Logo
Logo
कला/जम्काभेट

‘कला क्षेत्रमा नामसँगै दाम पनि कमाइन्छ’


882
Shares

फिल्म क्षेत्र भाग्य अज्माउन प्रयासरत छिन् अश्विनी शाही । ‘द्रौपती’मार्फत फिल्ममा डेब्यू गरेकी अश्विनी भन्छिन्, ‘कला क्षेत्र मेरो सानैदेखिको रुचि हो ।’ उनले म्युजिक भिडियो हुँदै फिल्ममा फड्को मारेकी हुन् । अश्विनीले ३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । कला क्षेत्रबाट नाम कमाउने उनको लक्ष्य छ । नेपाली फिल्ममा मात्र नभएर उनले भारतीय फिल्ममा पनि काम गरिसकेकी छिन् । ‘नाम कमाउनका लागि कला क्षेत्र राम्रो प्लेटफर्म हो’ उनी भन्छिन्, ‘यो क्षेत्रमा नामसँगै दाम पनि कमाइन्छ ।’ अभिनेत्री अश्विनी शाहीसँग दृष्टि संवाददाताको जम्काभेट :

कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
कलाकारितामा मेरो सानैदेखि इच्छा र रहर थियो । त्यसैले एसएलसी दिएपछि डान्स सिकेँ । डान्स सिक्ने क्रममा धेरै जनासँग भेट भयो । र, चिनेजानेका साथीमार्फत शिव परियारको गीतमा मोडलिङका लागि अफर आयो । त्यसपछि फाटपुट काम पाउन थालेँ । विज्ञापनहरू पनि गरेँ । खासै गीतहरू नचलेपनि काम पाइरहेँ । सोही क्रममा फिल्म ‘द्रौपती’मा लिड रोल पाउँदा निकै खुशी भएकी थिएँ ।

त्यो फिल्ममा कसरी लिड रोलमा काम गर्ने मौका पाउनुभयो ?
मैले करिब चार सय जनालाई अडिसनमा उछिनेर त्यो फिल्म पाएकी हुँ । कर्णालीबासीको लवज बोल्न सक्ने भएकोले नै म त्यो फिल्ममा छनोट भएकी हुँ । भाषाले गर्दा ‘द्रौपती’मा आउन बलिया आधार बन्यो । ‘द्रौपती’ पात्रको क्यारेक्टरमा सम्भवतः मलाई नै सुहाएर होला, छनोट भएँ ।

अडिसन दिँदैगर्दा छानिन्छु भनेर सोच्नुभएको थियो ?
जे काम गर्दा पनि आशा लिएर गरिन्छ । मलाई आशा, उत्साह र हौसला थियो । म कर्णालीको भाषा प्रष्टसँग बोल्न र बुझ्छु । त्यसैले पनि क्यारेक्टर अनुसार छनोट हुन्छु भन्ने अपेक्षा गरेकी थिएँ ।

‘द्रौपती’को छायाँकन दुर्गम कर्णालीमा गरिएको छ, कतिको गाह्रो भयो ?
कर्णाली जस्तो बिकट क्षेत्रमा छायाँकन गर्न दुःख थियो । तर, फिल्मले सकारात्मक प्रतिक्रिया पाउँदा धेरै खुशी मिल्यो । यो नै सफलता हो । फिल्म ‘द्रौपती’ले कर्णाली क्षेत्रको विद्यमान बहुपति प्रथाबिरुद्ध बोलेको छ । सुरुमा यो फिल्म कस्तो होला, के होला भन्ने लागेको थियो । तर, फिल्मबाट सकारात्मक प्रतिक्रिया पाउँदा सबै दुःख बिर्सिएँ । फिल्मको कथाले राम्रो मुद्दा उठाएको छ ।

तर, फिल्म खासै चलेन नि, किन ?
चलेन भन्नचाहिँ मिल्दैन । अरु नेपाली फिल्म हेरी ‘दौपती’ राम्रो चल्यो । यो फिल्म दुई हप्ता रामै्र चल्यो । ‘द्रौपती’ रिलिज हुँदा प्रतिस्पर्धा थियो । कुन हेर्ने र कुन नहेर्ने भन्ने दर्शक दोमन भइरहेका बेला ‘द्रौपती’ चलेको थियो । साँच्चै भन्ने हो भने ‘द्रौपती’ राम्रो फिल्म बनेको छ । ‘द्रौपती’ले ‘नेपाल अफ्रिका इन्टरनेश्नल फिल्म फेस्टिवल’मा स्पेशल अवार्ड पाएको छ भने अन्य विभित्र इन्टरनेशनल फिल्म फेस्टिवलहरूमा पनि छनोट भएको छ । अब यो फिल्म जेठमा जापान र युरोपमा प्रदर्शन हँुदैछ । यो फिल्म र हाम्रो टिमको सफलता हो ।

तपाइँले भारतीय फिल्ममा पनि काम गर्नुभएको छ ?
हो, यो कुरा धेरैलाई थाहा नहुन सक्छ । मैले भारतीय फिल्म प्रोडुसर सरोज पण्डित र निर्देशक रमाकान्तको फिल्म ‘मेन्टल आशिक’मा काम गरेकी छु । जसमा मेरो मुख्य भूमिका रहेको छ । अहिले फेरि नयाँ भारतीय फिल्म ‘डेन्जर जोन’मा पनि काम गर्दैछु । निर्माता सरोज पण्डित र अनुपमकुमारको निर्देशनमा बन्न लागेको यो फिल्ममा मेरो अपोजिट रोलमा सावन कुमार रहने छन् ।

भारतीय फिल्म उद्योगमा कसरी पुग्नुभयो ?
सामाजिक सञ्जालमा मेरो फोटो देखेर फिल्म प्रोडुसर सरोज पण्डिलले नै अफर गर्नुभयो । त्यतिबेला उहाँलाई फ्रेस अनुहार चाहिएको थियो । सामाजिक सञ्जालबाटै कामको अफर आएको हो भन्दा फरक पर्दैन ।

नेपाली र भारतीय फिल्ममा काम गर्दा के फरक पाउनुभयो ?
कथा र बिषयबस्तु सोचअनुसार फरक भइहाल्छ । टेक्निकल पाटोदेखि काम गर्ने आ–आफनो तरिका हुन्छ । म मुल्याँकन गर्न सक्दिनँ । किनभने म भर्खरै यस क्षेत्रमा आउँदैछु, देख्दैछु । भारतीय फिल्ममा मैले लभस्टोरी कथामा काम गरेकी थिएँ भने यता ग्रामिण रोल्पाको दुःखद पीडाको कथामा काम गरेँ । यसले गर्दा पनि होला म भन्नै सक्दिनँ ।

तपाइँको प्राथमिकता भारतीय कि नेपाली फिल्म ?
नेपाली फिल्मलाई नै बढी प्राथमकिता दिएकी छु । किनकि, नेपाली फिल्मबारे धेरै कुरा बुझ्न र काम गर्ने रहर छ । सकेसम्म धेरैभन्दा धेरै नेपाली फिल्ममा काम गर्ने मेरो सोच छ ।

नेपाली फिल्ममा धेरै नयाँ नायिकाहरू आइरहेका छन् । त्यो भीडमा जम्न सकिएला त ?
प्रयास गर्ने हो । काम गर्दै जाँदा भाग्यदय पनि हुन सक्छ । मलाई पनि सफलता पाएका सुपर स्टारहरूसँग काम गर्ने रहर छ । धेरै नयाँ कलाकारहरूले यो अवसर पाइरहेका पनि छन् । म पनि आफ्नो कामबाट चिनिन चाहन्छु ।

नयाँ प्रोजेक्टहरू के के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियो र फिल्महरूमा कामको अफर आइरहेको छ । केही फिल्ममो स्क्रिप्ट हेरिरहेकी छु । चाँडै नयाँ फिल्ममा काम गर्छु । फिल्ममा काम गर्न म भारत पनि जान सक्छु । त्यसका लागि पनि केही तयारी गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्