Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा सञ्चालित इनर्जी, इफिसियन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्सलाई २० लाख एक हजार १३१ रुपैयाँ, गोइन्का स्टील प्रालिलाई पाँच लाख ६० हजार ४०० रुपैयाँ रकम मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो । उहाँले अन्य बैंकको तुलनामा रावा बैंकको आधारदर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आह्वान गर्नुभयो ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी, इफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्सक्युटिङ एजेन्सी (पिइए) को रुपमा सहायता सम्बन्धी काम गर्ने गरेको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी र केशवप्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरु देबेन्द्ररमण खनाल, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनिधिलगायतको उपस्थिति थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्