् । साहित्यका सबै विधामा दख्खल राख्ने अनुपमका सिर्जनाहरु पाठकमाझ प्रिय छ । उनका हरेक सिर्जनाहरु पाठकलाई पठनीय लाग्छ ।

नेपाली साहित्य ‘भर्सटायल लेखक’मा रुपमा चिनिएकी अनुपमका उपन्यासहरु ‘कुमारी आमा’, ‘कालो छायाँ’ र ‘नांगो मान्छे’ प्रकाशित छन् । साथै, उनका कथासंग्रह ‘मध्यान्तर’ र गजलसंग्रह ‘आकांक्षाको फूल मेरो’ जस्ता कृतिहरु चर्चित छन् । छोटो समयमै लेखनमार्फत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानहरु पाइसकेकी साहित्यकार अनुपम रोशीसँग रेजिना पाण्डेको जम्काभेट :

हिजोआज लेखनमा कतिको व्यस्त हुनुुहुन्छ ?
मान्यतया व्यस्त नै छु भन्नुपर्छ ।

एउटा कृति लेख्न कति समय लाग्छ ?
-ठयाक्कै यत्ति नै भन्ने सकिन्न । विषय, परिवेश र त्यसको अवस्थिति हेरेर हुन्छ । कहिले छिट्टै पनि लेखिन्छ भने कुनै कृति वा पुस्तक लेख्न वषौँ लाग्न सक्छ । देशमा हुने समाजिक राजनैतिक र मनोवैज्ञानिक फेरबदलले पनि मानसिकतामा असर गरिरहेको हुन्छ ।

उपन्यास र कथा लेख्दा कस्ता पात्रलाई बढी चयन गर्नुहुन्छ ?
-समाजले उभ्याएका पात्रहरु, जो दमित छन । जसको अस्तित्वको उत्खनन् गर्न जरुरी हुन्छ । उनीहरुको विषयमा लेख्दा मन आनन्दित हुन्छ । यसका लागि मेरो लेखनी अध्ययन गर्नु भयो भने अझ बुझ्न सहज हुनेछ ।

तपाइँका कथा उपन्यासमा यौन बढी पाइन्छ भनिन्छ नि ?
अक्सर म यो रेडिमेड प्रश्नको जवाफ दिएर म थाकिसकेकी छु । यौन के हो ? यौन कसरी लेखिएको छ भन्ने कुराको जानकारी नै नलिइ यौन मात्रै छ भनिनु गलत हुन जान्छ । स्वभाविक रुपमा जीवनमा जसरी यौन छ । त्यसरी नै साहित्यमा पनि यौन लेखिन जरुरी छ । र, मैले त्यसरी नै यौनलाई लेखेकी छु । मानिसले त्यसलाई खुलेको देखुन् या लुकेको मलाई त्यतातिर जानु छैन । आदर्श र ढोङ रच्दा-रच्दा नथाकेको हाम्रो समाजले के अझैपनि ढोङ र आदर्श मात्रै खोजी रहने हो ?

तपाइँ कुनै कृति वा कथा लेख्नुअघि रिसर्च गर्नुहुन्छ कि हुन्न ?
विषयवस्तुको आवश्यकताअनुसार रिसर्च गर्ने ठाउँमा गर्नुपर्ने हुन्छ । त्यो विषयवस्तुअनुसार त्यहाँको परिवेश र वस्तुस्थितिसँग राम्रोसँग परिचित भएर लेखिएको चिजमा सत्यता रहन्छ भन्ने लाग्छ । त्यसैले म पनि रिसर्च गरेर लेख्न रुचाउँछु ।

तपाइँ केका लागि किन लेख्नुहुन्छ ?
पहिले त यसैका लागि लेख्छु भन्ने थिएन । अहिलेचाहिँ लेखनले समयको अभिलेख राख्न सक्ने रहेछ भन्ने लाग्छ । अर्को, दमित र अस्तित्वविहीनहरुको अस्तित्व खोजीका लागि पनि लेखिन्छ । यसमा मनोवैज्ञानिक अभ्यास मनपर्छ । म पहिला एक पाठक हुँ । समाज पढ्छु, जीवन अनुभव गर्छु । र, त्यसले मलाई के सिकाउँछ, त्यही सिकाइका आधारमै शब्द तयार हुुन्छन् । ति शब्दहरुलाई बाहिर ल्याउनुपर्छ भन्ने चेतनाले घच्घचाएपछि म लेख्न थाल्छु ।

तपाइँलाई पढ्न सजिलो कि लेख्न ?
मलाई पढ्न मनपर्छ । चाहे त्यो अध्यात्मिक समयको कालखण्ड होस् या कलात्मक साहित्यको संसार, जीवनको दार्शनिकता होस् । पहिलो पंक्तीमा म पाठक हुँ । त्यो पाठकले कहिलेकहीँ अनुभव गरेका कुराबाट केही लेख्न सकियो भने त्यो दोस्रो पाटो भयो ।

तपाइँ कस्ता कृति पढ्न रुचाउँनुहुन्छ ?
मलाई अलि गम्भिर खालका लेखनी मनपर्छ, जसमा अध्यात्म, दर्शन, विज्ञान र मनोविज्ञानमा आधारित समाजको चित्र भेटियोस् । त्यसरी मन परेका थुप्रै पुस्तकहरु छन् । जसमा वेदान्त दर्शनदेखि फ्रयाडको मनोवज्ञिान, हिमवतखण्डदेखि सम्पूर्ण महाभारतसम्म ।

अबका दिनमा के लेख्दै हुनुहुन्छ ?
एउटा निबन्धको तयारी गरिरहेकी छु । बिस्तारै उपन्यास पनि आउने लाइनमा छ ।

लेख्दा जीवन भेटिन्छ कि भोग्दा ?
अक्सर भोग्दा भेटिएको जीवन नै लेखिने हो, भनिन्छ । तर, म कहिलेकहीँ नभोगिएका जीवनको कल्पना पनि गरिदिन्छु । त्यसलाई लेख्ने पनि गर्छु । एउटा सिर्जनकारले नभोगेको जीवनलाई कल्पना गर्न सक्नु पनि नयाँ आविस्कारको आयाम बनाउनु हो भन्ने लाग्छ ।

लेखन यात्राको शुरुवात कहाँबाट सुरु गर्नुभयो ?
म सानैदेखि सिर्जनात्मक काम गर्न रुची राख्थेँ । छिमेकमा आफुभन्दा सिनियर दिदीहरु थिए । बिदाको बेला म उनीहरुसँगै गाइवस्तु हेर्न जान्थे । त्यो बेला युधिर थापा, प्रकास कोविदका उपन्यास खुब पढिन्थ्यो । ति दिदीहरु पनि ति उपन्यासका लतमा थिए । हामी अलि साना थियौँ । हामीलाई तिमीहरु साना केटाकेटी छौँ, यस्तो सुन्ने बेला भएको छैन भनेर गाइवस्तु पर्काउन पठाउँथे । तर, म नसुने जस्तो गरेर उनीहरुले पढेको उपन्यास सुनिरहन्थे । सुनेको कुरा रातभर कल्पना गरिहन्थे । त्यो बीचमा आयो विद्यार्थी राजनीति, जसले थप किताबहरु पढ्ने बानी बसाल्यो । किताब पढ्ने बानी पर्दै गएपछि साहित्य रुची बन्यो । पहिलो रचना सायद ६/७ लाइनको सायरी थियो । जो मैले ७÷८ कक्षामा पढ्दा कसैको अटो डायरीमा भरेकी थिएँ ।

जीवन र साहित्यमा भिन्नता के छ ?
सरासर भन्दा त जीवन यो चराचर जगतको एउटा कुनाको मसिनो गल्लीमा केही वर्ष लखरलखर हल्लिइरहने प्राणी हो । तर, साहित्य सुकिला कागजका फराकिला पानाहरुमा निकै हजार वर्षसम्म पनि जिवित रहने कर्म हो । अँ, पछिल्लो समय त स्याटलाईट र इन्टरनेटको दुनियाँलाई क्याप्चर गर्ने मोबाइल र कम्प्यूटरका भित्ताहरुमा पनि साहित्यको जीवन मुस्कुराइरहेको देख्छु । मान्छेको जीवन हिँड्दा हिँड्दै एकदिन यहीबाटोमा सकिने छ । तर, साहित्य सकिने छैन् ।

रहर र भोगाइले लेखिएका रचनामा के फरक पाउनुहुन्छ ?
रहरले कति गहिराइसम्म पु¥याउँछ भन्ने कुरा हुन्छ । भोगाइ त आफँैमा गहिरो कर्म हो । प्रत्यक्ष र अप्रत्यक्ष संसार जस्तो । मेरो बिचारमा दृष्टि रहर हो । जो बाहिरी आवरणको सौन्र्दयसग प्रभावित हुन्छ । अन्तरदृष्टि अर्थात अनुभूति भोगाइ हो । जसले बाहिरी–भित्री दुवै कुरालाई समेट् सक्छ ।

मनिसका लागि किताव किन जरुरी छ ?
मानिसले आफुलाई क्रियाशिल राख्न र आफु के हुँ चिन्नका लागि पनि कितावको जरुरी छ जस्तो लाग्छ । बाँकी त ज्ञानका कुरा भइहाले । समय समाज र भविष्यको गति थाहा पाउन किताब पढ्नैपर्ने हुन्छ ।

लेखनबाहेक अरु के गर्नुहुन्छ ?
बिहान ब्याडमिन्टन खेल्छु । दिउँसो रोजीरोटी चलाउन सानो विजनेस गर्छु ।

प्रतिक्रिया दिनुहोस्