Logo
Logo

भारत-पाकिस्तान तनाव : दुवै देशको आ-आफ्नै दावी, उनीहरु के भन्छन् ?


4.4k
Shares

काठमाडौं । कश्मिरको पहलगामबाट तनाव सुरु अन्ततः भारत–पाकिस्तानबीच लडाइँको अवस्थामा पुगेका छन् । भारत र पाकिस्तानले दोस्रो रात पनि एकअर्कालाई हवाई तथा मिसाइल आक्रमण गरेका छन् ।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न भूभागमा ठूला–ठूला विस्फोटका आवाज सुनिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै, पाकिस्तानी भूभागहरूमा पनि रातिभरि भारतीय आक्रमण भएको पाकिस्तानबाट प्रकाशित हुने पत्रिका ‘द डन’ले जनाएको छ ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार शनिबार बिहान साढे ४ बजे भारतको जम्मूमा विस्फोटको ठूलो आवाज सुनिएको थियो । पाकिस्तानी ड्रोन देखिएपछि शुक्रबार राति जम्मू र हरियाणामा ब्ल्याकआउट गरिएको थियो ।

समाचारहरुमा जनाइएअनुसार जम्मू, साम्बा, बर्मर, जइसाल्मर, गुर्दासपुर, होसियारपुर, अमृतसर लगायतका ठाउँका सैन्य शिविरहरूलाई लक्ष्य गरेर पाकिस्तानले आक्रमण गरेको छ । यद्यपि, उसको हवाइ आक्रमण भारतको एयर डिफेन्स सिस्टमले निष्क्रिय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । श्रीनगर विमानस्थलमा ड्रोन हमला भएको छ ।

भारतले दुई रातमा ३०० देखि ४०० वटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । शुक्रबार राति भारतले पाकिस्तानका तीन वटा हवाई अड्डामा आक्रमण गरेको जनाएको छ । द डनले पनि तीनवटा हवाइ आधार क्षेत्रमा आक्रमण भएको तर त्यसलाई बिफल पारिएको दावी उल्लेख गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले राजधानी इस्लामावाद नजिकैको रावलपिण्डी र पश्चिमी पञ्जाबका हवाइ अड्डालाई लक्ष गरी भारतले मिसाइल आक्रमण गरेको बताएका छन् । उनले भनेका छन्, ‘नूर खान बेस, मुरीद बेस र शोरकोट बेसलाई निशाना बनाइएको थियो ।’ दुई दिनमा पाकिस्तानले भारतका ७२ वटा ड्रोन निष्क्रिय पारेको डनले जनाएको छ ।

पाकिस्तानले शनिबार बिहान सवा ३ बजेदेखि मध्याह्न १२ बजेसम्म हवाइ क्षेत्र बन्द गरेको छ । भारतले हवाइ क्षेत्र खुला राखेर पाकिस्तानले आफ्ना नागरिकहरूलाई खतरामा पारेको आरोप लगाएको थियो । शुक्रबार रातिको हमलाबाट दुई देशमा के–कति क्षति भयो भन्ने विवरण आइसकेका छैन ।

गत अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले बुधबार राति आधा घन्टासम्म पाकिस्तानका विभिन्न ९ वटा स्थानमा मिसाइल आक्रमण गरेको थियो । भारतले ती क्षेत्रहरूको आतंकवादी संगठनहरुको अड्डा रहेको दाबी गरेको थियो । त्यसदिन पाकिस्तानका ३१ जनाको मृत्यु र कम्तिमा ४६ जना घाइते भएको समाचार सार्वजिनक भएको थियो ।

जबाफमा पाकिस्तानले बिहीबार राति भारतीय भूभागहरुका ड्रोन र मिसाइल आक्रमण गरेको थियो । त्यसपछि दुई देशले एक–अर्कालाई आक्रमण गरेका थिए । बिहीबार राति भारतले लाहोरलको एयर डिफेन्स नष्ट पारेको दाबी गरेको थियो ।

भारतले ‘अप्रेशन सिन्दूर’ नाम दिएर पाकिस्तानविरुद्ध हमला सुरु गरेको हो । त्यसको जवाफमा पाकिस्तानले भारतविरुद्ध ‘अप्रेशन बुनयान–उल–मरसूस’ सुरु गरेको घोषणा गरेको छ । जसले दुई आणविक शक्ति राष्ट्रबीच पूर्ण स्तरको युद्धको मोडमा पुगेका छन् । भारत र पाकिस्थानबीच युद्ध चर्किदै गएपछि अमेरिका र पश्चिमा राष्ट्रहरुले सयंमता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्