Logo
Logo

पढाउन र पढ्नजस्तो आनन्द केही लाग्दैन


डा. भगवती सेढाईं, अध्यापक

3.2k
Shares

करिब दुई दशकदेखि पद्मकन्या क्याम्पसमा अध्यापन गराउँदै आएकी छन् डा. भगवती सेढाईं । उनी पद्मकन्या क्याम्पसकी जनसङ्ख्या अध्ययन विभाग प्रमुख पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट सडक दुर्घटना र तिनको प्रभावबारे विद्यावारिधि गर्ने उनी नेपालको पहिलो शोधकर्ता पनि हुन् । नेपालमा सडक दुर्घटना र जल सुरक्षा एवं चोटपटक रोकथामका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले तयार पार्ने नीति तथा परामर्शदाताको रूपमा उनले काम गर्दै आएकी छन् । यिनै शोधकर्ता डा भगवती सेढाईंसँग रेजिना पाण्डेको जम्काभेट :

चोटपटकसम्बन्धी अनुसन्धान गर्ने सोच कसरी आयो ?

मैल चोटपटक अध्ययन तथा अनुसन्धान गर्न थालेको लगभग १० वर्ष भयो । यसबारे अध्ययन गर्नुको मुख्य कारण हामीले विभिन्न रोगका साथै अन्यबाट हुने मृत्युबारे चाहिँ राज्यले केही गरेको छ । तर, चोटपटक रोकथाम र यसबाट हुने मृत्युलाई रोक्नेबारे राज्यले खासै केही गरेको देखिएको छैन । चोटपटकबाट हुुने मृत्युलाई रोकथाम गरेर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मैले यससम्बन्धी अनुसन्धान गरेको हुँ ।

नेपालमा अहिले चोटपटकको अवस्था कस्तो छ ?

डरलाग्दो छ । हरेक वर्ष यसको तथ्यांक बढ्दै छ । यो ठूलो समस्या पनि हो । तर, समस्या भनेर जुन निकायले रोकथाम गर्नुपर्ने थियो, त्यो निकायले काम गरेको देखिँदैन । केही सानातिना काम भएजस्तो भए पनि राज्य कमजोर देखिएको छ । यस विषयमा पनि राज्यले ठूलै भूमिका खेल्न सक्छ । र, राम्रो शिक्षामूलक कार्यक्रमहरू गरेर अघि बढ्न सके राम्रो हुन्छ ।

नेपालमा चोटपटकसम्बन्धी अनुसन्धान भएको छ कि छैन ?

खासै देखिँदैन । वास्तवमा भन्ने हो भने यसबारे कमै ध्यान दिइएको पाएँ । यो चोटपटकबाट हुने मृत्युबारे कमैलाई मात्र जानकारी छ । यो कस्तो हो, कसरी हुन्छ, के गर्न सकिन्छ भन्ने ज्ञान कमैमा छ । चोटपटकबाट हुने मृत्यु बाहिरी शक्तिको कारण ज्यान मान्छेको ज्यान जान्छ भने त्यसलाई चोटपटकबाट हुने मृत्यु भनिन्छ । विष खाएर, सडक दुर्घटना, डुबेर वा कीराले टोकेर हुने मृत्युलाई चोटपटक मृत्यु भनिन्छ ।

यही विषयमा विद्यावारिधि गर्ने सोच कसरी आयो ?

सडक सुरक्षाका विषयमा विद्यावारिधि गर्नुको कारण हरेक दिन मुख्य समाचार बन्ने सडक दुर्घटनाको हो । सडक दुर्घटनाबाट हरेक दिन मानिसको अकालमै मृत्यु भइरहेको छ । यस विषयमा विद्यावारिधि गर्नुको उद्देश्य भनेको सडक दुर्घटनाबाट कसरी जोगिने, रोकथाम कसरी गर्ने र दुर्घटनाबाट डराइरहेका समाजलाई कसरी शान्त पार्ने भन्ने हो । यो विषयमा विद्यावारिधि गर्ने म पहिलो व्यक्ति हुँ ।

नेपालमा सडक दुर्घटनाको अवस्था कस्तो छ ?

धेरै भयावह छ । नेपालको बाटो, सवारी चालक र गाडीको अवस्था सबैलाई थाहा भएकै कुरा हो । यहाँ पैदल यात्रीको लागि बाटो छैन । गाडी चालकले क्षमताभन्दा बढी लोडमा तीव्र गतिमा कुदाउनेले दुर्घटना निम्तिरहेको छ । गाडीसमेत मर्मत नगरी र सडकको क्षमताभन्दा बढी कुदाउनु दुर्घटनाको मुख्य कारण हो ।

सडक दुर्घटना न्यूनीकरण गर्ने तपाईँको योजनाहरू के छ ?

सडक दुर्घटना न्यूनीकरण गर्ने हो सबैभन्दा पहिले ड्राइभिङ शिक्षा दिइनुपर्छ । मैले यो विषयमा पनि काम गर्ने अवसर पाएको छु । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य समिति’ बनाएको छ । त्यो समितिको पनि उपसमिति बनेको छ । सो उपसमितिको अध्यक्षता गर्ने मौका पाएको छु । नियम, अनुशासन र म आफैँ शिक्षक भएको नाताले शिक्षामार्फत सम्पूर्ण कार्य योजना बनाउने उपायबारे सोच्दै छु ।

सडक दुर्घटना बढ्दै जानुको कारण शिक्षाको अभाव कि लापरबाही ?

जिम्मेवारी सबैले बुझेका होला, कसैले पनि म घाइते हुन्छु भनेर हिडँदैन । तर, कहिलेकहीँ जोस, होस र प्रतिस्पर्धाले विपत्ति आइदिन्छन् । आफ्नो जीवन अचानक कसैले फाल्न चाहँदैन र सोच्दैन पनि । तर, नियम र अनुशासित भएर सवारीसाधन प्रयोग गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ । यसका लागि शिक्षा जरुरी छ । विद्यालय र कलेजहरूमा ड्राइभिङसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक छ । जसले गर्दा सडक दुर्घटनामा कमी आउन सक्छ ।

तपाईँ जलसुरक्षाबारे कलम चलाउनुहुन्छ । यो जल सुरक्षा भनेको के हो ?

मैले सडक दुर्घटनाका बारेमा विद्यावारिधि गरिरहँदा पानीमा डुबेर मरेको समाचार पत्रपत्रिकामा देख्दा र सुन्दा मन नराम्ररी पिरोल्छ । त्यसैको फलस्वरूप मैले यो विषयमा कलम चलाउन थालेँ । डुबेर हुने मृत्यु रोकथाम गर्न सकिन्छ जस्तो मलाई लाग्छ । यससम्बन्धी राम्ररी प्रारम्भिक ज्ञान दिन सकियो भने राम्रो होला ।

पद्मकन्या क्याम्पसमा कहिलेदेखि पढाउँदै आउनुभएको छ ?

पद्मकन्या क्यापसमा मै २०५८ सालदेखि पढाउँदै आएको छु । म जनसङ्ख्या, महिला स्वास्थ्यसम्बन्धी पढाउँछु । म शिक्षा व्यावहारिक र प्रयोगात्मक होस् भन्ने चाहन्छु ।

पढाउन कतिको सजिलो छ ?

मलाई लाग्छ, म पढाउनकै लागि जन्मिएको हुँ । म पढाउने विषयलाई सजिलै रूपमा लिन्छु किनकि म जे पढाउँछु, पूर्ण रूपले अध्ययन गरेको हुन्छु । देश–विदेश घुम्दा मैले जे देखेँ, जे गरेँ पनि पढाउन र पढ्नजस्तो आनन्द मलाई केही लाग्दैन । त्यसो त मलाई पढ्न र पढाउन दुवै सहज लाग्छ ।

प्रतिक्रिया दिनुहोस्