Logo
Logo

भारतीय मिडिया बन्द


- दृष्टि न्युज/संवाददाता


नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा गतिरोध उत्पन्न भएको छ । नेपालले आफ्नो भूमि समेटेर उक्त नक्सा जारी गरेपछि भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न खोजेको रहस्य स्वयं ओलीले खोलेका छन् । सन् २०१५ मा चीन र भारतले नेपाली भूमि हुँदै लिपुलेकको बाटो भएर व्यापारिक मार्ग खोल्ने सहमति गरेदेखि नै नेपालले त्यसमा चासो राख्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणताका सन् २०१५ मा बेइजिङमा उक्त सहमति भएदेखि नै उक्त जमिन नेपालको भएको कुरा उठाउँदै आएको थियो । तर, त्यतिबेला न त भारतले नै नेपालको कुरा सुन्यो, न त चीनले नै ।

जब भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटोको उद्घाटन गरेर कालापानी क्षेत्रलाई आफ्नो देशको भूभागमा समेट्यो, त्यसपछि नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्न बाध्य भयो । ऐतिहासिक तथ्य प्रमाणसहित नेपालले जारी गरेको नयाँ नक्सा सार्वभौम संसद्बाट समेत बहुमतले पास ग¥यो । उक्त जग्गा नेपालको हो भन्ने जति पनि प्रमाणहरु छन्, त्यसको आधारमा अब आफ्नो भूभागबाट भारतीय सेना फिर्ता गर्न नेपालले कूटनीतिक पहल गर्नुपर्छ । भारतसँग वार्ता गर्नुको विकल्प नेपालसँग छैन । यदि भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा नसमेटेको भए नेपालले पनि नयाँ नक्सा जारी गर्नुपर्ने थिएन । वार्ता, संवादकै माध्यमबाट समाधान खोज्न सकिन्थ्यो । तर, भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा समेटेपछि नेपाल पनि आफ्नो भूमि रक्षा गर्न बाध्य भयो । नेपाल र भारतबीचको यतिबेलाको समस्या भनेको यही नै हो ।

तर, यति नै बेला भारतीय सञ्चारमाध्यमहरुले नेपाल–भारत सम्बन्धलाई बिगार्न गलत सूचनाको खेती गरिरहेका छन् । प्रधानमन्त्री ओलीका विरुद्ध व्यक्तिगत लाञ्छना लगाइरहेका छन् । जुन कुरामा सत्यता छैन । मिडियाको काम जनतालाई सही सूचना प्रवाह गरेर स्वस्थ जनमतको वातावरण तयार गर्नु हो । नयाँ नक्सा जारी भएपछि नेपाली मिडियाले तथ्यका आधारमा कूटनीतिक पहललाई जोड दिँदै भारतसँग वार्ताका लागि वातावरण बनाउनुपर्ने कुरा उठाउँदै आएका छन् । नेपाली मिडियाको सकारात्मक सोचका कारण नयाँ नक्सा अनुमोदन गर्न सबै राजनीतिक दल एक ठाउँमा आइपुगे । अब नेपाली मिडियाको मिशन उक्त भूमिबाट भारतीय सेना फिर्ता पठाउनुपर्छ भन्ने हो । ढिलो चाँडो सत्यको नै जित हुन्छ भन्ने कुरा प्रधानमन्त्री ओलीले संसद्मै सम्बोधन गरिसकेका छन् ।

सत्यलाई बंग्याउन उक्त कुरामा भारतीय सञ्चारमाध्यमले अर्को छिमेकी देशलाई लाञ्छना लगाइरहेका छन् । हाम्रा लागि दुवै छिमेकी उत्तिकै महत्वपूर्ण छन् । हामी समदूरीका हिसाबले दुवै छिमेकीसँग व्यवहार गर्न चाहन्छौं । तर, भारतीय मिडियालाई यो कुरा मन परेको छैन । यो उसको ठूलो दाजुको मानसिकता हो । यो मानसिकता भारतीय मिडियाले त्याग्नुपर्छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुमा मिडियाको पनि ठूलो भूमिका हुन्छ । मिडियाले आफ्नो दायित्व र जिम्मेवारी बिर्सँदा त्यसको समाजमा नकारात्मक असर पर्छ । अहिले नेपालमा केही भारतीय सञ्चार माध्यममाथि प्रतिबन्ध लगाइएको छ । त्यसले नेपाली जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ । किनभने, भारतीय सञ्चारमाध्यमले जहिले पनि नेपाल मामिलामा हेपाहा व्यवहार गर्दै आएको छ । तथ्य नै नबुझी कतिपय सूचना भारतीय मिडियाले प्रसारण गर्दै आएका छन् । त्यसको सजाय अहिले केबुल अपरेटरहरुले दिएका छन् । पक्कै पनि स्वतन्त्र मिडियाका लागि राम्रो कुरा होइन यो । तर, पित पत्रकारिता रोक्न कहिलेकाहीँ जनस्तरबाट पनि यस्तो कदम चाल्न बाध्य हुनुपर्दोरहेछ भन्ने कुरा सबै मिडियाका लागि शिक्षा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्