Logo
Logo

सिम्रिक एयरमा वन्यजन्तु तस्करी


- दृष्टि न्युज/संवाददाता


काटमाडौं, ३० असार । नेपालमा दुर्गम पहाडी जिल्लाहरुबाट हेलिकोप्टरमार्फत अवैध रुपमा वन्यजन्तुको चोरी शिकारी हुने खुलेको छ । यस्तो उच्च तहको गिरोहलाई अहिलेसम्म प्रहरी तथा वनले कारबाही गर्न सकेको छैन । बेला–बेलामा पक्राउ परेपछि सेटिङमा छाडिने गरेको खुलेको छ ।

गत महिना डोल्पामा भएको एक घटना पनि गोप्य रुपमा सामसुम पारिएको छ । गत १५ जेठमा शे–फोक्सुण्डा निकुञ्जबाट फर्किएको एक हेलिकोप्टरमा संरक्षित वन्यजन्तुको मासु तथा अंगहरु बरामद भएको थियो । जसमा पाइलटदेखि प्रहरीसम्मको मिलेमतो भएपनि उनीहरुलाई कारबाही गरिएन ।

सिम्रिक एयरको हेलिकोप्टर निकुञ्जमा पुगेको थियो । त्यहाँबाट फर्कदा शंका लागेर चेकजाँच गर्दा संरक्षित वन्यजन्तुको मासु तथा अंगहरु बरामद भएकोमा दबाबमा छाडिएको हो । निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरण गर्न पुर्व अनुमति लिनुका साथै निकुञ्जका एकजना कर्मचारी सँगै लैजानुपर्नेमा अनुमति नै नलिई निकुञ्जमा ल्याण्ड गरिएको थियो ।

शंका लागेपनि निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्मको सेनाको टोली जाँच गर्दा अवैध सामान भेटिएको थियो । आफुहरुले कारबाही गर्न खोजेपनि नसएिको निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले बताएका छन् । कारबाहीको छलफल चलिरहँदा सिम्रिकका पाइलट हेलिकोप्टर लिएर काठमाडौं फर्किएका थिए । उनीसँगै रहेका इन्सपेक्टर र हवल्दारलाई उन्मुक्ति दिइएको थियो ।

बिरामी ओसार्ने नाममा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ठूलो संख्यामा हेलिकोप्टरको उडानहरु हुने गरेको छ । सिम्रिक, माउन्टेन, एयर डाइनेष्ट्रि, कैलाश एयर, मनाङ एयर लगायतका निजी हेलिकप्टर कम्पनीले निकुञ्ज क्षेत्रमा जथाभावि उडान गर्दै आएको निकुञ्जका एक कर्मचारी बताउँछन् ।

उनीहरुले दुर्लभ बन्यजन्तुको आखेटोपहार,बहुमुल्य जडिबुटी,निकुञ्जका संरक्षित सामानहरु अवैध ओसार पसार गरेको हुनसक्ने आशंका छ । सोलुखुम्बु, रसुवा, गोरखा लगायत जिल्ला पनि अवैध रुपमा हेलिकोप्टरको उडान हुने गरेको छ ।

गत वर्ष गोरखाबाट हेलिकोप्टरमा आएकी एक युवतीसँग वन्जयन्तुका अंग भेटिएको थियो । तर, ती युवतीलाई मात्र कारबाही गरी अन्यलाई उन्मुक्ति दिइएको थियो ।

काठमाडौंको विमानस्थलमा समेत हेलिकोप्टरका पाइलत तथा यात्रुलाई कडाईका साथ चेकजाँच नहुने भएकाले हेलिकोप्टरमार्फत तस्करी बढेको हो । यसमा गृह मन्त्रालयको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्