Logo
Logo

बालुवाटारमा स्वीस बैंकको तरंग


-दीपेश केसी


  • दीपेश केसी

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासका थोरै शक्तिशालीमध्येका एक प्रधानमन्त्री हुन् । उनी विपी कोइरालापछि दुईतिहाइ बहुमतको सरकारको नेतृत्व सम्हाल्न पाउने नेताको परिचय बनाउन सफल भइसेका छन् । बरु, विपीको युगमा राजतन्त्र निकै शक्तिशाली थियो, ओली युगमा गणतन्त्र छ र सम्पूर्ण शक्ति उनीमा केन्द्रित छ । यसकारण ओलीलाई वीपीभन्दा राजनीतिक रुपमा शक्तिशाली मान्न सकिन्छ । शक्ति, सामथ्र्य र इच्छाशक्तिका दृष्टिले पनि ओलीले नेपालको इतिहासमा देशलाई समृद्धिको नयाँ युगमा लाने सफलता हासिल गर्ने यथेष्ठ मौका थियो । उनले शुरुको कार्यकालमा आफूलाई समृद्धितर्फ केन्द्रित नगरेका होइनन् । तर, समयकालले उनले आफ्नो ध्यान अन्यत्र मोड्दै लगे । उनी आफ्नो प्रतिबद्धता र लक्ष्यबाट विचलित भएको घटनाक्रमले देखाउँदै लगेको छ । जसका कारण उनको राजनीतिक भविष्य नै धरमराउन थालेको छ ।

पत्रकार रोल्यान्ड ज्याकार्ड

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझै विवादास्पद अध्यादेश ल्याउनतर्फ उनी लागे । पार्टीभित्र आफूलाई हटाउन लागेको आशंका र सल्लाहकारहरुको गलत सुझाव बमोजिम उनले जे–जस्ता कदम चाले त्यसले उनलाई झन् झन् भड्कालोमा पार्दै लग्यो । राजनेताजस्तो उचाइ बनाइसकेका दरिलो आत्मबल भएका ओलीले चालेको कदम र बोली सुनेर देशभित्र र बाहिरका गनेचुनेका बौद्धिक समुदायले समेत मनस्थितिमाथि नै आशंका व्यक्त गर्न थाले । तर, ओलीको बोली र व्यवहार झन् विवादमा मुछिदै गयो । दुईपटक मृगौला प्रत्यारोपण पछि पनि आत्मबलले जुरुक्क उठेर काममा खटिएका प्रधानमन्त्रीको अनुहार देख्दा धेरैको मनमा सहानुभूति र प्रशंशा नदेखिएको होइन । तर, प्रधानमन्त्रीका पछिल्लो कदमहरुमा अहंता र आफू कुर्सीमा नभए देश बर्बाद हुन्छ भन्नेसम्मको उनले पालेको भ्रमले उनको राजनीतिक भविष्य अन्त्यतिर डोहरिँदै छ । यो क्रम कहाँ गएर टुंगिन्छ स्वयं ओलीलाई पनि थाहा छैन ।

ओली आफ्नै कदम र व्यवहारले कमजोर हुँदै गएका हुन् । पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेँ भन्ने कुरा भ्रम मात्र हो । वास्तवमा उनलाई यति कमजोर कि आफैँले बनाए, कि गुटले । यसैबीच उनीमाथि बाह्य दुनियाँबाट अनेकन लान्छानाहरु लाग्न थाल्यो । जसमध्ये स्वीस बैंकमा खाता रहेको भनिएको विवादास्पद रिपोर्ट पनि एक हो । उक्त रिपोर्टमा ओली र उनकी धर्मपत्नी राधिका शाक्यको नाममा स्वीटजरल्यान्डको जेनेभास्थित मिराबौड बैंकमा उक्त खाता रहेको उल्लेख छ । बैंकमा ५५ लाख डलर रहेको भनिएको छ । प्रधानमन्त्री ओलीको केही वर्ष यता सम्पत्ति निकै बढेको भनिएको छ । सम्पत्ति कसरी जम्मा भयो भनेर समेत लेखिएको छ । रिपोर्टमा प्रमाणका दस्तावेज संलग्न नभएपनि पछिल्लो दुई कार्यकाल उनी प्रधानमन्त्री हुँदा टेलिकम, जलस्रोतलगायतका क्षेत्रमा भएका विवादास्पद निर्णयहरु जोडेर समाचारमा व्याख्या गरिएको छ । दक्षिणपूर्वी एशियाको देश कम्बोडियामा टेलकममा लगानीदेखि वार्षिक ५ लाख डलर थपिनेसमेत समाचारमा उल्लेख छ । तर, स्वीस बैंकले ओली नामको व्यक्तिको खाता नरहेको बताएको कुरा पनि समाचारमै उल्लेख गरिएको छ । चिनियाँ राजदूतसँग खिचिएको फोटो उक्त समाचारमा राखिनु पनि रहस्यमय नै छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त रिपोर्टप्रति खेद व्यक्त गरेका छन् । उनले प्रेस नोटमार्फत् यसलाई भ्रामक र खेदजनक भनेका छन् । तर, रिपोर्ट अझै दुनियाँले हेरिरहेका छन् । ग्लोबल वाच एनालिसिसमार्फत् यस्तो रिपोर्ट सार्वजनिक भएको हो । यसको विश्वसनीयता र स्वतन्त्र रुपमा पुष्टि गर्नुपर्ने विषय रहला । तर, जसले यो रिपोर्ट तयार गरे ती सनसनी खोज गर्ने खोजमूलक रिपोर्ट तयार गर्दै आएका पत्रकार हुन् रोल्यान्ड ज्याकार्ड ।

फ्रान्सेली पत्रकार ज्याकार्डसँग आतंकवाद, खुफिया एजेन्सीसम्बन्धी सनसनीपूर्ण खोज रिपोर्ट तयार गरेको अनुभव छ । लेबनानमा जन्मिएका उनीले अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी खोजमुलक लेख रचना प्रकाशित गर्दै आएका छन् । फ्रान्सेली भाषामा कलम चलाउने ज्याकार्डका पुस्तक सँसारका धेरै भाषामा अनुदित गरी प्रकाशित छन् । ज्याकार्डले ओसामा विन लादेनसम्बन्धी पुस्तक लेखेका थिए । जुन निकै चर्चामा रह्यो । बिन लादेनले पश्चिमालाई ध्वस्त पार्न खोजेकोबारे सनसनीपूर्ण खोज र खुलासाहरु गरेका थिए । सन् १९९८ देखि २००४ को बीचमा उनका सातवटा पुस्तक प्रकाशनमा आएको थियो । ज्याकार्ड कुनैबेला फ्रान्सका तत्कालिन राष्ट्रपति ज्याक सिराकको गुप्त सल्लाहकार भएको दाबी समेत गरेका थिए । ज्याक सिराकसँग उनी निकै परिचित थिए । दुवैबीच भेटका तस्बिरहरु समेत सार्वजनिक छन् । ज्याकार्ड कतिपय दक्षिणपन्थी धारका प्रकाशनका सम्पादक पनि भए । लामो समय विभिन्न मिडियामा काम गरेका ज्याकार्ड खुफिया एजेन्सीहरुमा राम्रो स्रोत रहेका पत्रकारका रुपमा परिचय बनाएका छन् । खोज पत्रकारितामा यति धेरै दख्खल राख्ने पत्रकारले हावाको भरमा ओलीका बारेमा रिपोर्ट लेखे होलान् भनेर कसरी पत्याउने ? त्यसैले उनले लेखेका समाचार रहस्यकै गर्भमा छ ।

स्वीस बैंकको खाता र रकमबारे विवादास्पद रिपोर्ट त्यतिबेला आएको छ, जतिबेला प्रधानमन्त्री ओली पार्टीभित्र र बाहिर चौतर्फी घेराबन्दीमा परेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भुभाग समेटेर नयाँ नक्शा जारी गर्न भुमिका खेलेका छन् । यस्तो बेलामा ओलीलाई बदनाम बनाउने गरी सार्वजनिक भएका खबरहरुलाई अर्थपूर्ण मानिएको छ । आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन गरेको षड्यन्त्रसँग यो समाचारको साइनो छ कि छैन, त्यो भविष्यमा पत्ता लाग्ला । तर, यो समाचारको वास्तविकता पत्ता लागेको दिन पक्कै पनि ओलीका लागि सहज हुनेछैन ।

यसै पनि स्वीटजरल्यान्डका कतिपय बैंकहरु विश्वका गरिब र संकटग्रस्त देशका शक्तिशाली शासकहरुको कालो धन लुकाउने सुरक्षित ठाउँका रुपमा बदनाम छन् । त्यस्ता देशका विवादास्पद व्यापारी र व्यक्तिहरुको समेत कालो धन सञ्चित रहेको विगतमा खुलेको थियो । सन् २०१३ मा स्विस बैंकमा १३ नेपालीको खाताबारे खुलेको थियो ।

कालो धनको सुरक्षाका लागि स्विस बैंकहरू स्वयंले भूमिका खेलेको घटना बेलाबखत चर्चामा आउने गर्छ । स्विस बैंकले नै २० करोडको कर छल्न सहयोग गरेको खुलासा क्यालिफोनिर्याका चर्चित व्यापारीले सन् २००८ मा गरेका थिए । बैंकले नै सहयोगी भूमिका खेल्ने हुँदा स्विट्जरल्यान्ड कालो धनको स्वर्ग बन्न सक्यो । फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको नाममा जम्मा भएको ६८ करोड ३० लाख डलरबारे खुलेको थियो । सन् १९८६ मा स्विस बैंकले रोक्का गरेको इतिहास छ । पिज्जा कनेक्सनका रूपमा चर्चित सन् १९८२–८५ को घटनामा १.६ अर्ब डलर लागूऔषधवापत्को रकम अमेरिकाबाट स्विक बैंकतर्फ पुगेको थियो । सन् १९८६ को बोफोर्स काण्डमा स्वीडेनको हतियार निर्माण कम्पनि बोफोर्सले भारतीय राजनीतिक दलका नेताहरूलाई चार करोड डलर कमिशन दिंदा स्विस बैंकको खातामा जम्मा गरिदिएको थियो ।

यसरी कतिपय देशका विवादास्पद शासकहरुको कालो धन लुकाउने बैंकका रुपमा समेत बदनामी कमाएका स्वीस बैंकमा खाता भन्दै प्रधानमन्त्री ओलीलाई जोड्नुलाई हाल भइरहेको चौतर्फी घेराबन्दीसँगै बदनाम बनाउने कदमका रुपमा पनि लिन सकिन्छ । विरोधीहरु यसरी आक्रामक बन्दै जानुमा ओलीकै मुख्य कमजोरी रहेको देखिन्छ । उनले पार्टीभित्र र बाहिरको व्यवस्थापनभन्दा निरंकुशताको मनस्थितिले काम गरेको देखिन्छ । जनादेश अनुरुप काम गर्नुपर्नेमा मतादेशको अहंताका कारण भित्र भित्र कमजोर हुँदा चौतर्फी प्रहारहरु एक साथ भएका छन् । जसलाई थेग्न ओलीलाई हम्मे पर्दैछ । उनले बनाएको साख जोगाउन समेत मुश्किल हुने परिस्थिति निर्माण भइरहेको छ । यस्तो स्थितिमा सार्वजनिक भएको यो समाचारले ओलीलाई मात्र होइन, सिंगो नेपाली जनतालाई पिरोलिरहेको छ । नेपाली जनताका प्रिय एवं राष्ट्रवादी छवि बनाएका ओलीविरुद्धको यो समाचारको वास्तविकता के हो भन्ने विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग सोधपुछ गर्न र नेपाली जनतालाई सुसूचित गर्नु आवश्यक छ । एउटा प्रेस सल्लाहकारको खण्डनले मात्रै यो खाडल पुर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्