Logo
Logo

योगेशसँग आशा हरायो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असार । २०७६ साल फागुन १५ गते रवीन्द्र अधिकारीको होलिकोप्टर दुर्घटनामा निधन भएपछि उनले सम्हाल्दै आएको मन्त्रालय अधिकारीकै सहयोद्धा योगेश भट्टराईले सम्हालेपछि नेपाल वायुसेवा निगम सुधार हुने अपेक्षा त्यहाँका कर्मचारीहरुले गरेका थिए । तर, भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको ११ महिना बितिसक्दा पनि उनले निगम सुधारको ठोस योजना ल्याउन सकेनन् । उल्टै हाइ अल्टिच्युट हेलिकोप्टर कम्पनीका अध्यक्ष फुर्वा ग्याजेन शेर्पा र इस्टर्न मोटर्सका कार्यकारी प्रमुख डिमप्रकाश पौडेललाई निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेर विवादमा परेका छन् ।

मन्त्री भट्टराईले यी दुई व्यक्ति योग्य भएको बताए पनि शेर्पालाई यति एयरलाइन्सको मालिक सोनाम शेर्पाको दबाब र शर्मालाई पर्यटन बोर्डका कार्यकारी धनन्जय रेग्मीको सिफारिसमा ल्याइएको आरोप छ । मोटर कम्पनीका सिइओ हवाई सेवाका लागि कति योग्य हुन्छन् भन्ने कुरा मन्त्रीले नबुझे पनि निगमका कर्मचारीहरुले राम्रैसँग बुझेका छन् । पौडेललाई मन्त्री भट्टराईले सुशील घिमिरेको संयोजकत्वमा निगम सुधार सुझाव समितिको पनि सदस्यमा नियुक्त गरेका थिए । त्यसमाथि पर्यटन बोर्डका कार्यकारी रेग्मी विवादास्पद व्यापारी हुन् । इस्टर्न मोटर कम्पनी उनको देखाउने दाँत मात्र हो, चपाउने दाँत अर्कै छ भन्ने कुरा रेग्मी निकट नेकपाकै नेताहरु बताउँछन् । सम्पत्ति शुद्धीकरण विभागले रेग्मीको सम्पत्ति छानविन गर्ने हो भने धेरै नेताहरुको पोल खुल्ने स्रोत बताउँछ । स्याङ्जामा कांग्रेसी भनेर चिनिने रेग्मी र पौडेललाई नेकपाको सरकारले पुरस्कृत गरेपछि स्याङ्जाका नेकपाका कार्यकर्ताहरुले जिब्रो टोकेका छन् ।

माल पाएर चाल नपाएको निगमसँग अहिले दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी, तीनवटा ट्वीनअटर र ६ वटा चिनियाँ जहाज छन् । आन्तरिक उडानका लागि ल्याएको चिनियाँ जहाज वर्षौँदेखि ग्राउण्डेड भएर खिया लाग्ने अवस्थामा छ । तीनवटा ट्वीनअटरमध्ये एउटा बिग्रिएर थन्किएको छ । एउटा ७५७ बोइङ विदेशमै कवाडी भएर बसेको छ । चारवटा वाइडबडी र न्यारोबडी मात्र सञ्चालनमा छ । यो चारवटा जहाजले कोभिड–१९ का कारण चार्टर्ड उडान गरिरहेका छन् । यी जहाजलाई चार्टर्ड गर्न ट्राभल एजेन्सीलाई जिम्मा लगाइएको कुराले पनि मन्त्री भट्टराईको आलोचना भएको छ ।

विदेशमा बस्ने नेपालीहरुले मन्त्री भट्टराईबाट उद्धारमा सहयोग पाउने ठूलो आशा राखेका थिए । विदेशमा बस्ने लाखौँ युवाको मन जित्ने अवसर मन्त्री भट्टराईले गुमाए । सुरुमा ट्राभल एजेन्टले चार्टर्ड उडानमा चर्को भाडा असुलेको भनेर सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईको आलोचना भयो । कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुको समयमै उद्धार गर्न मन्त्री भट्टराई लागेको भए सरकारको इज्जत जोगिन्थ्यो । तर, यस्तो महामारीको बेलामा पनि विदेश बस्ने नेपालीले आफ्नो देश र सरकार भएको अनुभूति गर्न पाएनन् ।

निगम सुधार सुझाव समितिको जिम्मेवारी दिइएका पूर्वसचिव सुशील घिमिरेलाइ नै गत फागुन २ गते अर्को व्यवस्था नहुँदासम्मका लागि महाप्रबन्धकको समेत जिम्मेवारी हेर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त गरे । अब महाप्रबन्धक नियुक्त गर्न डिमप्रकाश पौडेललाई सञ्चालक समितिमा ल्याइएको चर्चा निगममा छ । त्यसपछि घिमिरेको कार्यकारी पद के हुन्छ ? उनी कार्यकारीमै रहन्छन् वा फेरि सुगतरत्न कंशाकार र मदन खरेलको जस्तै विवाद चर्कन्छ यसै भन्न सकिन्न ।

एयरबससँग दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज खरिद गर्दा सञ्चयकोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याजसम्म तिर्न नसक्ने निगमले कोभिडको कारण देखाउँदै सोल्टी होटललाई ‘क्वारेन्टिन’ बनाएर लाखौँ रुपैयाँ अनावश्यक खर्च गरेको आरोप छ । पछिल्लो समय निगमका भ्रष्ट कर्मचारीहरुसँग मन्त्रीको बढ्दो हिमचिमले निगम अरु बर्बाद हुँदै गएको आरोप मन्त्रीमाथि छ ।

प्रतिक्रिया दिनुहोस्