Logo
Logo

आमा र छोरीको सम्झनामा बगेको जहाज


2.4k
Shares

वर्ष दुई हजार ८२ को पहिलो दिन, म यी पङ्क्ति लेख्न बसेकी छु । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा शुभकामनाको ओइरो लागिरहेको छ । विदेशी साथीहरूसमेत पनि शुभकामना दिइरहेका छन् । ‘सम्पूर्ण आकाश’बाट मेरो पनि हार्दिक शुभकामना ! जे लेखिरहेकी छु, त्यो भने सन् १९९१ को मार्च महिनातिरको कुरा हो । चीनको बसाइको पाँचौँ वर्षमा जापानी साथीहरूको निम्तोमा जापान जाने तयारीमा थिएँ ।

त्यो बेला आठ वर्षकी छोरी लिएर सरोज नेपाल फर्किएका थिए । उनीहरूलाई बिदा गरेपछि म एक्लै सरोजको होस्टेलमा बसेँ केही दिन । पहिलोचोटी छोरीबाट टाढा भएकोले मेरो मन शान्त थिएन । ज्ञानी छोरी आफैँले नै नेपालको घरमा जाऊँ भनेकी थिइँ । तर, नेपालमा त्यो बच्चीको कसरी बानी पर्ला र भनेर केही दिन निदाउन पनि सकिन । बुबा नेपाल हुञ्जेल त ठिकै होला । तर, उनी त थेसिस डिफेन्ड गर्न तुरुन्तै चीन फर्किनुपर्ने थियो ।

आठ मार्चको दिन चीनमा महिला दिवस धुमधामले मनाइन्छ । त्यसपटक ८१औँ महिला दिवस थियो । जापान जाने तयारीमा भएकोले कतै जान पाइनँ । नत्र अघिल्ला वर्षहरूमा महिला दिवसका दिन कुनै न कुनै कार्यक्रममा भाग लिन जान्थेँ म पनि । भोलिपल्ट ९ तारिखकै दिन जापानतिर लाग्नुपर्ने थियो ।

शाङहाइदेखि योकोहामासम्म पुग्ने पानी जहाजको टिकट पनि साथीहरूले पठाइदिइसकेका थिए । जिन्दगीमा पहिलोपटक एक्लै अन्तरराष्ट्रिय भ्रमण गर्दै थिएँ– मनमा भएको उत्साहलाई एक किसिमको अत्याहटले जितेको थियो । मलाई बिदा गर्न आफ्नो परिवारको कोही पनि थिएन । एक्लै थिएँ । तर जापानी साथीहरू भने कोही जापानमा मद्दत गर्न तयार भएर पर्खिरहेका थिए ।

कोही भने शाङहाइमै बसेर जापान पुगेपछि के गर्नुपर्छ, कस्तो कपडा लगाउनु पर्छ, आदि सल्लाह दिइरहेका थिए । नुरिकोले त आफ्नै बहिनीले झैँ सघारहेकी थिइन् । मसँग भएको कपडाले नपुग्न सक्छ भनेर उनले आफ्नो कोटसमेतका कपडाहरु पनि मेरो सुटकेसमा राखिदिएकी थिइन् । त्यतिले नपुगेर जाने बेला हातमा एउटा खाम पनि राखिदिइन् । “जापान पुगेपछि मात्र खोल्नु है, यो खाम” भनेकी थिइन् । आज्ञाकारी भएर त्यो स्वीकारेकी थिएँ ।

जहाजमै छँदा मार्च १० को दिन आफ्नो डायरीमा लेखेकी रहेछु– “जहाज बगिरहेको छ, जहाजमाथिको म पनि उसँगै बगिरहेकी छु, हामीसँगै जहाजमुनिको समुद्रको पानी पनि बगिरहेजस्तो लागिरहेको छ” शाङ्हाइ छोडेपछि एकरात बितिसकेको छ ।

विशाल समुद्रलाई साथी बनाएर, अरु नै देशका सहयात्रुहरूसँगै एउटै दिशामा पुग्ने उद्देश्यका साथ यात्रामा थिएँ । मेरो निम्ति सबै कुरा नौलो थियो । योकोहामा पुग्नुअघि जहाजमा अझै दुईरात बिताउनु थियो । अनि मात्र मलाई पोर्टमा पर्खेर बसेका निशिकावा र सुसुमुसँग भेट हुने थियो ।

त्यो बेला जापान पुग्नु मेरोनिम्ति सजिलो थिएन । तर, असल साथीहरुको कत्रो महत्व हुँदोरहेछ जीवनमा ! असम्भव लाग्ने कुरा पनि सम्भव हुँदा रहेछन् असल साथीहरुको साथ पाए । कताकता आफ्नै बुढासँग भने रिस पनि उठिरहेको थियो, बाइबाईसम्म पनि भन्न नपाएकोमा ।

नेपालमा फोन गर्दा पनि बाहिर गएको बेला परेछ । ससुरा बुबा र छोरीसँग मात्र कुरा गर्न पाएँ । छोरीसँग बोल्न पाएपछि मन केही सञ्चोजस्तो भएको थियो । तर फोनमा मिनेट मिनेटको हिसाब गर्नुपर्ने हुँदा लामो कुरा गर्न पाइनँ । बुबा भने खुसी हुनु भएजस्तो लाग्यो ।

आफूले भनेजस्तो नातिनीलाई नेपाल फर्काएर पढाउने बन्दोबस्त गरेकोमा । अनि धेरै समयपछि छोरो घर फर्केकोमा । बुबाले भन्नुभयो– ‘यता छोरीको केही चिन्ता लिनु पर्दैन है !’ तर एकैचोटी बाहिरबाट ठूलो परिवारमा गएकी छोरीलाई कस्तो हुने हो चिन्ता भने लागिनै रह्यो । बुबाको त सदाशयता मात्र न हो ! आफैँ बच्चालाई हेर्न सक्ने कुरा भएन । आफू भने समुद्रबीच जहाजमा छु । अनेक कुरा उर्लिरहेछ छालसँगै ।

जहाजभित्र मेरो कोठामा १० जना महिला यात्रुहरू थिए । कोही चीन घुमेर फर्केका जापानी केटी, कोही जापानमा काम गर्न जाने चिनियाँ… अनेक किसिमका मान्छे थिए । केहीसँग तुरुन्तै मित्रता पनि भयो । म नेपाली भन्ने थाहा पाएपछि कतिलाई नेपालबारे सोध्न पनि मन लागेछ ।

विस्तारै सबै एउटै परिवारजस्तो हुन पनि थालियो । बेलुकी खानापछि धेरैजसो भिडियो, काराओकेमा झुम्मिन पुगे । म पनि पहिलोचोटी काराओके हेर्न पुगेँ भर्खरै साथी भएकी एउटी सहयात्रीसँग ।

भिडिओमा एउटा अश्लिल लाग्ने दृश्य देखेपछि मेरो अनुहार बिग्रेको देखेर होला, ती साथीले असजिलो मान्दै भनिन् “नेपालमा यस्तो चलचित्र हुँदैन हो ?” मलाई त्यो काराओके भएको कोठाबाटै भागेर बरु सुत्ने कोठामा नै एक्लै बसुँजस्तो लाग्यो ।

क्वाइन खसालेर आफूलाई चाहिने कुरा लिने भेन्डिङ मेसिन पनि मैले पहिलोचोटी देखेकी थिएँ । एउटा चाउचाउको पाकेट किन्न खोज्दा पैसा खसालेको मिलेन कि कुन्नि, पैसा झर्यो सामान भने आएन । सायद मेसिनले पनि मलाई चिनेन । जहाजमा प्रायः धेरै जापानीहरु नै थिए भने बाँकी चिनियाँहरु । अरु देशका त्यति देखिएन । मलाई धैरैले पाकिस्तानी वा भारतीय भएको अनुमान गरेछन् । “नेपालबाट” भन्दा छक्क पनि परे । जापानी र चिनियाँहरु झट्ट हेर्दा उस्तै लागे पनि बानी व्यहोराले सजिलै छुट्टिन्थे ।

तेस्रो दिन ११ तारिख । जहाज बेस्सरी हल्लियो । म झसंग भएँ । “भोलि मेरो जन्मदिनमा पो जापान पुग्ने रहेछु !” जन्मिनुअघि आमाको गर्भमा पनि पानीमै थिएँ । गर्भबाट निस्किने तयारीमा हुँदा पनि यस्तै हलचल थियो कि !” समुद्रको छालले हल्लाइरहेको बेला आमालाई बेस्सरी सम्झेँ । जहाज र आमा उस्तै उस्तै लागिरह्यो एकछिन् ।

चार रात, तीन दिनको यात्रापछि बिहान योकोहामा पुग्ने बेला जहाजले जापान पसिसकेको सन्देश दियो । म त्यसै भावुक भएँ एकछिन्– आफ्नी आमा र छोरीलाई सँगसँगै सम्झेर । मेरी आमाले मलाई जन्माएको क्षणको कल्पना र आफ्नो पहिलो सन्तानलाई जन्माएको क्षणको सम्झना सँगसँगै आए । कसैको पनि जन्मदिन उसको निम्ति मात्रै होइन, आमाको निम्ति पनि विशेष दिन हुन्छ ।

सोच्दासोच्दै जहाज रोकियो । योकोहामा पुगेँ । बाहिर पुग्नासाथ मेरा प्रिय साथीहरु निशिकावा र सुसुमलाई देखेँ । निशिकावाले मलाई अँगालोमा बाँधिन् । ती सरल, ज्ञानी, स्नेही साथीलाई भेट्दा मलाई मेरी आफ्नै आमा भेटेजस्तो लाग्यो …।

प्रतिक्रिया दिनुहोस्