Logo
Logo

बलिउडमा मेरो कोही ‘गडफादर’ छैन- सभ्यता गिरी, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


भारतको फिल्म नगरी बलिउडमा संघर्षरत मोडल तथा अभिनेत्री सभ्यता गिरी अहिले काठमाडौंमा छिन् । कोरोनाभाइरस संक्रमण त्रासदीसँगै ‘लकडाउन’का कारण बलिउड फिल्मी नगरी ठप्प भएपछि मुम्बईमै बस्दै आएकी सभ्यता १७ दिन अघिमात्रै यहाँ आएकी हुन् । विश्व स्वाथ्य संगठनको नियमअनुसार १४ दिन होम क्वारिन्टनमा बसेकी सभ्यताले भनिन्, ‘अब केही दिनमै काममा लाग्दैछु ।’ पाँच वर्षयता मुम्बईमा संघर्षरत सभ्यताले बलिउडको थुप्रै टिभी विज्ञापन र टेलिसिरियलहरुमा अभिनय गरिसकेकी छन् । ‘कलर्स’ र ‘लाइफ ओके’जस्ता भारतीय टेलिभिजन च्यानलबाट प्रसारित ‘सावित्रीदेवी कलेज एण्ड हस्पिटल’, ‘सावधानी इण्डिया’, ‘क्राइम पेट्रोल’लगायतका सिरीरियलहरुमा अभिनय गरिसकेकी सभ्यता भन्छिन्, ‘मिहिनेत, आत्मविश्वास र धैर्यता भए जहाँ पनि सफलता पाउन सकिन्छ ।’ बलिउडमै उज्ज्वल भविष्यको लक्ष्य कोर्न थालेकी सभ्यताले काठमाडौ हुँदै कलाकारिता प्रारम्भ गरेकी हुन् । विज्ञापन, म्युजिक भिडियो र नेपाली फिल्ममा काम गरिरहेकै बेला बलिउड हानिएकी अभिनेत्री गिरीसँग काठमाडौंमा एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

म मुम्बईबाट काठमाडौं आएको १७ दिनमात्रै हुँदैछ । मुम्बईमा लकडाउनका कारण नयाँ काम भएको छैन । भइरहेको काम पनि रोकिएको छ । त्यसैले काठमाडौं आएकी हुँ । मुम्बईबाट यहाँ आएपछि १४ दिन होम क्वारेन्टिनमै बित्यो । १५औँ दिनमा म्युजिक भिडियो सुटिङका लागि इलाम जाने कुरा थियो । तर, केही दिनमा मात्रै जाउँ भनेर बसेकी छु ।

बलिउडसम्म कसरी पुग्नुभयो ?

काठमाडौंमा हुँदै म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङ गर्दै आएकी थिएँ । काम गर्दागर्दै आफूलाई अभिनयमा परिपक्व बनाउनुपर्छ भन्ने लागेर एक्टिङ सिक्न मुम्बई गएकी हुँ । त्यहाँ गएपछि ‘केएण्डके एक्टिङ एकेडेमी’मा भर्ना भएँ । त्यहाँ अभिनय सिक्दासिक्दै केही टिभी एड र म्युजिक भिडियोहरुका लागि अडिसन दिने अवसर पाएँ । अडिसनमा पास पनि भएँ । त्यसपछि पनि मैले थिएटर ‘जोइ’न गरेँ । अभिनयमात्र जानेर नहुने रहेछ, हिन्दी भाषा पनि जान्न आवश्यक भएकाले ‘थिएटर जोइन’ गरेकी हुँ ।

थिएटर जोइन गरेपछि काम गर्न सहज भयो ?

अँ, त्यसपछि धेरै अफरहरु पनि आउन थाल्यो । फेस्टिभल मूभि, वेभ सिरीज, शर्ट फिल्म र विज्ञापनहरुमा अभिनय गर्न अवसर पाएँ । त्यस्तै त्यहाँको राम्रा टेलिसिरियलहरुमा काम गर्ने अवसर पाएँ । ‘कर्लस’ टिभीको ‘सावित्रीदेवी कलेज एण्ड हस्पिटल’, ‘सावधानी इण्डिया’, ‘पेट्रोल क्राइम’, ‘तुम विना जिना जाएन’जस्ता सियिलहरुमा काम गर्ने अवसर पाएँ । यो मेरो लागि खुसीको कुरा हो ।

मुम्बईमा संघर्ष गर्न थाल्नुभएको कति भयो ?

संघर्ष भन्दा पनि म सिक्नका लागि गएकी हुँ । मुम्बई गएको पाँच वर्ष भयो । तर, त्यसबीचमा एकपटक काठमाडौं आएकी थिएँ । यहाँ नेपाली फिल्म ‘यो माया कस्तो माया’मा काम गरेँ । त्यही समयमा आफ्नै प्रोडक्शन ‘हाउस सभ्यता इन्टरटेनमेन्ट’ कम्पनी दर्ता गरेकी छु । यो कम्पनीबाट अहिले विज्ञापन र भिडियोहरुको काम गर्दै आएकी छु ।

संघर्षको कुरा गर्दा, नेपाल र बलिउडमा के फरक छ ?

नेपालमा मैले संघर्ष गर्नु परेन । डान्स सिक्दासिक्दै विज्ञापन र मोडलिङमा काम पाएँ । त्यहीबेला आफू परिपक्व हुन आवश्यक छ भन्ने लागेर मुम्बई गएकी हुँ । बलिउडमा ठूलो नगरी हो । प्रतिस्पर्धा पनि उस्तै छ । दुई÷तीन सयजनाको बीचमा अडिसन दिनुपर्छ । त्यहीअनुसार पारिश्रमिक पनि राम्रै पाइन्छ । एउटा भिडियोमा काम गरेपछि ६ महिना काम नगरी बसेर खान पुग्छ । तर, नेपालमा त्यो अवस्था छैन । मिहिनेतचाहिँ गर्न सक्नुपर्छ ।

बलिउडमा काम पाउन ‘गडफादर’ चाहिन्छ भन्छन् नि ?

हो, अहिले बहस पनि त्यही विषयमा चर्किएको छ । तर, गडफादर भयो भने एउटा फिल्म त सजिलै पाउन सकिन्छ । आफूमा कला र प्रतिभा भएन भनेचाहिँ गडफादर भएको पनि काम छैन । मेरो गडफादर छैन । म परिवारमा समेत कलाकारितामा एक्लो हुँ । म आफ्नै कला, प्रतिभा र इच्छाले यो क्षेत्रमा छु ।

मुम्बई कहिले फर्किनुहुन्छ ?

सामान्य अवस्था आएपछि जानुपर्ला । भइरहेका कामहरु रोकिएका छन् । त्यसैले जानुपर्छ । तर, अहिले त फिल्म छायाँकन रोकिएको छ । मेरो पछिल्लो समय रिलिज भएको भिडियोबाट राम्रो रेश्पोन्स आइरहेको छ । नयाँ कामहरुका लागि पनि कुरा भइरहेको छ । त्यसैले चाँडै जानुपर्ला ।

तपाइँको सपना बलिउडमै स्थापित हुने हो ?

त्यो त अवश्य हुन्छ । हरेक काम गर्दा सफलता ताकेर गरिन्छ । म १६ वर्षकै उमेरदेखि कलाकारितामा छु । सुरुमा मेरो लक्ष्य र सपना विजनेश पर्सन बन्ने थियो । तर, अहिले आएर यही क्षेत्रमा आफ्नो पहिचान बनाउने लक्ष्य लिएकी छु । त्यसमा विस्वस्त पनि छु । हेरौँ, काम गर्दै जाउँ ।

प्रतिक्रिया दिनुहोस्