
यात्राकै क्रममा जापान पुगेको तेस्रो दिन म फेरि अर्को नयाँ दुनियाँमा पुगेँ । अघिल्लो दिन आधुनिक रमझम भएको शहर टोकियो हेर्न लगेकी थिइन् निशिकावाले । “केही किन्ने मन छ ?’’ भनेर सोधेकी पनि थिइन् । जापानमा किनमेल गर्न सक्ने हैसियत मेरो थिएन । यो कुरा साथीहरूले पनि राम्रै बुझेका थिए । उनीहरूमै निर्भर थिएँ धेरै कुरामा ।
तर सुसुमु र निशिकावाले बिहानै मलाई ४० हजार येन हातमा राखिदिएर भनेका थिए – “यो पैसा साथीहरूबाट आएको सहयोग हो है ! सबै जसो नै तिम्रै लेखहरूले कमाएका साथी हुन् । तिमीलाई जे गर्न मन लाग्छ, जे किन्न मन लाग्छ किने हुन्छ…’’ मैले अप्ठ्यारो मान्दै स्वीकारेकी थिएँ ।
त्यो पैसा बोकेरै टोकियोको बजार पनि डुल्दा आफू भाग्यमानी पर्यटक भए झैँ लागेको थियो । मेरी गाइड आफ्नै आमा जस्ती साथी निशिकावा थिइन् ।
निशिकावाको रहनसहन ज्यादै सरल थियो । मनकी भने धनी थिइन्– ज्यादै असल मनकी धनी । “उनले के किन्ने मन छ ?’’ भनेर सोध्दा मैले घडी किन्ने इच्छा व्यक्त गरेँ । एउटा घडी चाहिएकै पनि थियो । नेपालदेखि नै लगाएको एउटा घडी छोरी नेपाल फर्किन लाग्दा उसैलाई लगाइदिएकी थिएँ । बुढाले भनेका थिए – “जापान जाँदैछ्यौ, उतै एउटा राम्रो घडी किन्नु नि !’’
केही घडी पसलभित्र पसेर पनि हेरेँ । धेरै महङ्गा घडीहरू देखेपछि “यो मेरो बजार होइन रहेछ’’ भनेर चित्त बुझाएकी थिएँ । पछि पैसा बचेछ भने किनुँला भन्ने लाग्यो ।
तेस्रो दिनमा टोकियो शहर छोडेर साइतामा प्रान्तको एउटा गाउँमा रेल चढेर पुगेँ, निशीकावा र सुसुमुसँगै । म फेरि छक्क परेँ जापानको गाउँ देखेर । वरीपरी जङ्गल छ । शान्त छ वातावरण । रेलबाट ओर्लिएर एकछिन हिँडेपछि नै कलकल बगिरहेको खोल्सा देखेँ । हिँड्न उति सजिलो नलाग्ने स–साना गोरेटा बाटाहरू देख्दा आफ्नै देशका गाउँहरू सम्झेँ ।
म छक्क परेको देखेर निशिकावाले हाँस्दै भनिन्– “अब तिम्रै देशमा आइपुग्यौँ नि हामी ! यो मेरो ‘पोखरा’ हो । फेवाताल मात्र छैन यहाँ । अरू दृश्यले पोखरा वरिपरीकै गाउँलाई सम्झाउँदैन ?’’
म शाङ्हाईमै भएको बेला निशिकावा नेपाल घुम्न भनी एक्लै गएकी थिइन् । पोखरा पुगेपछि त्यहाँको दृश्यले हुरुक्कै भएकी थिइन् । पोखराबाट फर्किनै मन लागेन रे ! फर्केपछि पनि मलाई धेरै कुरा सुनाइन् “सुलो, तिमी त कस्तो भाग्यमानी ! नेपालजस्तो सुन्दर देशमा जन्मियौ । पोखरा पुगेपछि त म पागलै भएँ…’’ उनी धेरै गफाडी साथी होइनन् । जे बोल्छिन्, सत्य बोल्छिन् ।
उनको कुराले मलाई केही खुसी पनि बनायो । जापान पुगेपछि उनले पोखरा वरिपरीको गाउँजस्तै लाग्ने ठाउँ खोज्न थालिछन् । पुराना बस्ती खोज्दै त्यो ठाउँमा पुगेकी रहिछन् । त्यहाँ एउटा पुरानो खाली घर पनि भेटेपछि त्यसैलाई ‘रिल्याक्स गेस्ट हाउस’ बनाइछन् र शहर छोडेर त्यहीँ बसाईँ सरिछन् ।
शहरको हुलहालबाट दिक्क भएका केही जापानीहरू त्यहाँ केही दिन शान्तपूर्वक बस्न आउँदा रहेछन् । उनीहरूलाई निशिकावा आफ्नै हातले अर्गानिक खानेकुरा बनाएर खुवाउँदी रहिछन् ।
त्यो ठाउँमा पुग्दा दाउरा बालेर पकाएको पनि देखेँ । भिन्दै खालको भान्सा, भिन्दै वातावरण, कुनै कोलाहल छैन, केवल शान्ति ! अनि त्यो ‘गेष्ट हाउस’मा पुग्ने सबभन्दा भाग्यमानी ‘गेष्ट’ म ।
पुलपुलिएकी छोरी जस्ती हुन पाएँ । आफूले पैसा तिर्नु त कता हो कता, उनीहरूकै विशेष हेरचाह पाएर बसेँ । रातको नीरवतामा सुसुमु जापानी बाँसुरी बजाउँथे । अनि निशिकावा पनि एउटा परम्परागत जापानी बाजा बजाउँथिन् । त्यो बाजाको नाम भने बिर्सिएँ । त्यो सुन्दा खुसीले पागलै हुन्थेँ म । संसारमै हत्पति नपाइने आनन्दको अनुभूति गरँे । यस्तो स्वप्निल दिनको पनि अनुभव भयो जिन्दगीमा ।
केहीदिन त्यही आनन्द लिएर बसेँ । चीनमा पाँच वर्ष बस्दा शहरकै कोलाहलमा दिनहरू बिते । होस्टेलमा बस्थेँ । कहिलेकाही छुट्टीमा युनिभर्सिटीले लगेका ठाउँमा पुग्थेँ । कहिले गाउँ देखाउन लगे पनि गाउँमा बास बसेनौं हामी । जापान पुगेको केही दिनमै अनेक किसिमका अनुभव भए ।
एकदम विकसित शहरदेखि लिएर आधुनिकताले पटक्कै नरङ्गाएको गाउँसम्म । मैले त्यो ‘रिल्याक्स गेष्ट हाउस’लाई ‘निशिकावा प्याराडाइज’ भन्न थालेँ । जे खोजेको हो त्यस्तै । खानलाई के खाने भन्ने पिर छैन । अरु रहनसहन साधारण नै छ । निशिकावा प्रकृतिप्रेमी, सुसुमु प्रकृतिको संरक्षक ।
कुनै कोठामा ताल्चा लगाएको छैन । बाहिर जाँदा पनि घर त्यत्तिकै छोडेको हुन्छ । “ताल्चा लगाउनु पर्दैन ?’’ भनेर मैले सोध्दा निशिकावाले भनेको एउटा कुरा याद आइरहन्छ – “यहाँ चोरले चोर्ने कुनै कुरै छैन ! चोर्न पनि कहाँ सजिलो छ र ? बरु काम गर्नु जति सजिलो चोर्नु हुँदैन नि ! चोर नै नभएको ठाउँमा किन साँचो लगाउनु ?’’ मनमा लाग्यो – “यहाँ पो साँच्चैको साम्यवाद रहेछ ।’’
ती दुई साथी– निशिकावा र सुसुमुको स्वभाव र विचार कति मिलेको ! मान्छेले आफ्नो जीवन जसरी बिताए पनि हुने रहेछ । अरुलाई दुःख नदिई आफूलाई सन्तुष्टि मिल्ने काम जे गरे पनि हुने रहेछ ! मैले त्यही देखेँ, बुझेँ । तर सिक्न भने अझै सकेकी छैन ।
त्यसरी त्यो एकान्तमा केही दिन बसेपछि म पनि अलि भिन्दै हुन थालेजस्तो लाग्यो । प्रकृति के हो ? जीवन के हो ? युनिभर्सले मान्छेलाई आ–आफ्नो स्वभाव अनुसार अवसर कसरी दिंदोरहेछ ? … यस्ता प्रश्नहरू मनमा आइरहन थाले । राती सुत्दा आफैसँग कुरा गरिरहन्थेँ ।
उनको सोच, जीवनशैली र कामले प्रभावित भएर भनेकी थिएँ – “नेपाल फर्केपछि म पनि यस्तै ठाउँ बनाउँछु, अनि तिमीहरू आएर बस्नु है !’’ तर भनेजस्तो कहाँ पो हुन्छ र ! देश फर्किने बित्तिक्कै सरोजको ठूलो परिवारमा मिस्सिएर बस्यौं । डेरामा पनि बस्यौँ । एउटा सानो घर किन्यौँ र बेच्यौँ । फेरि अर्को सानै घर किन्यौँ ।
निशिकावा दुईपल्ट नेपाल आइन् । पहिलो पटक साँघुरो ठाउँमा बस्न बाध्य बनाएँ उनलाई पनि । आफ्नो छुट्टै घर थिएन । तर पोखरा संगसंगै गयौँ । घान्द्रुक पनि सँगै घुम्यौ । पछि ‘आफ्नो’ भन्न मिल्ने घरमा पनि आइन् । सरल जीवन र विशाल मन भएकी ती आमाजस्ती मेरी साथी दोस्रोपल्ट आउँदा फेरि पनि हाम्रो सानो घरको सानै कोठामा बसिन् ।