काठमाडौं । प्रहरी प्रधान कार्यालयले कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ । हाल विभिन्न पक्षको जारी आन्दोलन, प्रदर्शन लगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले मातहतलाई यस्तो निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सबै प्रदेश प्रहरी कार्यालयलाई यस्तो निर्देशन दिएको छ । यो निर्देशनसँगै अर्को आदेश नभएसम्म प्रहरी कर्मचारीको राजीनामा स्वीकृत हुने छैन ।
हाल काठमाडौं केन्द्रित विभिन्न आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । शिक्षक, आवासीय चिकित्सक लगायत अन्य संघ, संगठन, संस्था र समूहको आन्दोलन भइरहेको छ ।