मेरो छिमेकी तथा स्कूले जीवनका गुरु चेतनाथ वाग्लेले एकदिन विरक्तभावले स्टाटस लेख्नुभयो, फेसबुकको भित्तामा । उहाँले लेख्नुभएको थियो, धनकुटाबाट विराटनगरतिर बसाई सर्दै गर्नुहुने आदरणीय गुरु उपेन्द्र पोखरेलको विषयमा । विराटनगरतिर जान लाग्नुभएका उपेन्द्र सरले बाटोमा भेट हुँदा चेतनाथ सरलाई भन्नुभएछ, ‘विराटनगरतिर पो जान लागियो, बुढेसकाल लाग्यो, विमारले सताइरहन्छ । अस्पताल, डाक्टरको सुविस्ता पनि त्यतै छ ।’

धनकुटामा जन्मेर यसै ठाउँका लागि जीवनको सम्पूर्ण बौद्धिक ऊर्जा समर्पण गर्नुहुने उपेन्द्र सरको विराटनगर बसाइँ सराईले विरक्त हुनुभएका चेतनाथ सरले ‘यसरी सबैले धनकुटालाई माया मार्दै गएपछि धनकुटा कुरेर बस्नेचाहिँ को होलान् ?’ भन्नुभएको अहिले पनि मानसपटलमा ताजै छ ।
धनकुटा नगरबाट नजिकैको महानगर विराटनगर त के आफ्नो पखेटा पलाएपछि गुँड छाडेर राजधानी सहर काठमाडौँ हुँदै अवसरको खोजीमा सात समुद्र पार भई युरोपको गल्लीमा जुत्ता घिसारिरहेको यो लेखकलाई पनि चेतनाथ सरको स्टाटसले च्वास्स नघोचेको होइन । तर, बन्धन र बाध्यताको लयमा लयवद्ध हुनुको विवसताले यस्ता ब्यङ्ग्यका बाणहरुलाई पचाउन चुपचाप आफ्नो पाचन प्रणालीलाई सुदृढ बनाउनुपर्ने रहेछ ।
धनकुटा मात्रै होइन, नेपाल नै छाड्न लागिरहेको बेला मैले उपेन्द्र सरकै छोरी तनुजालाई त्यसबेला काठमाडौँ, न्यूरोडमा भेटेको थिएँ । सञ्चोसुविस्ता सोधेँ, ‘के छ बहिनी खबर, कताबाट यता आज ?’
उनले आफू अमेरिका जान लागेको बताउँदा म पुलकीत भइहालेँ । सोधेँ, ‘ओहो, कुन विश्वविद्यालयमा जान लाग्या, फूलब्राइटमै हो कि ?’ ‘डीभी परेर जान लाग्या’, तनुजाले यति भनिसक्दा भर्खरै पुलकीत मेरो अनुहार एकैछिनमा खुम्चियो । अनि नरम गाली गरेजस्तो गरेर भनेँ, ‘हैट, तिमीजस्तो पढे लेखेको मान्छे पनि यसरी डीभी भरेर विदेश जाने ?’
तनुजा हाँसिन् मात्र । ‘लौ त शुभयात्रा है’ भन्दै म आफ्नो बाटो लागेँ । त्यसबेला अमेरिकामा जान लागेकी तनुजालाई यस्तो डाइलग हान्ने मान्छे म आफंै अहिले सात समुद्रपार युरोपको गल्लीमा जुत्ता घिसारिरहेको छु । पितापुर्खाले त्यत्तिकै भनेका होइनन्, बोल्ने बेला थुतुनो जोगाउनू !
कलेजको त्यो पहिलो कक्षा
२०४५ को ब्याचको रुपमा एसएलसी उत्तीर्ण गरेपछि बडो उत्साहले धनकुटा बहुमुखी क्याम्पसको परिसर टेकिएको थियो । तर देशको परिस्थिति आन्दोलनउन्मुख थियो । देश राजनीतिक परिवर्तनको सङ्घारमा थियो । २०४६ को आन्दोलनको पृष्ठभूमी तयार हुँदै गरेको समय थियो । नेपालको राजनीतिक परिवर्तनको प्रायः जसो आन्दोलन कलेज परिसरहरुबाटै उम्लिरहेको रगत बोकेका युवा विद्यार्थीहरुबाटै सुरु हुने गरेको इतिहास छँदैछ ।
हाम्रो प्रवेशको पहिलो दिन हामीलाई स्वागत गर्न उपेन्द्र सर कक्षा कोठामा छिर्नुभयो । त्यसबेला उहाँ मानविकी सङ्कायतर्फ सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले अब केही दिनपछि कलेज सुचारु हुनेमा हामीलाई विश्वस्त गराउनुभइरहेको बेला एक जना सहपाठीले फ्याट्ट जिज्ञासा तेस्र्याए, ‘फागुन ७ गतेदेखि त सबै कलेजको पठाई ठप्प हुने कुरा छ नि सर ?’ ‘त्यो चाहिँ हामीलाई थाहा भएन’, उपेन्द्र सर सहज रुपमा प्रस्तुत हुनुभयो । कलेजको एक आधिकारिक प्रशासकसँग हाम्रा ती सहपाठीले राखेको जिज्ञासाको ठोस उत्तर सम्भव हुने कुरै भएन ।
यसरी मैले आफ्नो कलेज जीवनमा प्राध्यापकको रुपमा पहिलो पटक उपेन्द्र सरलाई भेटेको हुँ । उहाँ हामीलाई पढाउन होइन, एक कलेज प्रशासकको रुपमा नवागन्तुक हामी विद्यार्थीलाई स्वागत गर्न कक्षा कोठामा प्रवेश गर्नुभएको थियो । उहाँको स्नेहपूर्ण न्यानो स्वागतले हाम्रो उत्साहको टुकीमा तेल थपिएको अनुभूति भयो ।
कचिडे : गाउँ सानो नाम ठूलो
म स्कूले जीवनमै छँदा पनि पाएसम्मको सामग्री पढ्न रुचाउँथे, बुझे पनि नबुझे पनि । स्कूले जीवनमै कताकताबाट धनकुटा बहुमुखी क्याम्पसले त्यतिबेला निकाल्ने जर्नल ‘चिन्तनधारा’ र गोविन्दराज भट्टराई तथा हेमचन्द्र नेपालको संयुक्त सम्पादनमा निस्कने ‘निर्माण’ मेरो हातमा आइपुगेको थियो । तीमध्ये ‘निर्माण’मा लेखिएको एउटा लेख (लेखकको नाम सम्झना भएन, हेमचन्द्र नेपालले लेख्नु भएको हो कि जस्तो लाग्छ) मा लेखिएको थियो, ‘…वानाका रेग्मी, कुरुलेका बराल, फलाटेका वस्ती र कचिडेका पोखरेल कहलिएका विद्वतवर्ग हुन् ।’
धनकुटा नगरको एक प्रकारको काठक्षेत्रजस्तो सानो गाउँ कचिडेका पोखरेलहरुले नेपालमै ठूलो नाम कमाए । भीमसेन थापाको समयमा खोटाङको सिम्पानीबाट धनकुटा आएका हुन्, यी पानी पोखरेलहरु ।
राजनीति, साहित्य, दर्शन, भाषाशास्त्र, इतिहास, प्राध्यापन तथा चिकित्सा क्षेत्रमा धनकुटा नगरको सानो गाउँ कचिडेको ठूलो नाम छ । त्यहीँ नाम रोशन गर्नेमध्येका एक हुन्, विद्यानाथ पोखरेल । जसको नाम राजनीतिक क्षेत्रसँग सम्वद्ध छ ।
२००७ सालको क्रान्तिताकाका प्रजातन्त्र सेनानी विद्यानाथ पोखरेल क्रान्ति सफल भएपछि ललितबहादुर तुम्बाहाम्फेको नेतृत्त्वमा गठीत धनकुटाको अन्तरिम सरकारका मन्त्रीमध्येका एक थिए । २०१५ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई पछि राजदरबारले राजसभामा मनोनित ग¥यो ।
त्यसैले उनी सम्माननीय भए । पञ्चायतकालभरि विभिन्न राजकीय सभाहरुमा उनलाई सम्माननीय सम्वोधनका साथ आसनग्रहण गराइन्थ्यो । तर उपेन्द्र सरमा सम्माननीयको छोरा भएको अहम् कहिल्यै देखिएन । उहाँ त गौप्राणी, जहिल्यै सरल र सहज ।
धेरैले उपेन्द्र सरलाई प्रजातन्त्रवादी भनेरै चिने । तर उहाँले प्रजातन्त्रवादी, बामपन्थी वा राजावादी भनेर विभेदको छनक देखाउनु भएको कहिल्यै थाहा भएन । राजनीतिक चेतना भएर पनि उपेन्द्र सरले आफूलाई राजनीतिक रुपमा सक्रिय गराउनुभएको थाहा छैन । प्रजातन्त्रवादी भनेर फाइदा लुट्नेतिर अग्रसर हुने कल्पनाबाट बाहिरको मान्छे हुनुहुन्थ्यो, उपेन्द्र सर ।
यदि उहाँले चाहनुभएको भए पञ्चायतकालका सम्माननीयका छोराको नाताले ठूलै राजनीतिक लाभ पनि लिन सक्नुहुन्थ्यो । उहाँको दैनिकी भनेको कचिडेबाट कलेज अनि कलेजबाट कचिडे । उहाँको एक्सप्रेस यसरी चलेको थियो ।
बरु उपेन्द्र सरकी छोरी तनुजालाई चाहिँ विद्यार्थी राजनीतिमा केही वर्ष सक्रिय देख्न पाइयो । सम्भवतः उनमा हजुरबुबा विद्यानाथको गुण सरेको थियो ।
पत्रकारितामा उपेन्द्र सर
मैले २०५० सालदेखि जिविकोपार्जनका लागि पूर्ण रुपमा पत्रकारितालाई पेशाको रुपमा अपनाएँ । हामीपछिका धनकुटाको पत्रकारिताको छिमलमा तनुजा पोखरेलले पनि नाम लेखाइन् । तर उनका बुबा अर्थात् उपेन्द्र सर पनि कुनै बेला पत्रकारिता क्षेत्रसँग सम्वद्ध हुनुहुन्थ्यो भन्ने अत्यन्तै कमलाई मात्रै थाहा छ ।
सिद्धराज राई (हालः राष्ट्रिय समाचार समितिका महाप्रवन्धक)ले स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनका क्रममा लेखेको शोधग्रन्थ धनकुटाको पत्रकारितासँग सम्बन्धित छ । धनकुटाको पहिलो पत्रकारमध्ये उनले मलाई पनि समेटेका छन् । ब्रोडसीट (ठूलो आकारको राष्ट्रिय दैनिक)मध्ये निजी क्षेत्रको अखबारमा काम गर्ने धनकुटाको पहिलो पत्रकारको रुपमा उनले आफ्नो शोधग्रन्थमा मेरो नाम उल्लेख गरेका रहेछन् ।
यस्तै, गोरखापत्र दैनिकको धनकुटाको पहिलो संवाददाताको रुपमा उनले उपेन्द्र सरको नाम उल्लेख गरेका छन् । कचिडेमै जन्मेर पूर्वीय दर्शनमा नाम कमाएका पण्डित छविलाल पोखरेलका सुपुत्र गोकुल पोखरेलले पत्रकारिता क्षेत्रमा नेपालमै नाम कमाए ।
उनै भ्राता गोकुलको सम्पर्कबाट उपेन्द्र सरले गोरखापत्रको संवाददाताको परिचय पत्र पाउनुभएको रहेछ । यद्यपी उपेन्द्र सर धनकुटामा प्राध्यापक भनेर मात्रै चिनिइनुभयो, कहिल्यै पत्रकार भनेर चिनिइनु भएन । तर इतिहासको खोजी गर्नेले उहाँको नाम नलिई सुख पाउने कुरै भएन ।
त्यो मायालु भेट
एक दिन सल्लेरीनेर बाटोमा भेट भयो उपेन्द्र सरसँग । उहाँले केही कुरा गर्न चाहेको छनक दिनुभएपछि उहाँसम्मुख एक आज्ञाकारी बालकसरह उभिएँ । उपेन्द्र सरको अगाडी मेरो शिर आफैं झुक्थ्यो ।
उहाँले चित्रकलाको कुरा झिक्नुभयो । कलेजको भित्ताका सुन्दर र अर्थपूर्ण भावचित्र र ब्यङ्ग्यचित्रसहित हामी भित्तेपत्रिका निकाल्थ्यौँ, त्यसबेला । उहाँ क्याम्पस प्रमुख हुनुहुन्थ्यो । ती चित्रमध्ये ब्यङ्ग्यचित्रमा मेरो प्रयत्न रहन्थ्यो भने भावचित्रमा मित्र सरोज भण्डारी (हालः दिवंगत) कोे शिल्प बेजोड थियो । हामी लेखकको रेखाचित्र पनि भित्तेपत्रिकामा कोथ्र्यौँ । पछि, हामी जुनियरहरुसँगको मण्डलीमा थपिइन आउनुभयो, प्रिय मित्र उमेशचन्द्र अधिकारी । मेरो त चित्रकलामा खास दख्खल र प्रतिभा केही थिएन । तर भित्ते पत्रिका चलाउने सम्पादकीय नेतृत्त्व चाहिँ मैले गरेको थिएँ ।
बाटोमा भेट्दा उपेन्द्र सर धनकुटा सिरान बजारमा कुनै एक दिन एक जना विदेशी आएर चित्र बनाउँदै गरेको आफूले देख्दाको अविस्मरणीय क्षण सुनाउँदै हुनुहुन्थ्यो । ती विदेशीले सिरान बजारको दृश्यचित्र एकैछिनमा यसरी तयार पारे अरे कि आँगनमा घाम ताप्न निस्केका एक प्रौढलाई पनि दुरुस्तै उतारिदिएछन् ।
उपेन्द्र सर भन्दै हुनुहुन्थ्यो, ‘त्यो विदेशीले चित्र पनि कसरी बनायो भने दयाराम सर (प्रशिद्ध समालोचक प्रा.डा. दयाराम श्रेष्ठ (सम्भव)का बुबा आगनमा घाम ताप्न निस्कदा कम्मरमा हात लगाएर उभिनु भएको रहेछ, बुढाको अनुहार जीउडाल पनि दुरुस्तै निकालिदिए नि हौ !’
सरको यो गजबको संस्मरण सुनेर छुट्टिएपछि सोचेँ, सायद हाम्रो भित्तेपत्रिकाले पनि उपेन्द्र सरलाई प्रभाव पारेछ । अनि फेरि सोचेँ, यति मायालु पाराले उहाँले मजस्तो जुनियर विद्यार्थीसँग किन कुरा गर्नुभयो ?
उपेन्द्र सरकी जेठी छोरी मनुजा मेरो स्कूले जीवनको सहपाठी । हामी गोकुण्डेश्वर माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म सँगै पढेको । हामी कक्षाका राम्रा विद्यार्थीमध्येकै थियौँ । मनुजामा भने आफ्ना विद्वत् मातापिताको गुण सरेकै थियो । तर म लाहुरेको छोरोलाई चाहिँ पढाईमा राम्रो हुन कनिकुथी, जोर जबरजस्ती गर्नुपरेको थियो ।
आफ्नी जेठी छोरी मनुजाको स्कूले जीवनको सहपाठी भएर मात्रै होइन, उपेन्द्र सरको ममाथि अतिरिक्त ममता र साहनुभूति पोखिनुमा मेरा जिगरदोस्त उमेशचन्द्र अधिकारीको पनि हात थियो भन्नुमा कुनै शङ्का छैन । किनकि उपेन्द्र सर र उमेशजीका पिताश्री होमनाथ दिदी बहिनीका छोरा हुन् । उमेशजीको साइनो सम्बन्धबाट पनि उपेन्द्र सरको अतिरिक्त साहनुभूति र ममता ममाथि पोखिएको हो भन्ने लाग्छ ।
उमेशजीको सुन्दर र अर्थपूर्ण चित्रकला त विभिन्न सञ्चारमाध्यममा अहिले पनि देख्न पाइन्छ ।
संसार अनित्य छ । यहीँ नियति भोग्दै विराटनगर बसाइँ सराईको केही महिनापछि नै उपेन्द्र सरको भौतिक चोला उठ्यो । उहाँकै भनाईअनुसार औषधोपचारमा अलि सुविस्ता मिल्ने आशामा उहाँ धनकुटाबाट विराटनगरतिर बसाइँ सर्नुभएको थियो । तर समयभन्दा अलि अगाडी नै उहाँलाई हामीले भौतिक रुपमा गुमाउनु पर्दाको थकथकी हाम्रा भागमा छाडेर उहाँ जानुभयो । आफ्ना जीवनसाथीलाई भेटिहाल्ने हतारोजस्तै उपेन्द्र सरलाई भेट्न दुर्गा म्याम पनि चाडै बाटो लाग्नुभयो, कहिल्यै नफर्कने गरी ।
उपेन्द्र सर र दुर्गा म्याम, भौतिक रुपमा तपाईंहरु यो संसारमा नरहे पनि हामी तपाईंहरुलाई सम्झिरहने छौँ, उस्तैगरी हिजोजस्तै !