Logo
Logo

गलत सूचनाको शिकार


- शम्भु श्रेष्ठ


माओवादीसँग चुनावी तालमेल गर्दै, पार्टी एकता गरेर दुईतिहाइसहितको शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओली अहिले आएर यति साह्रो निरीह र कमजोर कसरी बने भन्ने कुरा उनी आफैँले आत्मसमीक्षा नगरेसम्म समाधानको बाटो पहिल्याउन सकिन्न । पार्टी एकता गर्दा गर्वका साथ जहाजका दुईवटा पाइलटले नेकपा हाँक्छ भन्ने प्रधानमन्त्री ओलीलाई कतै टेम्पुका ड्राइभर बनाउन खोजिएको त छैन भन्नेतिर पनि ओलीले सोच्नुपर्ने दिन आएको छ । माओवादीसँग पार्टी एकता गर्दा जे जस्तो सहमति भएको थियो, त्यो सहमतिअनुसार ओलीलाई हिँड्न नदिएकै कारण कतै उनीलाई खाल्डोमा हाल्न एकता विरोधीहरु बालुवाटारभित्रै सल्बलाएका त छैनन्, भन्नेतिर पनि ओलीले ध्यान दिनुपर्छ, त्यो घेराबाट ओली कसरी उम्किने भन्नेतिर उनले सोच्न सकेनन् भने मुलुकमा ठूलै राजनीतिक दुर्घटना हुने पक्का छ ।

शम्भु श्रेष्ठ

प्रधानमन्त्री ओलीको मुखबाट जे जस्तो अभिव्यक्ति आएको छ, त्यसले मुलुकमा राजनीतिक दुर्घटना बढाउने खतरा बढेको छ । ओलीले जे जस्ता कुरा बोलेका छन्, ती कुराहरु गलत सूचनामा आधारित छन् । प्रचण्ड र ओलीलाई मिल्न नदिने तत्व बालुवाटारमा हाबी भएका कारण प्रधानमन्त्री ओली त्यसको शिकार भएका हुन् । ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री चलाउन प्रचण्डले मंसिर ४ गते सहमति जनाइसकेपछि फेरि उनको राजीनामा माग्नुपर्ने अवस्था कसरी आयो, त्यसमा ओलीको के कति कमजोरी छ भन्ने कुरा आत्मसमीक्षा गर्नुपर्छ । पार्टीलाई राजनीतिक दुर्घटनाबाट जोगाउनकै लागि प्रचण्डले त्याग गरेको कुरा ओलीले बिर्संदा अहिले यो अवस्था भोग्नुपरेको हो । राजनीतिमा नैतिकता र इमान्दारिताको पनि स्थान हुन्छ भन्ने कुरा ओलीले सोच्ने हो भने समस्या कहीँ पनि छैन, छ भने आफैभित्र छ । त्यही डरले उनले पटक–पटक पार्टी फोड्ने खालका संकेत गरेका छन् । दुईतिहाइको पार्टी छ र त उनी प्रधानमन्त्री छन् । पार्टी नै भएन भने उनी के हुन्छन् भन्ने कुरा ओलीले बिर्सिएका छन् ।

जननेता मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई भारतीय शासकहरुले हटाउन खोजेको रहस्य खोलेका थिए । उनी आफैँले यो शब्द नबोलेको भए पार्टीभित्र यस्तो अवस्था आउने थिएन । उनलाई जसले यो कुरा बोल्न लगाए, त्यो नै उनलाई हटाउने षड्यन्त्रकारी थियो भन्ने कुरा ओलीले बुझ्न सकेनन् । उनीमाथि भारतीय शासकहरुले यत्रो षड्यन्त्र गरेको भए, त्यो षड्यन्त्र विफल पार्न उनले पार्टीलाई एक ढिक्का बनाउनुपथ्र्यो । पार्टीका आन्तरिक विवाद पार्टीभित्र सल्टाउनुपथ्र्यो । तर दुर्भाग्य, ओली देखिने शत्रुभन्दा नदेखिने शत्रुहरुबाट बढी प्रयोग भइरहेका छन् । जुन कुरा उनले आफ्नो सत्ता गुमेपछि मात्रै थाहा पाउनेछन् । त्यसैले पार्टीभित्रको समस्या समाधान गरेर पार्टीलाई एकढिक्का बनाएर लैजाने कि एकतालाई बीच बाटोमै छाडेर एक्लै हिँड्ने भन्ने रोजाइ ओलीकै हो । समस्या समाधान गरेर जाने हो भने, समाधानका उपायहरु खोज्न सकिन्छ, निहुँ नै खोजेर हिँड्ने हो भने कहीँ पनि पुग्न सकिन्न ।

नाकाबन्दीताका भारतीय शासकहरुसँग नझुकेर राष्ट्रवादी छवि बनाएका ओली पार्टी एकतादेखि नयाँ नक्सा जारी गर्नेसम्मको कामले राजनेता बनेका छन् । राजनेताको काम आफैँ विवाद गरेर हिँड्ने होइन, भएका विवादलाई मिलाएर हिँड्ने हो । त्यसैले माओवादीसँग पार्टी एकता गर्दा जे सहमति भएको हो, त्यही विन्दुबाट समाधान खोजे, समाधान निस्कन्छ । तर, त्यो विन्दुमा पुग्नै नदिने ठाउँमा विदेशी शक्तिकेन्द्रका एजेन्टहरुले ओलीलाई पु¥याएकै कारण यो समस्या उत्पन्न भएको हो । बालुवाटारमा ओलीले राति एक बजे गरेको कुरासमेत चुहिने गरेको छ । विदेशी एजेन्टले बालुवाटारभित्रै डेरा जमाएको संकेत मैले ओलीलाई करिब दुई वर्ष अगाडि गरेको थिएँ । ती एजेन्टबाट बच्न नसक्दा आज उनी आफैँ भुमरीमा फसेका छन् । त्यो भुमरीबाट जोगाउन प्रचण्ड–नेपाललाई शत्रु देख्ने भूल उनले गरेका छन् । सायद विश्वका कतिपय शासकहरु यस्तै गलत सूचनाका कारण पतन हुने गरेका छन् । कामना गरौं, ओलीले त्यो बाटो रोज्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्