धनकुटा । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य भएको बताएका छन् ।

धनकुटाको बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना शिलान्यास गर्दै मन्त्री यादवले सरकार संविधानअनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच समन्वय गर्दै खानेपानी तथा सरसफाइ सेवा विस्तारमा जुटिरहेको बताए । उनले भने, ‘आजको शिलान्यासले सङ्गुरीगढी गाउँपालिका–१ र २ वडाका बासिन्दालाई गुणस्तरीय पानी उपलब्ध गराउने दिशामा नयाँ युगको सुरुआत गरेको छ।’
मन्त्री यादवले सह–लगानी मोडेललाई सरल बनाउन ८५/१५ को नयाँ व्यवस्था लागू गरिएको र विकट तथा सीमान्तकृत क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी गराए । खानेपानी योजनाहरूको स्थलगत निरीक्षण र समस्या समाधानमा आफैँ सक्रिय रहेको उनले बताए ।
शिलान्यास गरिएको आयोजना अन्तर्गत ४६४ घरधुरी र २,२१३ जनसंख्या लाभान्वित हुनेछन् । काम्फुवा खोलाबाट प्रति सेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट ल्याइनेछ । आयोजनाको कुल लागत ७ करोड २१ लाख रुपैयाँ रहेको छ, जसमा ९० प्रतिशत सरकारी र १० प्रतिशत सामुदायिक योगदान रहनेछ ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सह–सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र विभागीय महानिर्देशक रामकुमार श्रेष्ठले आयोजनाले स्थानीय बासिन्दाको स्वास्थ्य र जीवनस्तरमा ठुलो सुधार ल्याउने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी तथा बासिन्दाको व्यापक उपस्थिति रहेको थियो ।











