योकोहामामा जहाजबाट बाहिर निस्कँदा मेरा प्रिय साथीहरु मलाई लिन पर्खिरहेका थिए । निशिकावाले मलाई आफ्नो न्यानो अँगालोमा बाँध्दा आफ्नै आमालाई भेटेजस्तो लाग्यो । एकजना साथीलाई त्यसै ‘आमा’सँग दाँजेकी होइन । हामीकहाँ मातातीर्थ औँसी भर्खरै बित्यो ।

आमा भएका र बितिसकेका धेरैले आमाको महत्व अनुभव गरेको बेला हो यो । आमाकै रक्त पिण्डबाट हुर्केको शरीरमा रहेका हामी आमालाई कहिले बिर्सन सक्छौँ र ! आफूलाई जन्म दिने आमालाई बेस्सरी सम्झिरहेको बेला यी पंक्तिहरु लेखिरहँदा एकातिर आमाको सम्झना आइरहेको छ र अर्कोतिर आफूभन्दा अलिकति पाकी ती मायालु साथीको न्यानो व्यवहारलाई सम्झिरहेकी छु ।
सन् १९९१ को मार्च १२ को कुरा हो यो । उनीले योकोहोमाको पोर्टमा मलाई अँगालो मारेको दिन संयोगले मेरो जन्मदिन परेको थियो । जापानको भूमिमा पाइला राखेको दिन मेरो जीवनमा एउटा नयाँ अध्याय थपिँदै थियो ।
त्यो बेला अहिलेजति विकसित नभइसकेको घना शाङ्हाइबाट जापान पुग्दा टाइम टनेलबाट एकैचोटी भविष्यको जगतमा प्रवेश गरेझैँ भएको थियो । साथीहरुबीच सामान्य कुशलक्षेम सोधासोध भएपछि योकोहामाको एउटा कफी पसलमा पस्यौं ।
सफासुघर सभ्य सडकबाट कफी पसलमा पुग्दा मलाई १०० वर्षपछिको संसारमा पुगेजस्तो अनुभव भयो । मेरो देशसँग त केही कुरामा पनि तुलना गर्न मिल्ने अवस्था थिएन, त्यो बेलाको त चीनसँग पनि तुलना गर्न अझै नसकिने अवस्था थियो । त्यो बेलाको चीन अहिलेजस्तो विकसित भइसकेको थिएन ।
म एकजना बच्चाझैं उत्सुक थिएँ । मेरो अभिभावकहरु थिए– निशिकावा र सुसुमु । उनीहरुले जहाँजहाँ लगे बच्चाझैँ पछ्याउँदै अगाडि बढिरहेँ । टोकियो पुगियो । अर्को एकजना साथीको घरमा लन्चको व्यवस्था मिलाएको रहेछ ।
एउटा अपार्टमेन्टमा बसेका व्यस्त साथी हामीलाई खाना खुवाएर तुरुन्तै अफिसको काममा लागि हालिन्– हामीलाई घरमै छोडेर । पाँच वर्षदेखि लगातार चिनियाँ खाना खाइरहेको मान्छेलाई जापानको खानेकुरा नौलो लाग्यो ।
पुगेकै दिन केही ठाउँ घुमाउँदै उनीहरुले सुसुमु आओकिको सानो आपार्टमेन्टमा लगे । ठाउँ सानो थियो । झकिझकाउ केही थिएन । उनी आफैँ पनि अत्यन्त सरल मान्छे– सरल जीवन उच्च विचारको एक नमूना थिए । वातावरणविद् र धेरै कुराको फराकिलो ज्ञान भएको अध्ययनशील मान्छे थिए उनी । मेरा सबै लेखहरुलाई जापानी भाषामा अनुवाद गरिदिएर जापानी पाठकसम्म पु¥याइदिने अनुवादक पनि उनै थिए ।
टोकियो पुगेकै दिन टोकियोका मान्छे र शहरको भव्यता देख्दा नुरिकोले भनेको कुराको याद आयो । उनले भनेकी थिइन्– “हामीलाई मात्र देखेर जापानको अनुमान गर्न मिल्दैन । टोकियो संसारकै महँगा ठाउँहरुमध्येमा पर्छ…” ।
त्यसो भन्दै जापानमा लगाउन भनेर मेरो सुटकेसमा त्यो ठाउँलाई सुहाउने आफ्नो कोटलगायत अरु लुगाहरु पनि राखिदिएकी थिइन् । अनि एउटा खाम पनि हातमा दिँदै भनेकी थिइन्– “त्यहाँ पुगेपछि मात्र हेर्नु” भनेर । उनले भने जस्तैगरी उनको त्यो खाम त्यहाँ पुगेपछि खोलेर हेरेँ । म निकैबेर भावुक भइरहेँ ।
मैले अनुमान गरेकी थिएँ त्यस खामभित्र केही पैसा पनि हुनुपर्छ भनेर । तर सोँचेभन्दा बढी ४० हजार येन रहेछ ! त्यही खाममा सानो नोट पनि थियो– “जापान महँगो ठाउँ हो । तिमीलाई आवश्यक पर्न सक्छ । भोकैचाहिँ नबस्नु है !” भनेर …
साथी ! अप्ठ्यारोमा साथ दिनेलाई भनिन्छ साथी । कति असल ! जोसँग मैले पैसाको उच्चारणसमेत गरेकी थिइनँ, उनले आफैँले मसँग पैसा पुग्छ कि पुग्दैन भनी चिन्ता लिएर आफैँले लगाउने गरेका राम्रा कपडाहरु मात्र राखिदिएकी हैन, पैसासमेत राखिदिएकी थिइन् ।
अचम्मको छ यो संसार पनि । कति थरि मान्छेहरु ! कोही पैसा माग्ला भनेर पहिल्यै पन्छिने, कोही भने आफूले भन्दा बढी वास्ता गर्ने ! धन्न जापानमा भएका अरु साथीहरु पनि मैले सोँचेको भन्दा अझै असल भएको कारण मैले त्यो पैसा कहिल्यै खर्च गर्नु परेन र कृतज्ञताका साथ सबै फिर्ता गर्न सकेँ । अहिले सम्झँदा अझै गर्व लाग्छ– साथीहरुको त्यो व्यवहार पाउन सकेकोमा ।
सुसुमुको कोठामा पुगेपछि उनी नै मेरो अर्को अविभावक भइसकेका थिए । उमेरले म भन्दा अलि सानो भए पनि बाबु जस्तो लाग्ने उनका व्यवहारले उत्तिक्कै भावुक बनायो मलाई । सुरुमै एउटा पर्समा थुप्रै क्वाइन राख्दै भने– “यहाँ रेल चढ्ने बेला टिकटको सट्टा कहीँकहीँ क्वाइन चाहिन्छ, यो राखि राख ।” म बच्चै जस्तो भएर खुसी हुँदै त्यो स्वीकार गरेँ । जापानको निम्ति मेरा अभिभावक भने पनि, ‘ट्राभल अर्गनाइजर’ भने पनि, ती दुईजना नै थिए– निशिकावा र सुसुमु । जे भन्थे, त्यही गर्थेँ ।
बेलुकी डिनरको बेला भयो । डिनर भन्दा अगाडि आफ्नै युनिभर्सिटीका अरु सहपाठी साथी पनि त्यहीँ आइपुगे । मेरो निम्ति एउटा ठूलो ’सरप्राइज’ पर्खिरहेको रहेछ । टेबलमा ठूलो केक राखे । बत्ती बाले । अनि “ह्याप्पी बर्थ डे टू सुलो !“ भने पछि मेरो आँखा सरर्र भिज्यो । म निःशब्द भएँ ।
मैले कहिल्यै कसैलाई १२ मार्च मेरो जन्मदिन भनेको सम्झना छैन । जिन्दगीमा कहिल्यै आफ्नो जन्मदिन मनाएकै थिएन । बच्चामा जन्मतिथिका दिन आमाले सगुन दिएको अलिअलि सम्झना छ । ‘क्रान्ति’को बाटोमा हिँडेपछि आफ्नो जन्मदिन पनि बिर्सिककेकी थिएँ ।
नागरिकता र पासपोर्टमा सीमित भएको जन्मदिनलाई जापान पुग्ने बेलातिरको समुद्रको छालले सम्झाएको थियो । आमाको गर्भमा नौ महिना र जापान जाने पानीजहाजमा तीन दिन बन्द हुँदा मेरो जन्म हुनु भन्दा अगाडिको अवस्थाबारे सोच्न पुगेकी थिएँ ।
जाहाजबाट बाहिर आउँदा मलाई लिन आएका साथीहरुले पनि केही भनेका थिएनन् । न्यानो स्वागतको भाषा मात्र प्रयोग भएको थियो । जहाजमा बस्दा कस्तो लाग्यो भनी पनि सोधेका थिए । सबै राम्रो भो, भनेर छोटो जवाफ दिएँ । सपनामा हिँडेजस्तै भएको थियो जापान पुगेको त्यो दिन । बच्चाको जस्तै मन उत्सुकताले खुसीले भरिएको थियो । जे पनि नौलो !
तर साथीहरुले त मेरो जन्मदिन नै मनाइदिने योजना बनाएका रहेछन् । मेरो जीवनमै त्यो पहिलो औपचारिक जन्म दिन थियो । र, म साँच्चैका साथीहरुसँग पहिलोपटक जन्मदिन मनाउँदै थिएँ– टोकियो पुगेकै दिन । जुन अविस्मरणीय भइदियो । कसरी बिर्सन सक्छु र ती साथीहरुलाई ?