Logo
Logo

१०१ बर्षीय लाभग्राहीलाई जग्गाधनी पूर्जा


- दृष्टि न्युज/संवाददाता


पोखरा, ३१ असार । कास्कीको मादी गाउँपालिका ९ मुग्राीवेशीका १०१ बर्षीय भूमिहीन लाभग्राही जस बहादुर थापालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको २ लाख रुपैयाँबाट खरिद गरिएको जग्गाको जग्गाधनी पूर्जा प्रदान गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई मंगलबार जग्गाधनी पूर्जा प्रदान गर्नुभयो ।

आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुसी लागेको बताउनुभयो । थापाले प्रसन्न हुँदै भन्नुभयो, ‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन । ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ । बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुसी भएको छु ।’

थापाले प्राधिकरणबाट प्राप्त गर्नुभएको दुई लाख रुपैयाँबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीय नारायणी अधिकारीको १९० बर्गमिटर क्षेत्रफल बराबरको जग्गा खरिद गर्नुभएको हो ।

०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरिद गर्न २ लाख रुपैयाँ दिंदै आएको छ । यस्ता लाभग्राहीले घर निर्माणका लागि अन्य लाभग्राही सरह ३ लाख रुपैयाँ पनि पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्