Logo
Logo
टिप्पणी

‘अरिँगाल दस्ता’का मुखियाले खोजेको सभ्यता


उमेश बन्जाडे

4.1k
Shares

‘कतिसम्म गाली गर्न सकेको ? नानाथरि आरोप लगाएर सराप्नुभन्दा बरु कतै छ भने मलाई बोक्सी लगाइदिए हुन्छ’ यो सुन्दै घिनलाग्दो र निकै तल्लो दर्जाको भनाइ हाम्रै देशका प्रधानमन्त्रीको हो ।

एउटा गणतान्त्रिक मुलुकको कम्युनिष्ट प्रधानमन्त्रीले वरिपरि पत्रकार र बुद्धिजीवी राखेर हाकाहाकी यस्तो भन्न मिल्छ ? समाजका रुढिगत परम्परा र अन्धविश्वास हटाएर उन्नत चेतनाको विकास गर्नुपर्ने जिम्मेवारी बोकेको माक्र्सवादी पार्टीको नेतृत्व गर्ने मुखियाको हैसियत यही हुन्छ ?

सार्वजनिक मञ्चमा उभिएर ‘देशको प्रहरी प्रमुखको जिब्रो थुतिदिन्थे’ भन्ने माननीय पृथ्वीसुब्बा गुरुङ एमालेकै नेता हुन् । उनी नेतामात्र होइनन्, बहालवाला सञ्चारमन्त्री पनि हुन् । मन्त्री हुँ भन्दैमा समग्र देशको शान्ति सुरक्षाको नेतृत्व गर्ने प्रहरी प्रमुखलाई यति तल्लोस्तरमा झरेर सार्वजनिक मञ्चबाट मुख छाड्न मिल्छ ? सर्लक्क पारेर सारी उचालेपछि केपी ओलीले सांसद पद दिन्छन्’ भन्ने अभिव्यक्ति दिएका रघुजी पन्तले ओलीबाटै उपहारमा शिक्षामन्त्री पाए । एमालेकै केन्द्रीय नेताहरु महेश बस्नेत र ऐन महरले महिलामाथि गरेका हिंसाका सिलसिलाहरू वर्षौँदेखि सामाजिक सञ्जालका हरेक कुनामा छरपस्ट छन् ।

यद्यपि एमाले भएकै कारण उनीहरुमाथि कसैले कारबाही गर्न सकेको छैन । के एमाले पार्टीको नेता भएकैले लैङ्गिक हिंसामामा संलग्न बस्नेत र महरलाई कानुन नलाग्ने हो ? कानुनी कठघरामा उभ्याउनु त परैको कुरो, उल्टो उनीहरुले लोकलाई सभ्यता र संस्कारका उपदेश दिँदै हिँडेका छन् । हुन त कञ्चनपुरकी बालिका निर्मला पन्तको (बलात्कारपछि हत्या) हत्यारासम्मलाई पालनपोषण गर्न सक्ने पार्टीले महेश बस्नेत र ऐन महरहरूको संरक्षण गर्नु कुनचाहिँ अनौठो भयो र ?

‘शिक्षकहरुको माग पूरा गर्नुपर्छ’ भन्दा विद्या भट्टराईले राजीनामा दिनुप¥यो । ‘कुलमानको रक्षा गर्न खोज्दा’ कान्छाराम तामाङ बर्खास्त हुनुप¥यो । विचारकै आधारमा अरुलाई निन्दा र गाली गर्ने मान्छेसँग खासमा कुनै विचार हुँदैन । मात्रै कुण्ठा हुन्छ । निन्दा र गालीले उसको बजार चल्छ ।

यही गालीगलौज र उश्रृखल गतिविधिलाई मार्गदर्शनको रुपमा अंगालेको एमालेले अरुबाट सभ्यता र सुसंस्कारको अपेक्षा गर्नु पनि एउटा गतिलो मजाक हो । यी सभ्यताका परिभाषकहरुको नजरमा पानी ट्यांकीमा पैसा नभर्ने, महाकाली नबेच्ने, ललितानिवास नपचाउने, यती, ओम्नीको कमिसन ननिल्ने, आफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाएर नबेच्ने र नारायणहिटीमा ‘बतास’ नउडाउने सबै असभ्य र देशघाती हुन् ।

समृद्धिको लालटिन खोज्न आन्दोलनमा गोली निलेकाहरु फगत बुद्धि नासिएका हुन् । बरु ठमेलमा प्रहरी कुट्ने, बेलुन पड्किँदा घाइते भएका आफ्नै पार्टीका जिउँदै मन्त्री तथा नेताहरुलाई संसद् भवनमै श्रद्धाञ्जली दिने, प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारकै बलेनीमा हिटलरको संज्ञा दिने आदि सबै भोलिको सभ्य समाजका परिकल्पनाकार हुन् ।

वास्तवमा, असभ्य र विवादास्पद गतिविधिहरूले एमाले नेताहरूलाई चुनौती दिइरहेको छ । अझै उल्टो यिनीहरुले ‘समाज अराजकतातिर गयो’ भनी चित्त दुखाउँछन् । यिनीका कर्तुतहरुको भण्डाफोर गर्दा असभ्यता झल्कियो । यिनले अनाहकमा देशमाथि थोपरेको बेथितिका विरुद्ध जनस्तरबाट खबरदारी हुँदा एमालेका आँखाले अराजकता देख्यो भने देखिरहोस् । यसले लोकलाई केही फरक पर्दैन ।

स्मरण रहोस्, सामाजिक सञ्जालमा विपक्षीका विरुद्ध जाइलाग्नु भन्दै अरिंगाल दस्ताको घोषणा गर्ने पनि ओली नै हो । केपी ओलीकै उर्दीमा भए÷नभएका नामबाट फेसबुक एकाउन्ट खोलेर विपक्षीप्रति तथानाम गाली– बेइज्जती गर्ने लबस्तराहरु अझै पनि सामाजिक सञ्जालमा सक्रिय छन् । न उनीहरुसँग कुनै विचार छ, न त प्रासंगिक तथ्यमा टेकेर तर्क गर्न सक्ने ज्ञान ।

खाली अपशब्द, उत्तेजना र घृणित सोचको भारी बोकेर हिँडिरहेका यी बुद्धिबुंगाहरु एमालेकै बारीमा उत्पादन भएका फसल हुन् । विडम्बना, अहिले यो रोग अन्य दल र समूहका समर्थक एवं कार्यकर्तामा पनि सल्किँदै गएको छ । आफ्नो अरिंगाल दस्तालाई विशेषगरी सामाजिक सञ्जालको दुरुपयोग गरी दुर्गन्धित बनाउन प्रशिक्षण दिएको एमाले र त्यसमा कटिबद्ध भएर लागिपरेका उसका कार्यकर्ताकै कारण फेसबुक, ट्वीटर र टिकटकहरु हेरिसक्नु छैनन् । बाहिरी मुलुकहरू सामाजिक सञ्जाल र आधुनिक प्रविधिको प्रयोगमार्फत युवाहरूलाई नयाँ–नयाँ खोज र अनुसन्धानमा लगाउँछन् ।

हाम्रो मुलुकमा भने भिन्न विचार र आस्थाको वकालत गर्नेका विरुद्ध दाह्रा किटेर जाइलाग्न सिकाइन्छ । विपक्षीका विरुद्ध जति धेरै गाली र अश्लील शब्दहरुको ओइरो लगाउन सक्यो ऊ त्यति नै सालिन् र महान् कहलाउँछ । ज्ञान मूल्यांकनको यो विधि र पद्धतिलाई निर्धक्कसाथ हुर्काउनेहरु नै आज सभ्यताको वर्णन गरिरहेका छन् ।

सर्वप्रथम त एमालेकै सर्वोच्च कमान्डर केपी ओली अपशब्द र उश्रृंखलताका भकारी हुन् भन्ने मानेमा लोक जानकार नै छ । उदाहरण स्वरुप केही उनकै शब्दावलीमाथि उल्लेख गरिएको छ । एउटा कम्युनिष्ट पार्टीको अध्यक्षमात्रै नभएर देशको प्रधानमन्त्री जस्तो सम्मानित पदमा पटकपटक बसेको व्यक्तिलाई आफ्नो मत्लब नभए पनि त्यो पद र कुर्सीको गरिमा थाहा हुनुपर्छ कि नाइँ ?

कतै सवारीसाधनहरु दुर्घटना हुँदा अलच्छिनाहरुले गर्दा भन्ने, कतै भवितव्य आइपर्दा अधर्मीहरुको कारण भन्ने, कतै भूतप्रेत र किच्कन्याका कथा सुनाउने त कतै आफैँ बोक्सी आफैँ झाँक्री बन्न खोज्ने । आफूले समाजलाई अनेकथरि भ्रम र अफवाह पढाएर आक्रोशित र भ्रमित तुल्याउने, अनि समाजले ठ्याक्कै त्यही पैंचो फर्काउँदा असभ्य र अराजकता देख्ने ? आखिर कुन लोकमा गएर खोज्ने हो सभ्यताको परिभाषा ?

यसर्थ– बेथिति र महामारी जति आफ्नै आँगनमा पालेर सिङ्गो समाजप्रति तुच्छता प्रकट गर्दै हिँड्ने छुट कसैलाई छ भने त्यो सभ्यताको परिभाषक एमालेलाई नै होला है ? आज आफैँले रोपेर फलाएको अराजकता आफैँलाई भारी पर्दै गएको छ । त्यसैले कहिले फेसबुक बन्द गर्ने त कहिले वाक स्वतन्त्रतालाई बन्धक बनाउने उद्देश्यले सरकारविरुद्ध लेख्ने–बोल्नेहरुलाई कारबाही गर्ने धम्की दिँदै हिँड्न थालेका छन् । वास्तवमा भन्ने हो भने अभिव्यक्ति स्वतन्त्रता भनेको लोकतन्त्रको आत्मा हो । त्यसलाई कसरी अभिव्यक्त गर्ने भन्ने कुरो व्यक्तिको क्षमता र ज्ञानमा आधारित हुन जान्छ ।

प्रधानमन्त्री ओलीले जस्तै तुच्छ र खेदजनक अभिव्यक्ति दिने कि शिष्ट एवं मर्यादित भएर सुन्दर समाज निर्माणका लागि गौरवान्वित शब्द चयन गर्ने ? त्यो अहिलेको अवस्थामा एमालेले सिकाएको फिटिक्कै सुहाउँदो होइन । स्मरण रहोस्– आफू ‘बेथिति र अराजकतातिरै मच्चिनुपर्ने अनि आमनागरिकचाहिँ तुरुन्तै सच्चिनुपर्ने’ भन्ने अहंकारी बुझाइले समाजलाई अझै धेरै असभ्य र अराजक बनाउन सहयोग गरिरहेको छ ।

-लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्