Logo
Logo

‘एउटा माघले जाडो जाँदैन’


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

‘भाइ फुटे, गवार लुटे’ भन्ने उखान यतिबेला नेकपाभित्र चरितार्थ भइरहेको छ । अर्थात्, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फुटाउन खोज्ने तत्व यतिबेला बालुवाटारमा सक्रिय भएका छन् । तै पनि प्रचण्डले धैर्यताको बाँधलाई फुट्न दिएका छैनन् । चितवन पुगेर उनले पार्टी फुटबाट जोगाउन आफू लागिपरेको बताएका छन् । उनको यो भनाइबाट पनि नेकपाभित्रै पार्टी फोड्ने शक्तिहरु सल्बलाएको अनुमान गर्न सकिन्छ । नेकपा एमाले र माओवादीबीचको चुनावी तालमेल र पार्टी एकतालाई मन नपराउने बाह्य र आन्तरिक शक्ति बालुवाटारमा हाबी भएकै कारण स्थायी कमिटीको बैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

शम्भु श्रेष्ठ

प्रधानमन्त्री ओलीकै वरपर बसेर दिनरात प्रचण्डविरुद्ध कान फुक्नेहरुले ओलीलाई घर न घाटको बनाउन खोजेको कुरा ओलीले बिर्सिएकै कारण उनी अप्ठेरो स्थितिमा पुगेका हुन् । नभए, ओली र प्रचण्डबीच कुनै समस्या छैन । पार्टी एकता गर्दा भएको सहमति मंसिर ४ गते सच्याइसकेपछि ओलीले ढुक्कसँग पाँच वर्ष सरकारको नेतृत्व गर्ने र एकता महाधिवेशन नहुँदासम्म अर्का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको काम ढुक्कसँग गर्न पाउने हो भने नेकपामा कुनै विवाद छैन । किनभने, नेकपामा दुई अध्यक्ष पार्टी एकता गर्दाको अन्तरिम व्यवस्था हो । एकता महाधिवेशनपछि त्यो विवाद पनि टुंगिन्छ । तर, एकता महाधिवेशनपछि नेकपाको अध्यक्ष को हुने ? भन्ने कुरालाई लिएर यतिबेला पार्टी फुटसम्मको हल्ला चलाइएको छ । पार्टी एकता गर्दा प्रधानमन्त्री पद आधा–आधा समय चलाउने सहमति भएको थियो । तर, त्यसलाई साढे दुई वर्षपछि सच्याएर प्रचण्डले आफू जोगी हुन ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री पदको जिम्मा पक्कै पनि लगाएका थिएनन् होला । दोस्रोपटक सहमति गर्दा पक्कै पनि प्रचण्डले एकता महाधिवेशनमा आफू सर्वसम्मत अध्यक्ष हुने सहमति ओलीसँग गरेका थिए होलान् । तर, यही कुरा ओली गुटका लागि अहिले मन परेको छैन र ओलीको उत्तराधिकारी प्रचण्डलाई सुम्पन तयार नहुनुले यो समस्या उत्पन्न भएको हो ।

कम्युनिष्ट पार्टीमा व्यक्तिभन्दा पार्टी माथि हुने हुँदा पार्टीले गरेका हरेक निर्णय नेता, कार्यकर्ताले मान्नुपर्ने हुन्छ । अहिले सचिवालयदेखि स्थायी कमिटीसम्म व्यक्तिभन्दा पार्टी बलियोे देखिएकाले ओली–प्रचण्डबीच टकराबको स्थिति उत्पन्न भएको हो । यो स्थितिको अन्त्य गर्न ओली र प्रचण्ड इमान्दारका साथ एक ठाउँ उभिनुपर्छ । सयौं माइलको यात्रा गरिरहेका ओली र प्रचण्डबीच यात्रा नटुंगिँदासम्म सहमति जारी नै राख्नुपर्छ । बीच बाटोमा कसैले उल्टो बाटो हिँडाउने कोसिस गरे भने पनि आफ्नो गल्ती, कमजोरीलाई सच्याएर सही बाटो पहिल्याउनुपर्छ । अनि मात्र दुईतिहाइको नेकपाको सरकारले देश र जनताको पक्षमा काम गर्न सक्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणताका नेकपाका शीर्ष नेताहरुसँग होटल सोल्टीमा भेट्दा उनले सांकेतिक रुपमा मिलेर अगाडि बढ्न आग्रहसमेत गरेका थिए । जननेता मदन भण्डारीले ‘एउटा माघले जाडो जाँदैन’ भनेझै चिनियाँ राष्ट्रपति सीले पनि माओले गरेको एउटा क्रान्तिले मात्रै चीनमा कम्युनिष्ट पार्टीले स्थायित्व पाएको नभई, कम्युनिष्ट पार्टीले क्रान्तिपछि निरन्तर जनताको सेवा गरेकाले चिनियाँ जनता कम्युनिष्ट पार्टीप्रति नतमस्तक भएको बताएका थिए ।

त्यसैले नेपालकै इतिहासमा पनि पहिलोपटक नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्रको आधारमा चुनाव लडेको हुनाले दुईतिहाइ मत जनताले दिएका हुन् । त्यसको कदर नेकपा पार्टी र सरकारले नगर्ने हो भने आगामी दिनमा कम्युनिष्ट आन्दोलनका लागि घातक परिणाम निस्कन सक्छ । जनताले एक पटकका लागि नेकपालाई दुईतिहाइ मत दिएका हुन् । त्यो दुईतिहाइ पनि जोगाउन नसक्ने हो भने दुई वर्ष पछाडि के मुखले जनताको घरदैलोमा भोट माग्न जाने ? त्यसैले एउटा माघले जाडो जाँदैन भन्ने जननेता मदन भण्डारीको वाणी सम्झेर पटक–पटक आउने माघका लागि नेकपा तयार हुने हो भने जस्तोसुकै परिस्थिति पनि सामना गर्न सक्छ । अन्यथा, नेकपालाई भोट दिने मतदाताले आगामी निर्वाचनमा राम…राम… भन्नेछन्, काँध थाप्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्