Logo
Logo

नेताको दुराचारले देश डुब्दा भिमसेनमा छैन पसिना


2.2k
Shares


संघीय लोकतान्त्रिक गणतन्त्रको सर्वोच्च पदमा पुगेका कमरेडहरू नै लालचको पोखरीमा डुबेपछि कांग्रेसभन्दा पनि तल गिर्दा रहेछन् भन्ने कुरा नेपाली राजनीतिमा देखा पर्न थालेको छ । उनीहरू भित्रको नैतिकतामा बेमौसमी खडेरी परेपछि मस्तिष्कमा लोभको धुवाँ पत्याउन थाल्दोरहेछ ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी विद्या भण्डारीलाई एकाएक बाँकी जीवन राष्ट्रको लागि समर्पित गर्ने हुटहुटी बढ्यो । सँगसँगै उपराष्ट्रपति भएका नन्दबहादुर पुन यो फोहरी राजनीतिको खाडलमा नजाक्किकन बाँच्नै नसक्ने भए ।

संविधानविपरीत दुई–दुईपल्ट केपी ओलीले गरेको संसद् विघटन काण्डलाई आँखा चिम्लिएर सदर गरेकी भण्डारीले दुई कार्यकालसम्म गरिमामय राष्ट्रपतिको पदमा रहँदा कसका लागि काम गरिन् त भन्ने प्रश्न सचेत नागरिकले उठाएका छन् ।

त्यत्रो ठूलो बलिदान र समर्पणबाट निर्माण भएको माओवादी पार्टीलाई कहिले छोराहरूको सुनकाण्डबाट त कहिले आलिसान महलको टुप्पीबाट बदनाम गर्न सफल डेपुटी कमान्डर नन्दबहादुर पुनले अझैसम्म शरीरका हरेक अंगमा शाही सत्ताको गोली बोकेर हिँडिरहेका पूर्वजनमुक्ति सेनाको कुनचाहिँ सदस्यलाई उपचारको जिम्मा लिए ?

नेताहरूका व्यवहारबाट वाक्कदिक्क भएका भूँई मान्छेहरू त्यसै व्यवस्थाको विरोधमा लागेका होइनन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यदि कतैबाट खतरा छ भने यिनै बुद्धि नासिएका शासकहरूबाटै छ ।

राजावादीको खरानी घसेर हिँड्नेहरू त फगत बहाना मात्रै हुन् । हजारौँ जनताका छोराछोरीको बलिदानबाट प्राप्त व्यवस्थाकै धज्जी उडाएर रमिता देखाइरहेका यी निर्लज्ज मनुष्यको अन्त्येष्टि पनि साह्रै नमिठो गरी हुने निश्चित छ ।

दुई महिना अघिसम्म एक नम्बर नाफामा रहेको विद्युत् प्राधिकरण अहिले १० अर्ब ऋण लिने अवस्थामा पुग्यो । कुलमान घिसिङ हटेपछि अघोषित लोडसेडिङ आयो, विद्युत् प्राधिकरण घाटामा गयो, उठ्न लागेको २२ अर्ब बक्यौता रकम रोकियो ।

प्रहरीको खोजीमा रहेका विभिन्न अपराध कर्ममा संलग्न सांसदहरू हाकाहाकी काठमाडौँमा घुमिरहेका छन् । निर्वाध रूपमा मासिक तलबभत्ता बुझिरहेका छन् । प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालतबाट अहिलेसम्म तीनपटक दोषी ठहर भइसके ।

एकपटक गिरिबन्धु जग्गा काण्डमा र दुईपल्ट संसद् विघटनविरुद्धको मुद्दामा । यद्यपि, उनलाई कारबाही कसले गरोस् ? तर बालुवाटारलाई असहयोग गर्ने छनक देखाएपछि डेढ वर्षअघि आममाफी पाएका रेशम चौधरी चार घण्टाका लागि भए पनि आश्चर्यजनक ढंगले पक्राउ परे ।

क्रोध र प्रतिशोधको भावनाले मानिसलाई कहिल्यै सफलतामा पु¥याउन सक्दैन । अझ राज्यसत्ताको नेतृत्वमा रहेकाहरू त झन् नागरिक र विपक्षीका फरक विचारप्रति गम्भीरताका साथ जबाफदेही बन्नुपर्छ । उनीहरूले सचेत रूपमा औँल्याएका आफ्ना कमजोरी सुधार गर्ने दिशामा अघि बढ्नु पर्छ । तर हामीकहाँ त्यसो हुँदैन । कसरी हुन्छ, भिन्न विचार र योजना भएका दल वा समूहलाई तह लगाएरै छाड्ने प्रवृत्ति सिलसिलेवार बढ्दै गइरहेको छ ।

एकातिर देश अघोषित लोडसेडिङको चपेटामा छ । अर्कोतिर नागरिकहरू छड, सिमेन्टलगायतका निर्माण सामाग्रीमाथि थोपरिएको मनपर्दी महसुलको मारमा परेका छन् । देशभित्रका कृषकहरूले उब्जनी गरेका तरकारी तथा फलफूलहरू बजार नपाएर कुहिएका छन् । सिमापारिका विषाक्त फलफूल र तरकारीहरूले घरघरमा आफ्नै हैकम जमाइरहेका छन् ।

विदेशबाट अर्बौं ऋण लिएर बनाइएका हरेक संरचनाहरूमा लागतभन्दा दोब्बर भ्रष्टाचार भएको छ । डेढ अर्ब खर्च गरेर दमकमा निर्माण गरिएको ओली टावरमा बाख्रा चर्न थालेका छन् । समग्र रूपमा नेपाल अहिले भ्रष्टाचारको कारखानामा सीमित भएको छ । यहाँ हरेक कुरामा भ्रष्टाचार मात्र उत्पादन भइरहेको छ ।

सत्तामा बस्नेहरू आँखा चिम्लिएर भ्रष्टाचारकै पक्षपोषण गरिरहेका छन् । आखिर निर्वाचनमा यिनैमध्येका कुनै एक पार्टीलाई नागरिकले दुईतिहाइ मत दिए पनि यिनले गर्ने कर्म कस्तो हुन्छ भनेर त देखिसकियो ।

प्रमुख दुई दल मिलेर बनेको शक्तिशाली सत्ताले आफ्ना जनविरोधी गतिविधिमार्फत प्रस्टै हैसियत देखाइसक्यो । अब यही दुर्गन्धित खाडलमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको आफूहरू पनि चोबलिन पाउनुपर्ने आशय बडो वैरागलाग्दो छ ।

हाम्रो राजनीतिक दलका नेताहरू आखिर के खाएर राजनीति गर्छन् ? यो पनि रहस्यमय नै छ । छिमेकबाट एउटा राजनीतिक दलको विदेश विभाग प्रमुख नेपाल आउँदा निर्वाध रूपमा प्रधानमन्त्रीदेखि सबै पार्टीका मुख्य नेताहरूको ओछ्यानसम्म पुग्छ । अनि प्रधानमन्त्रीदेखि सबै पार्टीका नेताहरू उसैको वरिपरि उसैले बजाएको बिनामा नतमस्तक भएर नाचिदिन्छन् ।

हाम्रा मन्त्रीहरू महिनामा १५ दिनसम्म उनीहरूको मुलुकमा थला बस्दा पनि एउटा सचिवसम्मले भेटघाट गर्ने समय दिँदैनन् । यस्तै गलत परम्परालाई निरन्तरता दिने हो भने देशको कूटनीतिक मर्यादा र समानता कस्तो रहन्छ ? जहिल्यै आफ्नो गरिमा भुलेर प्रभु रिझाउने कुरामा प्रतिस्पर्धा गर्ने नयाँ–पुराना सबै दलको हैसियत बराबरी देखियो ।

परराष्ट्रमन्त्री दिल्ली जान्छिन् र फर्किएर भन्छिन्– भारतले सरकार परिवर्तन चाहेको छैन । कांग्रेस सभापति देउवा बोल्छन्– भारतले राजसंस्था फिर्ता ल्याउन चाहेको छैन । बाबुराम भट्टराई दिल्ली जान्छन् र फर्केर भन्छन्– भारत व्यवस्था परिवर्तनको पक्षमा छैन ।

आखिर यिनीहरू कसका लागि राजनीति गर्दछन् ? आफ्नो देशको सत्ता परिवर्तन गर्ने वा नगर्ने भन्ने विषय पनि विदेशीले निर्णय गरिदिनुपर्ने ? उसको आशीर्वाद थाप्नुपर्ने ? त्यत्रो ठूलो बलिदानको जगबाट निर्माण भएको व्यवस्थालाई धराशायी यिनले भन्दा अर्को कसले बनाउन सक्छ ?

मुलुकमा अहिले माफिया र भ्रष्टाचारीहरू मालामाल, जनता कंगाल हुने परिपाटीले तीव्रता पाएको छ । देश बनाउन निकै समय लाग्छ तर भत्काउन छिनभर पनि नलाग्दोरैछ भन्ने कुरा अहिलेका शासकहरूले छर्लङ्ग पारेका छन् । नपत्याए नजिकैको विद्युत् प्राधिकरणलाई हेर्नुस् । अस्तिसम्म कहाँ थियो र अहिले कहाँ पु¥याइदिए ?

देशमा दुई ठूला राजनीतिक दलहरूको शक्तिशाली सत्ता छ । सरकारले जतिसुकै तल्लोस्तरमा झरेर देशविरोधी गतिविधि गरे पनि सत्तापक्षले नाङ्लो ठटाएर समर्थन गर्नुपर्ने स्थिति छ । केपी ओलीले धमाधम मनलाग्दी निर्णय गर्दै जान्छन्, कांग्रेस होमा हो थप्दै जान्छ ।

हुन त आफ्नै नेतालाई राज्यमन्त्रीबाट अनाहकमा गलहत्त्याउँदा पनि चुइँक्क बोल्न नसक्ने कांग्रेसको यहाँ के चर्चा गरिरहनु र ? देउवामा अलिकति नैतिकता भए आफ्नो पार्टीको राज्यमन्त्री यसरी गल्हत्याइने थिएनन् ।

आमनागरिकले दैनिक उपभोग गर्ने वस्तुहरूमा डरलाग्दो महँगी बढेको छ । संस्थागत विद्यालयदेखि स्वास्थ्य संस्थाहरूमा उस्तै मनपरी छ । नियमन र नियन्त्रण गर्ने निकायहरू स्वयं भ्रष्टाचारकै डंगुरमा निदाएका छन् । तर देशमा यतिविधि अनिष्ट र अपराध हुँदा पनि ‘न सविता माताको ओठ फुट्यो न त भीमेश्वरको मूर्तिमा पसिना नै आयो ।’ बिचरा दोलखा भिमसेनले पनि यी सबै कुरा पचाएरै बसेका होलान्, त्यसैले पसिना आएन ।

लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्