Logo
Logo

नेकपा र लिथो मेशिन


- पूर्णशोभा चित्रकार


  • पूर्णशोभा चित्रकार

मैले लिथो मेशिनको बारेमा सामाजिक सञ्जालमा चर्चा गरेपछि केहीले सोधे ‘लिथो मेशिन भनेको के हो ?’ केही बढी बुझक्कड कलमवीरहरुले उक्त मेशिनलाई मदन भण्डारी, झलनाथ खनाल र सुरेन्द्र पाण्डेसित पनि जोडेर लेखे जो नितान्त गलत थियो ।

लिथो मेशिन र त्यससँग जोडिएका कथाहरु पार्टीको निर्माण, विकास र राजनीतिक अधिकार प्राप्तिका लागि गरिएको संघर्षको इतिहासको केही पन्नाहरु मात्र हुन् । खासमा त आजको परिवर्तन र सत्ता प्राप्तिको लागि देशभरका लाखौँ नेता, कार्यकर्ता र जनताहरुले त्याग, समर्पण, संघर्ष, जेलनेल र बलिदान गरेका छन् । सत्तामा पुग्ने नेताहरुले यसलाई मनन गरुन् । कार्यकर्ता र जनताका भावनाहरुलाई नकुल्चिउन् ।

पंचायती व्यवस्थामा राजनीतिक कार्यकर्ताहरुले प्रेसलाई प्रयोग गर्नु सजिलो थिएन । प्रेसहरु भद्दा हुन्थे र थोरै स्थानहरुमा थोरैको संख्यामा हुन्थे । मलाई एक जना साथीले जानकारी दिए अनुसार प्रहरीहरुले अक्षरको साइज र डिजाइन हेरेर कुन सामाग्री कुन प्रेसमा छापेको भन्ने पत्ता लगाउँथे र पक्रन्थे । पञ्चायती व्यवस्थामा पार्टीहरु प्रतिबन्धित, प्रेस स्वतन्त्रता नभएको बेलामा कुनै पनि आलोचना या माग राजनीतिक मानिन्थ्यो र आलोचना गर्नेले कडा सजायँको भागी हुनु पर्दथ्यो । राजनीतिक कार्यकर्ताहरु सूचना र सञ्चारको लागि हातैले लेखेर प्रचार सामग्रीहरु बनाउँथे र पत्रिकाहरु निकाल्नुपर्दासमेत त्यसै गर्दथे । अलि बढी प्रति निकाल्नु परेमा कार्वन पेपर राखेर तीन या चार प्रतिसम्म एकैचोटी निकाल्ने गरिन्थ्यो । मैले सफाइ मजदूरहरुको मुखपत्रको रुपमा ‘च्वाफी’ पत्रिका निकाल्दा त्यसै गरेकी थिएँ ।

श्यामप्रसाद शर्माको समूह तत्कालीन नेकपा (माक्र्सवादी लेनिवादी) पार्टीमा विलिन भइसकेपछि मेरो जिम्मामा लेख्ने कुराहरु धेरै आउन थाल्यो । रघुजी पन्त, युवराज कार्की र माधवकुमार नेपालबाट नै धेरैजसो लेख्ने जिम्मा आउने गर्दथ्यो । तर, जहिले पनि काम छिटो सिध्याउनु पर्ने भएकोले कहिलेकाहीँ लगातार केही रात सुत्न पाइँदैनथ्यो । त्यो कुरा सुलोचना मानन्धरले थाहा पाएर एक दिन ‘स्वास्थ्यको ख्याल गर्न पनि सिक्नुपर्ने’ सुझाव दिनु भएको थियो । त्यसपछि एउटा टाइपराइटर घरमा आइपुग्यो । मैले टाईपको कुनै तालिम लिएको थिईन, घरमा नै अभ्यास गर्दै टाईप गर्न जान्ने पनि भएँ । टाईपको प्रयोग गरे पछि भने, लेखनमा धेरै सजिलो बन्यो, तर कामको परिमाण पनि बढ्दै गयो ।

एक दिन युवराज कार्कीले एउटा पोको बोकेर मेरो घरमा आउनुभयो । पोकोमा लिथो मेशिन रहेछ । पहिले मैले त्यस्तो मेशिन कहिल्यै देखेकी थिइनँ । उहाँले मलाई मेशिन चलाउन सिकाउनुभयो । छपाइमा धेरै सजिलो बन्यो । मैले स्टेनसिल पेपरमा टाइप गरेर छाप्नका लागि तयार भएको खबर गरेपछि युवराज कार्की छाप्न सहयोग गर्न आउनुहुन्थ्यो । शुरुमा मेशिनबाट छाप्नका लागि तीन जना लाग्थ्यौँ । एक जनाले कागज मिलाएर मेशिनमा राख्ने, अर्कोले घुमाउने र तेस्रोले छापेर निस्केको पन्नालाई मसी नबिग्रिने गरी मिलाएर चाङ लगाउने गथ्र्यौं । केही समय काम गरेपछि मलाई एक्लैले त्यो काम गर्न सक्छु भन्ने लाग्यो र जिम्मा पनि लिएँ । कहिलेकाहीँ धेरै काम आइपर्दा दस्तावेजहरुको तह र गम्भीरतालाई हेरेर टाइपको लागि सुरेन्द्र तुलाधर, कमला श्रेष्ठ र गंगा श्रेष्ठको सहयोग माग्ने गर्दथेँ ।

विसं २०४१ सालमा सरकारले शिक्षक आन्दोलनमा चर्को दमन गर्ने नीति लियो । भद्रकालीमा भेला भएका शिक्षकहरुमाथि लाठी चार्ज र धडपकड ग¥यो । मेरो घरमा केही दुर्घटना हुँदैछ भन्ने पूर्वसंकेतहरु देखापर्न थाले । मेरो घर पार्टी सेल्टरको रुपमा थियो र दुर्घटना हुँदा ठूलो नोक्सानी पुग्न सक्दथ्यो । मैले आउन सक्ने दुर्घटनाहरुबाट चिन्तित बनेका भाउजुहरुलाई केही हुँदैन भन्ने आश्वासन दिएँ र दिन भरिनै घरमै बसेर सवै कुरा मिलाउने कोसिस गरेँ । घरका तीनवटा कोठामा भएका एघारवटा दराज र एउटा सन्दुकका पुस्तक र सामानहरु झिकेर थुपारें । त्यसपछि मात्र थाहा भयो, घरभित्र कति धेरै पार्टीका सामग्रीहरु थिए भनेर । त्यो बेला साथीहरु स–साना किताब, पत्रपत्रिका र पर्चाहरु पनि आपूmकहाँ राख्न डराउँथे र मेरोमा राख्न ल्याउँथे । झिँझो नमानी ती सामग्री म राख्थेँ । त्यसमाथि माधव नेपालले केन्द्रिय ‘कमिटीका कमरेडहरुलाई पनि नदेखाउनु’ है, भनेर दिनुभएका ताला लगाएका बाकसहरु, टाइपराइटर, लिथो मेशिन गरी थुप्रै सामानहरु थिए । त्यो दिन मैले मैले धैर्यतापूर्वक किताबहरु र विभिन्न नेताका चिठीपत्रहरु छुट्याएर मिलाएँ । आवश्यक नदेखिएका र जोखिम निम्त्याउन सक्ने कागजहरु छुट्टै बोरामा राखेँ । अवेर साँझसम्म काम गर्दा थकाइ लागिसकेको थियो । खाना खाएर सुतेँ ।

ढोका ढक्ढक्याएको आवाजले मेरो मिठो निद्रा टुट्यो र निद्राकै सुरमा ढोका खोलेँ । दिलशोभा र गंगा भाउजुहरु ढोकामा उभिनुभएको देखेँ । प्रहरीहरु घरमै आएर मलाई खोज्न आइसकेको कुराले उहाँहरु आत्तिनुभएको थियो । मेरो साइला दाजु भक्तलाललाई पक्रेर लगिसकेको रहेछ । उहाँले नै म सुतेको कोठामा ताला लगाई म घरमा नभएको भनेर मलाई बचाएर आफँै पक्राउ पर्नुभएको रहेछ ।

चुनौतीको थुप्रो मुखैमा थियो । रातिको समय, त्यत्रो डुङ्गुर सामान अहो कसरी पो व्यवस्था गर्ने भन्ने कुराले हामी सबैलाई अत्याएको थियो । तर परिवार र टोलका साथीहरु जुटेर सामानहरु ओसार्न थाल्यौं । टोलको एक जना बहिनी ज्ञानीमैया मानन्धरको भनाइअनुसार ती सामानहरुले उनको घरका कोठाहरु प्रायः भरिएका थिए । कोठामा नअटेका वर्गसङ्घर्ष र अन्य किताबहरु भ¥याङबाट सुलुसुुलु बगिरहेको थियो । नानीबाबाको कोलको चिसो चुलोले पनि किताबहरु बचाउने काम ग¥यो । पुनमाया तःमां, अष्टनारायण महर्जनले धानको भकारीमा लुकाइ सामानहरु बचाए । मंगलसिद्धि मानन्धर र वीरबहादुर मानन्धरलगायतका घरहरुमा पनि सामानहरु सुरक्षित गरेका थिए । उनको भनाइमा म राजनीतिमा लागेको बेला टोलवासीहरु ‘किन लागेको होला’ भनेर टिप्पणी गर्थे रे । तर मलाई संकट आएको भन्ने थाहा पाएपछि टोलको चेलीलाई जसरी पनि बचाउनुपर्दछ भनेर सबै जना लागेका थिए । टोेलवासीहरुको त्यो सद्भाव, माया र सहयोगले अहिले पनि मलाई भावुक बनाएको छ । कस्तो हृदयका मान्छेहरु हुन् ती ? विना स्वार्थ दुःख साट्न सक्ने र चुनौती सामना गर्न तयार हुन सक्ने ठूला हृदयका मान्छेहरु । यही लेखमार्फत सबैमा फेरि पनि मेरो कोटीकोटी अभिवादन, नमन ।

मिर्मिरे बिहान भैसकेको थियो । परिवारका सदस्यहरु थाकीसकेका थिए र मेरो सुरक्षाका लागि आत्तिएका पनि थिए । सामानहरु भने अझै थन्क्याउन भ्याएका थिएनन् । परिवारले किताव र सामाग्रीको महत्व थाहा पाए पनि घर पछाडीको ईनारमा प्mयाँक्नु बाहेक अरु उपाय रहेन । अगाडीको चुनौती र समयभावको कारणले सवै सामाग्रीहरु जोगाउन सम्भव भएन । तर म र पार्टीलाई जोगाउन भने विल्कुलै सम्भव बनायो मेरो परिवारको दुःख र मेहनतले । धन्न मेरो परिवार ।

म, परिवार र पार्टीलाई बचाउनुको विकल्प घरबाट निस्कनु मात्र एक थियो । बिहान दर्केर पानी परिरहेको थियो । माइली भाउजु दिलशोभाले मलाई छाता ओढाएर घरकै लुगामा ज्ञानीमैयाको घरसम्म पु¥याइदिनुभयो । ज्ञानीमैंयाले मलाई उनको नयाँ साडी दिइन् र उनले नै मलाई छाता ओढाएर बालसेवा माविको बाटो हुँदै चन्द्रमाया मानन्धर ( सुलोचनाका आमा) को घर झोछेँसम्म पु¥याइदिइन् । त्यसपछि पार्टीको सहयोगमा म पाटन पुगेँ र बचेँ ।

म घरबाट हिँडेपछि पनि महिनौं दिनसम्म सुराकी र प्रहरीबाट परिवारका सदस्यहरुले दुःख र झण्झट पाइरहे । त्यसको कारण ‘न्हुकोठा’को ढोका पछाडि झुण्ड्याइएको पाँच प्राधिकारको फोटो भएको क्यालेण्डर पनि एक बन्यो । परिवारलाई मेरो भदैको गुफा राखेको रमझमको कुनै स्वाद भएन । बुबा बिरामी भएर ओछ्यानमा पर्नुभएको थियो । त्यसमाथि मप्रतिको पीर पनि थपियो । प्रहरी थानामा आवतजावत, प्रहरीहरुको अश्लिल र नारकीय गाली, केरकार र प्रश्नहरुले पनि धेरै सतायो परिवारलाई ।

त्यो घटनाको ३५ वर्षपछि त्यो लिथो मेशिन घाइते र जीर्ण अवस्थामा मेरो घरमा आइपुगेको छ । कथा सुन्दा त्यसले पनि कम दःुख झेलेको रहेनछ । त्यसले ज्ञानीमैयाको घर हुँदै रमेश, आशाकाजी, दिलबहादुर, सरितालगायतका घरहरुमा सुरक्षाको लागि भौतारिनुपरेको रहेछ । त्यसको कथाले पञ्चायती व्यवस्थालाई किन निरंकुश भनियो र फाल्नुप¥यो भन्ने बुभ्mन केही हदसम्म सजिलो बनाएको छ ।

लिथो मेशिन र त्यससँग जोडिएका कथाहरु पार्टीको निर्माण, विकास र राजनीतिक अधिकार प्राप्तिका लागि गरिएको संघर्षको इतिहासको केही पन्नाहरु मात्र हुन् । खासमा त आजको परिवर्तन र सत्ता प्राप्तिको लागि देशभरका लाखौँ नेता, कार्यकर्ता र जनताहरुले त्याग, समर्पण, संघर्ष, जेलनेल र बलिदान गरेका छन् । सत्तामा पुग्ने नेताहरुले यसलाई मनन गरुन् । कार्यकर्ता र जनताका भावनाहरुलाई नकुल्चिउन् ।

प्रतिक्रिया दिनुहोस्