
सय वटा मुसा खाएपछि बिराला धर्म गर्न काशी जान्छ अरे । जीवनभर कम्युनिस्ट राजनीति गरेर जब उत्तराद्र्धतिर लागे, अनि यिनलाई झल्याँस्स सम्झना भो समाजवादको । सत्तामा हुँदा शिक्षा, स्वास्थ्य र रोजगारीलाई छाडेर उत्तर, दक्षिण कता कता चाहरियो, अब बिचरो समाजवाद बल्ल दिमागमा आउन थाल्यो । पहिले राष्ट्रपति खान्छु भनेर चुनावमा पोस्टर बनाए, त्यो नपाएपछि प्रधानमन्त्री भए पनि खान्छु भनेर लाग्दा नेपाली सेनाका प्रधानसेनापति, पशुपतिका मूलभट्ट आदि अनेक भाउँतो लागेर सत्ता छाड्नु प¥यो ।
जनवादी सत्ता कायम गर्न भनेर ३० वर्षअघि जनयुद्ध सुरु गरियो, आखिर केही वर्ष अनेक उपद्रव मच्चाएर (संविधानमा त सशस्त्र सङ्घर्ष पो लेखिएको छ) शाहीसत्ताका भरौटे भनिएकासँग सम्झौता गर्नुपर्ने भयो । भन्न त जनयुद्धताकाकै अन्तरवार्तामा महात्मा गान्धी बन्ने, गणेशमान बन्ने, शासनमा नबस्ने भनी लगाइएको बचन पनि त्याग गर्नुप¥यो र पटक पटक सत्ताका लागि मरिहत्ते गर्नुप¥यो । उनको बल भनेको जनमुक्ति सेना थियो, त्यो पनि बाँकी हात परेका चार हजार सैनिकमध्ये केही पैसा लिएर घरतिर हिँडे, केही नेपाली सेनामा घुसाइए । अनि त्यसपछि निन्द्रामा पनि सत्ता, सत्ता भनेर बरबराउन थाले ।
जनयुद्धका प्राधिकारले तेस्रो पटकको प्रधानमन्त्रीलाई नै अन्तिम भनेको त धेरै चोटि हो तैपनि, अहिलेको यो कांग्रेस– एमाले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै दिनगन्ती गरेर बसिरहेका छन् । तिमीहरू सरकार चलाओ, हामीले निकै गल्ती ग¥यौँ, अब जनतामा जान्छौँ भनेको त कति पटक हो कति ? दुई ठुला दल मिलेर आफूलाई खसालिदिएकामा उनले तिनलाई धन्यवाद पनि कति चोटि दिए, दिए ।
जनतासमक्ष हामी उपदेश दिन होइन, क्षमा वा माफी माग्न आएको पनि कति चोटि भट्याइयो, भट्याइयो । सामाजिक सञ्जालमा उनकै गीत गाइएको छ रे अचेल, अनि २०८४ मा बहुमत आफूहरूकै हो भनी जिकिर कति चोटि गरियो, गरियो । एउटा फ्याउराले अङ्गुरको अग्लो बोट चढ्न नसकेर फल अमिलो छ भन्दै बाटो लागे जस्तै त होइन, तर कथा मिल्दोजुल्दो भएसरी सत्ताबाट खसेपछि अरूलाई वा जनतालाई सुनाउन ए त्यो त नरक पो रैछ भन्दै कथा पनि कति चोटि सुनाइयो, सुनाइयो ।
अब त हामी सरकारमा जानुपर्ने हुनसक्छ भन्दै नाटकसरी कुदेको कुर्दै गर्नुपरेको पनि छ । अनि नयाँ वर्षमा त पक्कै नयाँ सरकार भन्दै अर्को कथा हाल्नुप¥यो । आफ्नै पूर्वसहकर्मी एक विद्वान् प्रधानमन्त्रीले पनि भनिदिए, कांग्रेस–एमाले गठबन्धनलाई दक्षिणले कम्फर्टेबल मानेको छैन । केन्द्रीय बैंकको गभर्नर नियुक्तिमा मतभेद भएको विषयलाई नै लिई कटुता बढेर झर्ला र खाउँलाको आसेखेतीमा लागेका उनलाई दक्षिणतिर गठबन्धन असहज नै भएको भनाइ डाक्टर साहेबले ओकलिदिएपछि केही राहत भने दिएकै हुनुपर्छ ।
पहिले अहिलेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकै बखत चलेको झगडामा यी प्राधिकारले पनि एमालेबिना कांग्रेसको नेतृत्वमा बन्ने सरकार उत्तर, दक्षिण दुवैलाई कम्फर्टेबल हुने भनेकै थिए । अहिले कमसेकम दक्षिणचाहिँले असहजता अनुभव गरेपछि त सरकार ढाल्न उपयुक्त बुँदा त पाइहालियो, कि कसो ?
तराई मधेस हुलाकी मार्ग जागरण अभियान वा मध्यपहाडी लोकमार्ग जागरण अभियान जे जे चलाए पनि त्यो त सत्ताबहिर्गमनको कुण्ठा पोख्ने माध्यम हो, विपक्षी हुँदाको समय कटाउने मेलो मात्र हो भन्ने कुरा नबुझ्ने यस दुनियाँमा को अबुझ होला र कुन्नि ?
“जनताका लागि सेवा प्रवाह गर्न लागेकै हो, भ्रष्टाचार निर्मूल गर्न कदम चाल्नै लाग्या हो, विकासनिर्माणको खोलै बगाउन खोज्या हो, तर के गर्नु, अपराधीहरूले देखिसहेनन् र पो” भन्दै गोहीका आँखामा आएको आँसु झैँ पारेर फेरि ०६४ कै जस्तै भोट देओ है” भनी दुःखी, गरिब, निमुखा, सहिद, पीडितलाई अँगाली यतिबेला समाजवादको आश्वासन बाँड्दा तिनका घाउमा मल्हम लाग्ला त के ? हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धि भो भनेर सत्ता पक्षलाई फुर्ती लाउनु मात्र हो, के सोचिएको थियो, केचाहिँ बढी भयो त, केही मिडियामा भाषणहरू आउने बाहेक ? अझ अभियान आफ्नो मात्र हैन, राष्ट्रकै अभियान अरे, कति हाँस्नु ? मुखको तितो फ्याँकेर र भाषणको कुदाकुद गरेर नेपाली समाजवादको मार्गचित्र देखापर्नु र समाजवादी विचारधाराको प्रस्थानविन्दु बन्नु अनि शक्तिशाली रूपान्तरणको भाव पैदा हुनु भन्नु सुन्निएकालाई मोटाउनु भने जस्तै भएन र भन्या ।
माउ पार्टीबाट फुटेका बाबुराम, वैद्य, विप्लवलगायत नेताहरूका भुरेटाकुरे पार्टीसँग एकता गर्ने झ्याली पिटाउँदै र समाजवादी मोर्चा नेपालको भजन गाउँदै ६४ साल आउने होला र ? त्यतिबेला त लडाकु थिए, हतियार थिए, उग्रवादी जमात थिए, अनि कहाँ कसलाई भोट हालेको देखिने मेसिन पनि थिए रे, अनि पो जितुवा हुन पाइयो, अनि हरुवालाई गिज्याउन, जिस्क्याउन र छेडखानी गर्न पाइया थियो । अब त प्रचण्डपथ पनि छैन, माओवाद पनि छैन र एक्काइसौँ शताब्दीको जनवाद पनि छैन ।
सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा गठबन्धन सरकारका प्रतिनिधि त पर्ने भए, आफ्नो पनि पार्न अब यिनले कति रुवाबासी गर्ने हुन्, देख्न र हेर्न सकिन्न । हरे, यिनको भाग्य ! ए दैव, यिनैबाट सिकेर त राजावादी दलले पनि अब सशस्त्र सङ्घर्षमा जानुपर्ने हुन सक्छ भन्दै झिनो स्वरमा बोल्न थालेका छन् । नेपाली जनता शान्ति चाहन्छन्, केवल शान्ति, नाटक र धम्की होइन है महोदयहरू !