Logo
Logo

गुटले निम्त्याएको संकट


- दृष्टि न्युज/संवाददाता


‘अहिले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन्न’ प्रधानमन्त्री केपी शर्मा ओली ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अभिव्यक्त गरेका यी शब्दले उनलाई उनकै गुटले यो अवस्थामा पु¥याएको कुरा उनले नबुझेसम्म माओवादीसँग गरेको पार्टी एकताले पूर्णता नपाउने पक्का छ । केही समययता प्रधानमन्त्री ओलीको बोली र व्यवहार हेर्ने हो भने उनी स्वयं एकताविरोधी कित्तामा उभिन पुगेका छन् । पार्टी विभाजन गर्न संसदीय दल अथवा केन्द्रीय कमिटीमध्ये एकमा चालिस प्रतिशत संख्या भए पुग्ने जुन विधेयक ओलीले ल्याएका थिए, त्यसबाट उनको नियत बुझ्न सकिन्छ ।

झट्ट हेर्दा मधेसवादी दल फुटाएर प्रदेश नं २ मा नेकपाको सरकार गठन गर्ने भनिए पनि भित्रीरुपमा माओवादीलाई अलग्याउन उक्त विधेयक ल्याइएको कुरा अहिलेको विवादबाट पनि प्रष्ट हुन्छ । यही कुरा बुझेर पार्टी जोगाउन नेकपाका शीर्ष नेताहरुले ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा छाड्न दबाब दिएका हुन् ।

पार्टी एकता गर्दा एकता महाधिवेशनसम्म दुवै अध्यक्षले संयुक्तरुपमा पार्टीको बैठक सञ्चालन गर्ने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने चाहना राखेपछि अर्का अध्यक्ष प्रचण्डले २०७६ मंसिर ४ गते अर्को सहमति गरेका हुन् । त्यसलाई ओलीले प्रचण्डको कमजोरी ठाने । यसैगरी प्रचण्डलाई गलाउँदै, लतार्दै, घिसार्दै सिध्याउँछु भन्ने ओलीको सोचका कारण नेकपा होइन, ओली धर्मसंकटमा परेका हुन् ।

आज ओली जुन हैसियतमा छन्, त्यसको शक्ति र बल भनेको प्रचण्ड नै हुन् । ओलीबाट आफूले धोका पाउँछु भन्ने कुरा उनले सोचेका भए, न त पार्टी एकता हुन्थ्यो, न त जनताले नेकपालाई दुईतिहाइ मत नै दिन्थे । त्यस्तो अवस्थामा कांग्रेसको समर्थनमा मुलुक प्रधानमन्त्रीको हैसियतले प्रचण्डले हाँकिरहेका हुन्थे । ओली प्रतिपक्ष बेन्चमा बसेर उखान टुक्का छाटिरहेका हुन्थे । सायद अहिले प्रचण्डलाई बेकारमा पार्टी एकता गरिएछ भन्ने लागेको होला ।

तर पनि समय बलवान छ । ओलीले प्रचण्डलाई पाइला, पाइलामा धोका दिए पनि प्रचण्डले पार्टी एकता गर्दा गरेको सहमति कार्यान्वयन गर्नुको विकल्प छैन । किनभने, आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति तोडेका प्रचण्डको राजनीतिक भविष्य जोगाउन पनि उनले आगामी चैतमा एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने छ । महाधिवेशनको अभिभारा पूरा गर्नकै लागि उनले पाँचै वर्ष सरकारको नेतृत्व ओलीलाई सुम्पिएका थिए । त्यसको बदलामा ओलीले कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डलाई लगाएका थिए । तर, यो कुरा ओलीको षड्यन्त्र थियो भन्ने कुरा प्रचण्डले अहिले आएर बुझे । र, स्थायी समिति बैठकमा ओलीमाथि दबाब सिर्जना गरेका छन् । ओली आफूले गरेका सहमतिप्रति इमान्दार हुने हो भने समस्या केही पनि छैन । समाधान पनि त्यही नै हो । ओली सच्चिन तयार हुने हो भने उनले न त अध्यक्षबाट, न त प्रधानमन्त्रीबाट राजीनामा नै दिनुपर्छ ।

तर, महाधिवेशन अगाडि नै ओलीले पार्टी फोड्ने हो कि भन्ने चिन्ताचाहिँ कार्यकर्तामा छ । यदि ओलीले पार्टी फोडिहाले भने उनको राजनीतिक भविष्य समाप्त हुनेछ । नेकपा भनेको ओली र प्रचण्ड मात्र होइनन् । लाखौँ कार्यकर्ताको जीवन यो पार्टीसँग गाँसिएको छ र, देशकै भविष्य पनि यो पार्टीसँग गाँसिएको छ । त्यसैले पार्टी फोड्ने अपराध ओलीले गरे भने त्यो नेकपाका लागि होइन, ओली र उनको गुट राजनीतिबाट सदाको लागि समाप्त हुनेछ । आशा गरौं, एकमुठ्ठी खरानीका लागि ओलीले आफ्नो घरमा आगो लगाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्