Logo
Logo

बारामा वडाध्यक्षलगायत ४६ जना कोरोना संक्रमित


- दृष्टि न्युज/संवाददाता


बारा, ५ साउन । कोभिड–१९ मा नियन्त्रण भएको दाबी गर्दै सरकारले सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बारामा ४६ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । कोरोना पोजेटिभमा वडाध्यक्षदेखि कर्मचारीलगायतका रहेका छन् । सबैको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको ल्यावमा परीक्षणका लागि पठाइएको थियो ।

सोमबार आएको नतिजामा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन् । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र सर्लाहीको धनकौल घर भई बारामा कार्यरत छ जना गरी ४६ जनामा कोरोना पोजेटिभ रहेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी गराए ।

कोरोना पोजेटिभ भेटिएकाहरुमध्ये ३४ जना पुरुष र १२ जना महिला संक्रमित रहेका छन् । संक्रमितमध्ये देवताल गाउँपालिकाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र अन्य कर्मचारीसमेत रहेका जिल्ला प्रशासन कार्यलयले जनाएको छ । स्थानीय तहले लाखाँैलाख विकासको बजेट क्वारेन्टिनमा खर्च गरे तापनि व्यवस्थित क्वारेन्टिन नभएर संक्रमितहरु आफनो घर समुदायको व्यक्तिसँगै बस्दै आएका थिए ।

प्रशासन, स्थानीय तह सचेत नभएकै कारण कोरोना पोजेटिभ दिनहुँ बढेको स्थानीयवासीले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यलयले कारवाहीस्वरुप मास्क नलगाएकालाई पक्राउ गरी रु १०० जरिवाना गरी छाडने काम मात्र गरेको स्थानीयवासी बताउँछन् । जरिवानाको साटो गाउँका सोझासाझा जनतालाई सचेत गराउने कार्यक्रम प्रशासन, स्थानीय तहहरुले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्