काठमाडौं । विभिन्न कम्युनिष्ट पार्टीहरूले नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवस छुट्टाछुट्टै रूपमा मनाएका छन् । सबै किसिमका वर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिको उद्देश्यले २००६ सालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
७६ वर्षमा अनेक ठक्कर खाँदै नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको छ । उचाइ हासिल गर्दै गरेको नेपाली कम्युनिष्ट आन्दोलन नेताहरूको अहंताका कारण छिन्नभिन्न छ । जनमत कम्युनिष्ट पार्टीहरूको पक्षमा देखिए पनि विभिन्न गुट, उपगुटमा विभाजित कम्युनिष्ट पार्टीले जनचाहना अनुरूप काम गर्न सकेको छैन ।

पटक-पटक कम्युनिष्ट नेताले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि आम जनताले प्रतिफल लिन सकेका छैनन् । विकृति, विसङ्गति, भ्रष्टाचार र विचौलियाको दलदलमा सरकार फस्दै गएको छ ।
नैतिकता, इमानदारिता, जनसेवा कम्युनिष्ट आन्दोलनको मर्म हो । कम्युनिष्ट आन्दोलनमा लागेकै कारण धेरैले साहदत प्राप्त गरेका छन् । कतिपय अंगभंग भएका छन् भने कतिपय बेपत्ता छन् ।
प्रधानमन्त्री–मन्त्रीहरूले ति सहिद, घाइते र बेपत्ता योद्धाको रगत, पसिनाको अवमुल्यान र आमजनतामाथि विश्वासघात गरेका छन् । यही कारण लोकप्रिय र आम श्रमजीवी जनताको आशा र भरोसको केन्द्र कम्युनिस्ट आन्दोलन बिस्तारै विचलित हुँदै छ ।
जनताको विश्वासको धरोहर टुट्दै गएको छ । शिक्षकको जगमा स्थापित हिजोको मालेकालीन कम्युनिष्ट नेताहरू आज शिक्षक आन्दोलन दबाउँदै छन् । करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनमा सरकारको दमनले विद्रोहमा परिणत हुने खतरा बढ्दै छ ।
शिक्षक आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोडेर शिक्षाको गुणस्तरमा अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली खिसीटिउरी गर्दै छन् । शिक्षकका माग सम्बोधन गर्न बुँदा तयार पारेकी शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिन बाध्य हुनुप¥यो । द्वन्दात्मक भौतिकवादी दर्शन, विचार, दृष्टिकोण र नीति एकादेशको कथा बनेको छ ।
देशमा अहिले पनि कम्युनिष्ट जनमत धेरै छ । तर, कम्युनिष्ट पार्टीहरू विभाजित छन् । २०७४ को निर्वाचनमा दुई तिहाइ जितेको कम्युनिष्ट आन्दोलन हाल रक्षात्मक अवस्थामा पुगेको छ । एमाले अध्यक्ष ओलीले असंवैधानिक रूपमा दुई दुई पटक संसद् भंग गरेपछि कम्युनिष्ट आन्दोलनले धक्का खान पुगेको हो ।
ओलीमा रहेको व्यक्तिवाद र अहम्ले कम्युनिष्ट आन्दोलनलाई ठुलो क्षति पु¥याइरहेको छ । ओलीले कम्युनिष्ट आन्दोलनमा विकृति भित्र्याएका छन् । आमजनताले अनभूति गर्ने मात्रै होइन, सत्तारुढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्रीलाई बिचौलियाले चलाइरहेको छ । जसका कारण मुलुकमा विकृति, विसङ्गति र भ्रष्टाचार बढेको छ । जनताले सुशासनको अनूभूति गर्न पाएका छैनन् । ओली कम्युनिष्ट आन्दोलनमा ‘काउसो’ बनेका छन् । ओलीको आलोचना गर्नेहरू एमालेमा ‘भीम रावल’ जसरी नै निष्कासित हुनुपर्ने अवस्था विद्यमान छ ।
सात दशक कटिसकेका ओलीले आफू बुढो नभएको र अस्वास्थ्य नरहेको भन्दै अझै २५ वर्ष एमालेको नेतृत्व गर्ने दाबी वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापनाकै दिन गरे । उनले अरू नेतालाई हतार नगर्न चेतावनी दिएर आफू नसच्चिएको सन्देश पनि दिए ।
आफूविनाको एमाले कल्पना नगर्न चुनौती पनि दिए । तर, ओलीका सुगा रटाइ भाषण र उखान टुक्काबाट कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन । ओलीका गतिविधि कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने खालका छन् ।
सरकारमा बसेर ओलीले बिचौलिया र भ्रष्टाचारीको पक्षपोषण गरेकै कारण आज जनआक्रोश बढ्दो छ । इमानदार र अब्बल कर्मचारी सरकारको नजरमा अपराधी बन्नुपर्ने विडम्बना छ ।
कम्युनिष्टले ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ । तथ्यमा टेकेर सत्यमा पुग्नुपर्छ । समस्याको गम्भीर अध्ययन, ठोस विश्लेषण र संश्लेषणको आधारमा रूपान्तरित हुँदै अगाडि बढ्नुपर्छ । तर, ओली आजको युगमा पनि ‘दासप्रथा’ खोज्दै छन् ।
ओलीले एमालेलाई बोल्न नसक्ने ‘जिउँदो लास’हरूको पार्टी बनाउँदै छन् । कम्युनिष्ट पार्टीमा अरूको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने हुनुपर्छ । माक्र्स र एंगेल्सलाई समकालीनहरूले गरेका विभिन्न आलोचनाहरूबाट उनीहरूले सही शिक्षा लिने गरेका थिए ।
त्यो कालखण्डमा आजको जस्तो कम्युनिस्ट आन्दोलनमा कुनै जालझेल र षडयन्त्रहरूको गन्ध थिएन । माक्र्सवादी नेता कार्यकर्ताहरू पारदर्शी, इमानदार र जनताप्रति समर्पित हुनुपर्छ । दलाल, बिचौलिया र भ्रष्टको संरक्षण गर्ने व्यक्ति कम्युनिष्ट हुनै सक्दैन । जालझेल र षडयन्त्रको राजनीति लामो हुँदैन ।
विगतबाट शिक्षा लिँदै फेरि एकपटक कम्युनिस्ट नैतिकता, निष्ठा, इमानदारीता, आचरण र व्यवहारको जगमा कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्दै अघि बढ्ने संकल्प गर्नुपर्ने बेला आएको छ । जसबाट मात्रै मजदुर, किसान र विपन्न वर्गले राहतको अनुभूति गर्न सक्छन् ।