Logo
Logo
भारत–पाकिस्तान तनाव

भारतको ‘अपरेशन सिन्दूर’विरुद्धविरुद्ध पाकिस्तानले सुरु गर्‍यो जवाफी कारबाही ‘बुनयान-उल-मरसूस’


3.1k
Shares

काठमाडौं । भारत–पाकिस्तान तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेपछि यी दुई देशबीच युद्धमा होमिएका छन् ।

पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले गरेको घोषणाअनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’को नाममा जवाफी कारबाही सुरु गरेको जनाएको छ ।

अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोटस्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ । भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको पाकिस्तानी सुरक्षा स्रोतहरूले दाबी गरेको छ ।

यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरेपनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको बताएका छन् । उनले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । उनका अनुसार भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको छ ।

शरीफले भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तान पुगेको पनि उनले बताएका छन्, यद्यपि यसबारे उनले तत्काल प्रमाण प्रस्तुत गर्न सकेनन् । तर उनले पाकिस्तानसँग प्रमाण रहेको दाबी गरेका छन् ।

भारतको रक्षा मन्त्रालयले भारतमा बारामुलादेखि भुजसम्म २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएका बताएको छ । यी ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूमा क्षति पु¥याउन सक्ने सम्भावना रहेको औंल्याएको छ । यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका विभिन्न स्थानहरूमा देखिएका हुन् ।

यीमध्ये फिरोजपुरमा एक ड्रोनले एक नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको भारतको रक्षा मन्त्रालयले दाबी गरेको छ । यसबाट धेरै स्थानीय बासिन्दा घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार बताइएको छ ।

रक्षा मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘भारतीय सशस्त्र बलहरू पूर्ण सतर्क अवस्थामा छन् र यस्ता सबै हवाई खतराहरूलाई काउन्टर–ड्रोन सिस्टमबाट सामना गरिँदैछ । हामी प्रत्येक परिस्थितिमा कडा नजर राखिरहेका छौं र आवश्यक परे तत्काल कारबाही गरिरहेका छौं ।’

रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । सेनाले भनेको छ, ‘डराउनु पर्दैन, तर सतर्क रहनु आवश्यक छ ।’

शुक्रबार बिहीबार भारतले सिन्दूर अप्रेशन सुरु गरेपछि यी दुई देशबीच मिसाइल हानाहान सुरु भएको हो । गएराति पनि रातभर दुवै देशले मिसाइल आक्रमण गरेका थिए भने सीमा क्षेत्रमा गोली हानाहान भएको थियो । तर उक्त आक्रमणबाट मानवीय क्षतिको विवरण भने दुवै देशले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्