Logo
Logo

महिनावारीको विद्रोह र नारीत्वको प्रभात


3.4k
Shares

मानव जीवन रहस्यमयी यात्रा हो, जहाँ हरेक पलले नयाँ अनुभव र परिवर्तन ल्याउँछ । यस्तै संवेदनशील र अर्थपूर्ण क्षण हो किशोरीको पहिलो महिनावारी । यो केवल शारीरिक परिवर्तन होइन, प्रकृतिको सृजन प्रक्रिया हो, जसले नारीत्वको गहन जिम्मेवारी र सौन्दर्यलाई झल्काउँछ ।

मेरो बाल्यकाल ओखलढुङ्गाको रमणीय वातावरणमा बित्यो– हाँस्दै, खेल्दै, बन जंगल डुल्दै । जब किशोरावस्थामा प्रवेश गरेँ, तब सुरु भयो नारी जीवनको नयाँ अध्याय । र, आज पनि ताजै छ–  महिनावारी हुँदाको पहिलो अनुभव । 

पुस महिनाको चिसो जाडो ! मुटुमा कुनै अपरिचित बादल मडारिएको थियो । बुझ्न नसकेको एक हल्का भारीपन । बिहान स्कुल जाने बेला अचानक शरीर बोल्यो, कुनै आवाजबिनाको भाषा । कुनै चेतावनीबिनाको स्पर्श । दुखाई पेटकै थियो । तर, अरुबेला भन्दा भिन्न । 

पेट दुख्नासाथ झट्ट दिमागमा आउँछ, ग्यास्ट्रिक । मैले पनि त्यही ठानेँ । त्यति वास्ता गरिनँ । स्कुल लागेँ । स्कुल छुट्टी हुनै लागेको थियो । शिक्षा विषयको कक्षा सकेर घर जानका लागि बाहिरिएँ । खुट्टामा चिसो महसुस भयो । जब ट्वाइलेट गएर हेरेँ, झसङ्ग भएँ– ला के भयो यो ? गोप्य अङ्गबाट रगत बगेको छ । सुरुवाल र भित्र लगाएको लुगा रक्ताम्मे छ ! म आत्तिएँ ।  

लाज र डरले साथीहरूलाई केही भन्न सकिनँ । अरूले रगत देख्छन् भनेर फ्रकले जतिसक्दो छोप्ने प्रयास गरेँ । हतारपतार घर आएर ममीलाई सुनाएँ । जब उहाँले सविस्तार भन्नु भयो । अनि बल्ल थाहा भयो– मलाई त महिनावारी पो भएको रहेछ । 

त्यो क्षणमा संसार केही सघन लाग्यो । बगैँचाको फूलहरू थोरै परायाजस्तो । खेल्ने आँगन केही टाढाजस्तो । आमाले ‘अब तँ पनि ठुली भइस्’ भनेपछि आफूलाई ऐनामा हेरेँ । अनुहार उस्तै थियो । आँखामा पनि कुनै नयाँ चमक थिएन । त्यो न हर्षको थियो, न शोक । त्यो केवल परिवर्तनको थियो । 

यो कुनै शारीरिक क्रिया मात्र थिएन । यो त प्रकृतिको एउटा नियम थियो । ममा सृष्टिको जरा पलाएको थियो । नारी अस्तित्वको आभास गरेकी थिएँ । तर विडम्बना यो एउटा डरलाग्दो विषय बन्यो । जब ममीले ‘यो कुरा कसैलाई नभन्नु’ भन्नुभयो ।  

त्यस बेला समाजै त्यस्तै थियो । पहिलो पटक महिनावारी हुँदा लुकेर बस्नुपर्ने । दाजुभाइ र बुबालाई हेर्न नहुने । नचोखिएसम्म घरको धुरीतिर आँखा लगाउन नहुने । मन्दिर जान नहुने । पूजा पाठ गर्न नमिल्ने । दूध दही पनि खान नहुने । महिनावारी भएको १५ दिनपछि सुन पानीले चोख्याउनुपर्ने । त्यसपछि मात्र भान्सामा छिर्न दिइन्थ्यो । 

‘महिनावारी हुँदा दाजुभाइलाई हेरे पाप लाग्छ, देवता रिसाउँछन्’ भन्ने मान्यता थियो । त्यसैले ममीले फुपूको घरमा भएर बस भन्नु भएको थियो । तर, सानैदेखि जिद्दी म, उहाँको कुरा मानिनँ । अरूका घरमा लुक्न नजाने अड्डी कसेँ । मेरो अड्डीअघि ममीको केही लागेन, हार्नुभयो । तर, एउटा सर्तमा । महिनावारी भएको कसैलाई नभन्ने सर्तमा । ममीको सर्त मानेँ । र, घरमै बसेँ । 

त्यसको केही वर्षअघिको कुरा हो । दिदी १५ दिन फुपूको घरमा बस्न जानु भएको थियो । उहाँ स्कुल जानु हुँदा बुबा र दाइहरूले नदेख्ने गरेर लुकिलुकी जानुहुन्थ्यो । मलाई लाग्थ्यो– दिदीले यस्तो किन गर्नु भएको होला ? जब मलाई पहिलो पटक महिनावारी भयो । तब मात्रै दिदी फुपूकोमा गएर बस्नु भएको कारण थाहा पाएँ । उहाँ त अघोषित छाउपडी पो बस्नु भएको रैछ । 

महिनावारी हुँदा जताततै बन्देजै बन्देज । यता नछुनू उता नछुनू भन्छन् । सुन्दा पनि दिक्क लाग्ने । भोक लाग्दा खान नपाइने, मन लागेकै ठाउँमा जान नपाइने ! खाएका थाल, पानीका गिलासलगायत आफूले छुई हुँदा प्रयोग गरेका सामानहरू कसैले नछुने गरी छुट्टै राख्नुपर्ने ।  त्यस बेला मनभित्र विद्रोहको भावना उम्लेर आउँथ्यो । यस्ता चलन किन मान्नु पर्ने होला भनेर मनमा प्रश्न उठ्थ्यो । घरमा भएका पुरुषभन्दा फरक हुँदा दुःख लाग्थ्यो ।  त्यही व्यवहारले छोरा र छोरीबिच साँच्चै विभेद रैछ भन्ने महसुस भयो । 

ममी महिनावारी बार्नै पर्छ भन्ने पक्षमा हुनुहुन्नथ्यो । त्यसैले त पहिलो पटक महिनावारी हुँदा पनि घरमै बस्न पाएँ । तर ‘पितृको सराप’ लाग्छ  भन्ने बुबा र दाजुहरूको सोचका कारण पहिले पहिले महिनावारी बार्नुपर्थ्यो । 

यो कुराले सधैँ पीडा दिइरह्यो । यस्ता कुरा कहिलेसम्म र कतिसम्म बारिरहनुपर्ने ? भन्ने प्रश्नले सताइरह्यो । केही पटक बारेँ । तर, सधैँ बार्न सकिनँ । विद्रोहको भाव जाग्यो । जे–जे नगर भनिएका थिए, लुकिलुकी त्यो सबै गरे । जहाँ–जहाँ नजा भनिएका थिए, त्यो सब ठाउँ गए । जे–जे नछु भनिएका थिए, त्यो सबै छोएँ । त्यस बेला बुबाको गाली मात्रै होइन, कुटाई पनि खाएँ । तर, खै त महिनावारी नबार्दा आकाश खसेको ? धर्ती फाटेको ? 

अहिले लाग्छ– विद्रोहबाटै परिवर्तन जन्मिँदो रैछ । पहिला महिनावारी नबार्दा पिट्नु हुने बुबा पनि अहिले त बस्ता गर्नु हुन्न । कहीँ कतै बन्देज लगाउनु हुन्न । हुन त समयसँगै चेतना पनि परिवर्तन भएको छ । त्यसैको प्रभाव पनि हुन सक्छ । 

अहिले सहरी क्षेत्र र पूर्वी नेपालमा महिनावारी बार्ने चलन धेरै हराइसकेको छ । तर, पश्चिम नेपालमा यो कुसंस्कार अझै कायमै छ । महिनावारी नबार्दा ‘पितृको सराप’ लाग्छ भन्ने डर ज्युँका त्युँ छ । त्यसैले आफ्नो लागि नभई परिवारको लागि भए पनि छोरी, बुहारीले महिनावारी बार्न बाध्य छन् । छाउगोठमा बस्नुपर्ने बाध्यता छ । 

महिनावारीमा वैज्ञानिक कारण अनेक होलान् । महिलाको शरीर कमजोर हुन्छ, आराम चाहिन्छ । र, यस्तो अवस्थामा काम गर्न लगाउनु हुँदैन भन्ने मान्यताले महिनावारी बार्नु लगाएको भए केही हदसम्म ठिकै मान्न सकिन्थ्यो । तर, कसैको अनुहार हेर्नै नहुने, छुनै नहुने । पानी समेत नचल्ने । कुकुर–बिरालो भान्सा छिर्न पाउँदा छोरी छिर्न नपाउने । यो सरासर अन्याय हो । 

महिनावारीअघि र पछि महिलाहरू शारीरिक र मानसिक रूपमा पीडित हुन्छन् । पेट–कम्मर दुख्ने, रिस उठ्ने, मुड स्विङ हुनेजस्ता समस्या हुन्छन् । यस्तो अवस्थामा सबैका साथ, सहयोग र माया चाहिन्छ । तर, यही बेला आफ्नै परिवारले पशुभन्दा पनि तल्लो स्तरको व्यवहार गर्दा मानसिकतामा गहिरो असर पार्छ । 

घरभित्र त समस्या छँदै छ । महिनावारी भएका बेला घरबाहिर झन् ठूलो समस्या । बाटोमा भनेको ठाउँमा शौचालय भेटिँदैन । गाह्रो परेका बेला कतिले शौचालय समेत प्रयोग गर्न दिँदैनन् । यस्तो अवस्थामा के गर्ने ? यो हरेक महिलाको साझा पीडा हो । 

महिनावारी प्राकृतिक प्रक्रिया हो र यसलाई ठूलो विषय बनाउनुपर्ने जरुरी नै छैन । तर, यही कुरा पितृ सतात्मक सोचका कारण हाउगुजी बनेर दिमागमा गढेको छ । कहिलेकाहीँ लाग्छ– कसैको महिनावारीलाई लिएर अरूलाई किन यति धेरै टाउको दुख्छ ? महिनावारी भएकी महिलाले छुँदा दाग लाग्छ र ?  कि एलर्जी हुन्छ ? 

महिनावारी सम्बन्धी अन्धविश्वास पनि थुप्रै छन् हाम्रो समाजमा । महिलालाई आराम दिने बहानामा छुद्र व्यवहार गरिन्छ । घरबाट पर बस्नुपर्दा कति दिदीबहिनीहरू बलात्कारको सिकार भएका छन्, कतिले ज्यानै गुमाउनुपरेको छ । यो कुनै हालतमा स्वीकार्य छैन ।

त्यसैले हामीजस्ता पढेलेखेका युवापुस्ता अन्धविश्वासमा अल्झनु हुँदैन । यस्ता कुरीति हटाउनुपर्छ । परिवर्तन आफूबाट सुरु गर्नुपर्छ । चार दिनसम्म रगत बग्दा शरीर कति कमजोर हुन्छ भन्ने कुरा पुरुषले बुझ्नुपर्छ । 

भनिन्छ– महिनावारीका परम्परा हटाउन शिक्षा दिनुपर्छ । तर, परम्परागत मानसिकतामा अल्झिएका मानिसलाई यो कुरा बुझाउन सजिलो छैन । र, समाजमा गढेर बसेको कुरीति हटाउन जुग लाग्छ । कानुनी रूपमा नेपालमा छाउपडी हटेको आठ वर्ष भइसक्यो । तर, व्यवहार अझै हटेको छैन । 

शिक्षासँगै चेतनाको विकासले मात्र यस्ता कुरीति हटाउन सकिन्छ । मान्छेको मानसिकता नबदलिएसम्म जतिसुकै कडा कानुन बनाए पनि काम लाग्दैन । छाउपडी प्रथा पूर्ण रूपमा हटाउने हो भने विद्यालयमा प्रजनन र महिनावारी स्वास्थ्यबारे खुला शिक्षा दिनुपर्छ । कानुनी सुधार, नीति कार्यान्वयन र नेताहरूको इच्छाशक्ति हुनुपर्दछ । त्यसैले नयाँ पुस्ता यस्ता कुरीति हटाउन जागरूक बन्नै पर्छ । हाम्रा पुस्ताले पनि पुरातनवादी सोच राखिरहने हो भने यो हट्न असम्भवजस्तै  छ। 

प्रतिक्रिया दिनुहोस्