Logo
Logo

चट्याङ लागेर एकको मृत्यु, घाइते २ जनाको हेलिकप्टरमार्फत उद्धार


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २२ असार । चट्याङ लागेर गम्भीर घाइते भएका बुढीनन्दा नगरपालिका १० का २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बडिमालिका पाटन क्षेत्रमा पर्ने कालपहाडमा भैँसीखरमा राति चट्याङ परेपछि गम्भीर घाइते बनेका नौ वर्षकी आरक्षा बोहरा र ५० वर्षका सौरे बोहरालाई सेनाको स्काइ लोडर विमानबाट उद्धार गरिएको हो ।


हिजै उद्धारका लागि सेनाको हेलिकप्टर बाजुरा आएपनि मौसम खराबीका कारणबस्न नसकी उद्धार हुन सकेको थिएन् । आइतबार मात्र कोल्टी विमानस्थलमा सेनाको स्काइ लोडर विमान अवतरण गराएर उद्धार गरिएको आफन्तसमेत रहेका नेकपा नेता जनक बोहराले बताएका छन् । बर्षातको समयमा लेकमा भैँसी लिएर बसेका आफन्तलाई खाने सामान पुर्याउन गएको राति नै चट्याङ परेर २ जना घाइते हुनुका साथै १ जना ८ वर्षका बालकको ज्यानसमेत गएको छ ।

ज्यान गुमाएका बालकको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ । मृत्यु भएका बालक र घाइते बालिका दिदी भाइ हुन् । भने घाइते अर्का सौरे बोहरा बालक बालिकाका ठूला बुबा हुन् ।

संघीय सरकारमार्फत सेनाको पहलमा उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण ग्रैह्रेले बताएका छन् । शनिबारले दिनभर प्रयास गर्दा पनि मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेर उद्धार गर्न सकिएन र आइतबार उद्धार गरेर काठमाडौँ लगिएको अधिकारी गैह्रेले बताएका छन् । घाइतेको काठमाडौँस्थित टर्मा सेन्टरमा उपचार भइरहेको छ ।

संक्रमितको सख्या ५१३ पुग्यो

जिल्लामा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ । बुढीनन्दा नगरपालिकामा आज थप २० जना संक्रमित थपिएसँगै संख्या ५१३ जना पुगेको हो । बुढीनन्दा नगरपालिकामा ४३ जना संक्रमितको सख्या पुगेको छ । पोजेटिभ देखिएका मध्ये ४ जना महिला र १६ पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट गरीएको परिक्षणमा २० जनामा कोरोना पोजेटिभ देखिएका हुन् ।

हालसम्म सबै भन्दा बढी बुढीगंगा नगरपालिकामा संक्रमित रहेका छन भने सबैभन्दा कम स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा रहेका छन् । ती गाउँपालिकामा जम्मा १ जना मात्र छन् । यता हिमाली गाउँपालिकामा भने एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छैन् । सावधानी र भारतबाट आउनेको संख्या कमिकै कारण संख्या नदेखिएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताएका छन् ।

हालसम्म संक्रमितमध्ये १२ जना निको भएर घरमा गइसकेका छन् । भने १ जनाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ । यस्तै आत्महत्या गरी ज्यान गुमाएका युवकमा पनि कोरोना देखिएको थियो ।

बाजुराका स्वास्थ्यकर्मीले बुझाए सिडियोलाइ ज्ञापनपत्र

जिल्लाका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएका छन् । जेठ २७ गते त्रिबेणी नगरपालिकाको छतारामा र असार १ गते हिमाली गाउँपालिकाको कवाडीमा स्वास्थ्यकर्मी माथि भएको घटनाको बिषयलाइ लिएर बाजुराका स्वास्थ्यकर्मीले ज्ञापन पत्र बुझाएको हो ।

एक सयभन्दा बढी स्वास्थ्यकर्मी सदरमुकाम मार्तडीमा आएर स्वास्थ्यकर्मी माथि भएको दुर्ब्यबाहारका दोषीहरूमाथि कडाभन्दा कडा कार्बाहीको माग गर्दै स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत स्वास्थ्य तथा जनसख्या मन्त्रालय काठमाण्डौ, सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेश र प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीहरूको सयुक्त ज्ञापनपत्र बुझाएको स्वास्थ्यकर्मी धर्म खत्रीले जानकारी दिएका छन् ।

जेठ २७ गते त्रिबेणी नगरपालिकाको छतारामा क्वारेन्टाइनमा रहेका मान्छेको स्वास्थ्य चेकजाचका लागी गएका स्वास्थ्यकर्मी रामबहादुर नेपालीलाइ स्थानीयले हातपात गरेको र असार १ गते हिमाली गाउँपालिका वडा न ५ को कवाडीमा रहेको क्वारेन्टाइनमा आरडिटी परिक्षणमा पोजेटिभ निस्केपछी किन मेरो मात्र पाजेटिभ निकालेको भन्दै स्वास्थ्यकर्मी राज बहादुर भण्डारीलाइ गरेको आक्रमणलाइ लिएर सयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन् । घटनाको सत्य तथ्य छानबिन गर्न उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्