Logo
Logo
विचार/दृष्टिकोण

काश्मिर घटनाले नेपालमा ल्याएको तरंग


डा.दीपेश केसी

1.5k
Shares

काश्मिरको पहलगाममा हिन्दूहरुलाई छानीछानी गोली हानी हत्या गरिएको आतंकवादी हमलाको भत्र्सना गर्ने होडबाजी नै चल्यो नेपालमा । यो मामलासँग सम्बन्धित रोचक प्रतिक्रियाहरू पनि देखिए । हमलाविरुद्ध सडकमा प्रदर्शनहरू भए ।

पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन र ज्ञापनपत्र समेत बुझाइएका खबरहरू सार्वजनिक भए । सबैभन्दा रोचक विषय पूर्वराजा ज्ञानेन्दै शाहले घटनाको निन्दा गर्दै विज्ञप्ति निकाल्दा हिन्दूवादी शब्द प्रयोग गरे । राप्रपाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा हिन्दूत्व शब्द प्रयोग ग¥यो ।

नेपाली युवा सुदिप न्यौपाने समेतको हत्या भएको घटनामा आएको विज्ञप्ति स्वाभाविक हो । तर, विज्ञप्तिमा हिन्दूवादी र हिन्दूत्व शब्दको प्रयोग अर्थपूर्ण छन् ।

त्यसो त नेपाली काँग्रेसभित्रको एउटा समूहले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर विज्ञप्ति नै जारी गरे । कुलबहादुर गुरुङ, ओमकार श्रेष्ठ, विपिन कोइराला, लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, दिपकुमार उपाध्याय, रामचन्दै अधिकारी, सुरेन्द्र हमाल, लोकेश ढकालसहित ९ नेताको विज्ञप्तिमा राजनीतिक दल र तिनको नेतृत्वमा कार्य क्षमताको अभाव र चरम भ्रष्टाचारका कारण व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकायलगायत अधिकांश सरकारी निकाय र संस्थाहरुले जनताका बीचमा आफ्नो विश्वसनीयता गुमाएको अवस्था उल्लेख गरेका छन् ।

उनीहरुले नियोजित रूपमा बलजफ्ती धर्म परिवर्तनका कारण परम्परागत वैदिक सनातन धर्म संस्कृति र यसले निर्माण गरेको साझा मौलिक नेपाली पहिचान संकटमा पर्दै गएकाले राजनीतिक कोर्स करेक्सनको मुद्दा उठाएका छन् ।

काँग्रेसभित्र शंकर भण्डारीको समूह हिन्दूराष्ट्रको मुद्दा जोडतोडले उठाउँदै आएको छ । डा. शशांक कोइराला, एनपी साउदलगायत नेताहरू खुलेरै हिन्दूराष्ट्रको पक्षमा छन् । काँग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर अभियान नै चल्यो । यसले सभापति शेरबहादुर देउवालगायत प्रभावशाली नेताहरू झस्किन पुगेका थिए । यी घटनाहरू सामान्य होइनन् । जसको असर कम्युनिष्ट पार्टीहरूमा पनि पर्न थालेको छ ।

नेकपा एमालेको बैठकमा हिन्दूराष्ट्रको मुद्दा बिस्तारै पस्न थालेको छ । विगतमा महेश बस्नेतले यो एजेन्डा केन्द्रीय कमिटी बैठकमा उठाएका थिए । एमालेभित्र केपी शर्मा ओली नै ऋषिमुनीको शैलीमा धार्मिक प्रवचन दिन्छन् बेलाबखत । नेकपा माओवादी केन्द्रभित्र रामकुमार शर्माले यो मुद्दा उठाएकै हुन् । उनी अहिले जनता समाजवादी पार्टीमा छन् । पम्फा भुषाललगायतले धर्मको मुद्दामा माओवादी लचिलो बन्दै जानुपर्ने विषय प्रवेश गराएका छन् ।

यो यथार्थबीच काश्मिरको आतंकवादी हमलाले नेपाली राजनीतिमा धर्मको मुद्दालाई अझ बल दिन पुगेको छ । नखुलेकाहरू खुल्न थालेका छन् र खुलेकाहरू झन् आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । धर्मलाई राजनीतिबाट अलग राख्नुपर्छ भन्नेहरू नै धर्मलाई राजनीतिक मुद्दा बनाउन थालेका छन् । जसमा राजनीतिक दलका नेता देखि पूर्वराजासम्म देखिए ।

हिन्दूवाद या हिन्दूत्वको प्रयोगलाई वैचारिक र सैद्धान्तिक रूपमा अझ सशक्त बनाउने समूह संगठन नेपालभित्र सक्रिय छन् । त्यसका असर राजावादी मात्र नभई समाजवादी देखि साम्यवादीहरूमा पनि पर्न थालेको छ । विगतमा यो शब्दको प्रयोग विश्वभरका हिन्दुवादी सङ्घहरूले मात्र यो शब्द प्रयोग गर्दथे । अब परिस्थिति फरक भएको छ । वैचारिक रूपमा हिन्दूत्वको प्रभाव नेपालको महत्त्वपूर्ण शक्ति र संस्थामा परिरहेको यसबाट बुझ्न सकिन्छ ।

विगतमा आफूमाथिको प्रहारमा चुप लाग्ने हिन्दूहरू जागृत हुन थालेका छन् । नेपालका हिन्दुहरू अन्य देशका हिन्दूमाथिको आक्रमणविरुद्ध बोल्न थालेका छन् । चाहे त्यो बङ्गलादेशमा होस् या भारतको पश्चिम बँगालमा नै किन नहोस् । हिन्दूमाथिको आक्रमणमा आवाज उठेको छ । सहिष्णु बन्दा बन्दा लखेटिनुपर्ने या मारिनुपर्ने पीडामा हिन्दुहरू परे । हिन्दूकुस क्षेत्र, अफगानिस्तान, पाकिस्तान हुँदै बँगालदेशबाट हिन्दू लखेटिए । दक्षिण एशियाको नेपाल र भारतमा खुम्चिन वाध्य बनाइएका हिन्दूमाथिको प्रहार बढ्दो छ ।

काश्मिर घटनाले पाकिस्तानमााथि दबाब बढेकै छ । उसले घटनाको निन्दा नगरेकोमा विश्वभरबाट दबाब मात्र परेर आफ्नो विगत इतिहासको पाकिस्तानी अधिकारीले आलोचना नै गरे । पाकिस्तानका रक्षामन्त्री खावजा असिफले जिहाद अर्थात् धर्मयुद्ध पश्चिमाले सृजना गरेको टिप्पणी गरेका छन् । उनले जिहादको सृजनाले पाकिस्तान समेत चुनौती भोगिरहेको बताए । विगतका शासकले पाकिस्तानको चरित्र नै परिवर्तन गरिदिएको र अहिलेको अवस्थाको कारक बनेको टिप्पणी गरे । यसमा अमेरिका र बेलायत जस्ता पश्चिमा देशको हात रहेको उनको टिप्पणी थियो ।

अफगानिस्तानमा अमेरिकाको समर्थनमा भएको युद्ध, सेप्टेम्बर ११ को आतंकवादी हमलापछिको युद्धमा पाकिस्तान सहभागी हुनुलाई पनि गलत भने । त्यहाँको रक्षामन्त्रीको अभिव्यक्ति पाकिस्तान आफै आतंकवादको शिकार छ र यसका पछाडि पाकिस्तान नभई बाह्य शक्तिको भूमिका रहेको भन्ने प्रकारको छ । तर, पाकिस्तानी सेनाप्रमुखको पहलगाम घटनाअघिको अभिव्यक्ति विवादमुक्त थिएन ।

पाकिस्तानमा अल्पसंख्यक हिन्दूमाथि आक्रमण भइरहेको घटना गम्भीर छ । त्यसको असर बङ्गलादेशमा समेत परेको छ जहाँ हिन्दू लखेटिने र हिंसाको तारोमा पर्ने क्रम बढ्दो छ । यसबारे राज्यको तहबाट भारत मात्र बोलिरहेको छ ।

आतंकवादलाई संरक्षण दिएको आरोप पाकिस्तानमाथि लाग्नुको आधारहरू प्रशस्त छन् । अफगानिस्तानमा रुसविरुद्धको युद्धमा अमेरिकालाई साथ दिँदा तालिवानलाई पाकिस्तानले नै संरक्षण गरेको थियो । अल कायदाले समेत पाकिस्तानबाट साथ पायो । पछि अल कायदा नेता ओसामा बिन लादेन पाकिस्तानी भूमि अबोटावादमा मारिए । तालिवानले त सत्ता कब्जा अघि पाकिस्तानमा अड्डा बनाएका थिए ।

न्युयोर्क ट्रेड टावर अर्थात् जुम्ल्याहा भवन ध्वस्त पारिएको सेप्टेम्बर ११ पछिको युद्धमा पाकिस्तान अघोषित रूपमा सहभागी भयो । काश्मिरमा भएका कतिपय हमलामा पाकिस्तानमाथि आरोप लाग्यो । मुम्बई हमलामा पनि पाकिस्तानको भूमिकाको विषय आयो । यसकारण पनि पाकिस्तानले आतंकवादलाई साथ दिने गरेको आरोप लाग्ने गरेको छ ।

पाकिस्तानी सेना प्रमुखको हालैको विवादास्पद अभिव्यक्ति यसै उद्देश्यले प्रेरित छ । यी घटनाले नेपाल, भारतलगायत हिन्दू बाहुल्य देश तथा समाजमा जागरण ह्वात्तै बढेको छ । पहिलो पटक हिन्दुहरू संगठित भएर काश्मिर घटनामा बोले । अन्य देशमा पनि हिन्दूमाथि भएका आक्रमणमा जोडतोडले आवाज निकाले । जसको असर नेपालसम्म परेको छ ।

फलस्वरुप हिन्दूवादी शक्ति विभिन्न ढंगले सक्रिय हुनथालेका छन् । क्रियाको प्रतिक्रिया हुन्छ नै । हिन्दूहरुले एकपछि अर्को चुनौतीको सामना गर्दा गर्दा आफ्नो रक्षाका लागि एकतावद्ध हुनुको विकल्प देखेका छैनन् । आफ्नो पहिचान र अस्तित्वमाथि नै संकट आउन थालेको बुझेर जागरुक हुन थालेका छन् । त्यो जागरण नेपालका राजनीतिक दल, सामाजिक संस्था देखि समाजको तल्लो एकाईसम्म पुगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्