
फिल्म ‘द्रौपती’ले खासै व्यापार गरेन । तर, जतिले फिल्म हेरे, ‘राम्रै’ भने अर्थात् फिल्म रुचाए । जसका कारण कलाकारले चर्चा पाए । ‘द्रौपती’मा अभिनय गरेपछि चर्चामा आएकी कलाकार हुन्, सुजाता तिमल्सिना । उनी भन्छिन्, ‘फिल्म राम्रै बनेको छ । तैपनि सोचेजस्तो हुन सकेन ।’ मोडलिङ हुँदै ‘द्रौपती’मार्फत अभिनेत्रीमा डेब्यू गरेकी सुजताले पहिलो फिल्मबाटै प्रशंसा बटुल्न सफल भएकी छिन् । अभिनेत्री सुजाता तिमल्सिनासँग जम्काभेटः–
पहिलो फिल्म ‘द्रौपती’बाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
‘द्रौपती’ भर्खरै रिलिज भएको हो । उक्त फिल्मबाट मैले एकदमै राम्रो प्रतिक्रिया पाएँ । अझै राम्रो गर्न सक्छौँ भन्नेहरू धेरै छन् । खासगरी मेरो कामको चलचित्रकर्मीले तारिफ गरेका छन् । जसले गर्दा मलाई नयाँ काम गर्न ऊर्जा र हौसला थपिएको छ । ‘द्रौपती’ले नेपाल–अफ्रिका इन्टरनेश्नल फिल्म फेस्टिवल’मा स्पेशल अवार्ड पाएको छ भने अन्य विभिन्न इन्टरनेशनल फिल्म फेस्टिवलहरूमा पनि छनोट भएको छ । अब यो फिल्म जेठमा जापान र युरोपमा प्रदर्शन हुँदैछ ।
तर, ‘द्रौपती’ सोचेजस्तो चलेन भन्छन् नि ?
फिल्म नचलेको चाहिँ होइन, जति चल्नुपर्ने थियो, त्योअनुरुप नचलेको हो । ‘द्रौपती’ दुई हप्ता राम्रो चल्यो । यसलाई राम्रै मान्नुपर्छ । किनकि, फिल्म क्षेत्रमा प्रतिस्पर्धा नै धेरै छ ।
फिल्महरू प्रदर्शनअगाडि जति चर्चा हुन्छ, हलमा गएपछि चल्दैन किन ?
काम गर्दा सबैले इमानदारिताका साथ गरेको हुन्छ । मिहेनत गरेअनुसार फिल्म चल्छ, राम्रो हुन्छ भन्ने सबैको आशा हुन्छ । त्यतिमात्र नभएर सोचेभन्दा बढी सफलता अपेक्षा गरिन्छ । तर, काम गर्दै जाँदा कता–कता कमजोरी भइदिन्छ । फिल्म राम्रो बने पनि दर्शक हलसम्म पुग्दैनन, कतै फिल्म राम्रो भएर पनि प्रचारप्रसारको कमीले चल्दैन । विडम्बना यो छ कि, केही फिल्म गीतकै भरमा हिट भएका हुन्छन् । फिल्म चल्न पनि भाग्य चाहिन्छ ।
‘द्रौपती’ नारीप्रधान अर्थात् महिला सशक्तिकरणबारे छ । फिल्ममार्फत महिला हिंसा नियन्त्रण सम्भव छ ?
फिल्म पनि एउट सशक्त माध्यम हो, जसबाट समाजमा परिवर्तन ल्याउन धेरै कुरामा सघाउ पु¥याएको छ । त्यसैले फिल्ममार्फत नारीका आवाज बुलुन्द गर्दा महिला सशक्तिकरणमा मद्दत पुग्छ नै । अहिले पनि नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण पुरानै शैलीको छ । पुरुषविना संसार चल्दैन भन्ने पुरातन सोचका कारण पनि महिला हिंसा अन्त्य हुन नसकेको जस्तो लाग्छ । महिला हिंसा नियन्त्रणका लागि हामी र समाज आफैँ सचेत हुनुपर्छ ।
‘द्रौपत’मा कसरी छानिनुभयो ?
मैल अडिसन दिएरै गएको हो । चार सयभन्दा बढी प्रतिस्पर्धीहरू थिए, जसमा म भाग्यमानी भएँ । अडिसनमा मलाई गाउँकै कुनै क्यारेक्टर गर्ने मौका दिइएको थियो ।
पहिलो फिल्मबाट पारिश्रमिक कति पाउनुभयो ?
त्यो त भन्न मिल्दैन । तर चित्त बुझेको थियो । खुसी थिएँ ।
निर्माता\निर्देशकले कलाकारलाई पारिश्रमिकमा झुलाउँछ हो ?
चोट नपाइकन घाउ दुख्यो त भनेनन् होला । पक्कै पीडा पाएकाले नै यस्ता कुरा भनेको हुन सक्छ । तर, मलाई चाहिँ अहिलेसम्म कसैले झुलाएको छैन ।
फिल्मतिर कसरी लाग्नुभयो ?
मेरो सानैदेखि पब्लिक फिगर भएर चिनिने रहर थियो । तर, परिवारमा बाबाले सहजै यस क्षेत्रमा आउन दिनुभएन । बल्ल कन्भिन्स गराएर आरभी मुभिजमा आर्टससम्बन्धी टेनिङ लिएँ । त्यसपछि म्युजिक भिडियो, बिज्ञापन र टेलिसिरियलमा काम गर्न थालेँ । एउटा सिरियलबाट मैले अवार्ड पनि पाएकी थिएँ । म मोडलिङमार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी हुँ ।
तपाईँको बाबालाई फिल्म क्षेत्र मन नपर्नुको कारण के थियो ?
त्यो त बाबालाई नै थाहा होला । तर, बाबाले मलाई राम्ररी पढ अनि राम्रो जागिर खाऊँ भनिरहनु हुन्छ । फिल्मतिर उहाँको झुकाब कम छ ।
कलाकार भएपछि तपाईँका आफन्त–साथीभाइले हेर्ने नजर कस्तो पाउनुभयो ?
साथीभाइबाट राम्रो रेस्पोन्स पाइरहेकी छु । ममी, बाबा, दिदीबहिनी पनि खुसी नै हुनुहुन्छ । सबैले ‘अझ राम्रो काम गर’ भन्नुहुन्छ ।
पछिल्लो समय कला क्षेत्रमा तपाईँजस्ता नयाँ कलाकारको धमाधम आगमन भइरहेको छ । यो भिडमा जम्न सक्छु भन्ने तपाइँ के आधार छ ?
म प्रयास गरिरहेको छु । मेरो कामको सुरुवात भइरहेको छ । अरू कलाकार जस्तै म पनि आफ्नो भाग्य परीक्षण गरिरहेको छु । हेरौँ, मलाई यस क्षेत्रले कहाँसम्म पु¥याउँछ । म पनि कलाकारितामा केही गरौँ भनेर लागेकी हुँ । यो क्षेत्रबाट नाम, दाम कमाऊँ भनेरै आएको हुँ । यतिखेर सबैको साथ र स्पोर्टको खाँचो छ ।
कलाकारिताबाहेक अरू के काम गर्नुहुन्छ ?
अहिले त कलाकारितामै फोकस गरेकी छु । अरू प्रोजेक्टहरूमा पनि कामका लागि अफरहरू आएका छन् । हेर्दै छु । काम धेरै आए हुन्थ्यो जस्तो लाग्छ । काम गर्ने अवसर पाएँ भने सशक्त मिहेनत गर्नेछु । धेरैभन्दा धेरै काम गरेर नाम कमाउने मेरो चाहना छ ।