काठमाडौं । पाकिस्तानी सेनाले मंगलबार कश्मिरको नियन्त्रण रेखा नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको दाबी गरेको छ। पहालगाम आक्रमणपछि चर्किएको तनावबिच यो घटना भएको हो ।

पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमहरूले मनावर सेक्टर, भिम्बर जिल्लामा भारतीय ड्रोनले निगरानीको प्रयास गरेको र त्यसलाई पाकिस्तानी सेनाले समयमै कारबाही गर्दै खसाल्न सफल भएको उल्लेख गरेका छन् । रेडियो पाकिस्तान र पीटीभी न्यूजले सरकारी सुरक्षास्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन् ।
सुरक्षा स्रोतले यो घटना पाकिस्तानी सेनाको सतर्कता, पेसागत क्षमता र सुरक्षात्मक तयारीको स्पष्ट प्रमाण भएको बताएका छन्। ‘पाकिस्तानी सेना शत्रुको कुनै पनि आक्रमणको तुरुन्त र प्रभावकारी जवाफ दिन सधैँ तयार छ,’ समाचारमा भनिएको छ।
यो घटनासँगै पछिल्लो पाँच रातदेखि नियन्त्रण रेखामा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भइरहेको छ । यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतबाट सम्भावित आक्रमणको आशंका व्यक्त गर्दै पाकिस्तान तयार रहेको बताएका छन् ।
उनले रोयटर्सलाई भने, ‘हामीले सेना बलियो बनाएका छौं, किनभने अवस्था गम्भीर देखिएको छ। त्यसैअनुसार रणनीतिक निर्णयहरू भइसकेका छन् ।’
एक टीभीसँगको अन्तर्वार्तामा उनले ‘युद्धको खतरा क्षितिजमा देखिन थालिसकेको’ चेतावनी दिए । उनले जिओ न्यूजसँग भने, ‘आउँदो दुई–तीन दिन निर्णायक हुनेछन् ।’
गत २२ अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक थिए । यो सन् २००० यताकै कश्मिर क्षेत्रमा भएको सबैभन्दा घातक हमला मानिएको छ । सुरुमा जिम्मेवारी लिएको ‘कश्मिर रेसिस्टेन्स’ समूहले पछि भने स्पष्ट रूपमा आक्रमणमा संलग्नता अस्वीकार गरेको छ ।
भारतले यो आक्रमणमा सीमा पारको संलग्नता देखाएको छ भने पाकिस्तानले यसको कडा खण्डन गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक निष्पक्ष छानबिनको माग गरेका छन् ।