
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि तयारी थालेको छ । यसका लागि सशस्त्रले देशभर नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरु गरेको छ ।
जसमा टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने तय भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो ।
उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको थियो । विपद् सूचक अन्तर्गत आफ्ना पूर्वकर्मचारी समेत यसमा सहभागि गराउँदै सशस्त्रले वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने तयारी थालेको छ ।
साथै विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण सशस्त्र प्रहरीको छ । यसका साथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रुपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ ।
सशस्त्रका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिने सह–प्रवक्ता थापाले जानकारी दिए ।
परिचालन ढिला नहोस् र सम्बन्धित ठाउँमा पुग्न अलमल नहोस् भनेर आफ्नो जिम्मेवारी क्षेत्रभित्र सबै युनिटले विपद् जनचेतना तथा रेस्पोन्स पट्रोल संचालन गरी आफ्नो एरिया बारेमा जानकार रहन समेत मातहत युनिटलाई निर्देशन दिइएको उनले बताए ।
यसैगरी सशस्त्रले समुदाय लक्षित विपद् सम्बन्धी स्वयमसेवक तालिम शुरु गरेको छ । मनसुनजन्य प्रकोप न्यूनिकरण र उद्वारको स्पष्ट खाका तयार भएसँगै सबै बाहिनीपति, गणपति तथा गुल्मपतिसम्मलाई भर्चुअल माध्यमबाट त्यससम्बन्धी आवश्यक निर्देशन समेत दिईनेछ ।
सशस्त्र प्रहरी बलको हाल कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय तथा काठमाडौँको उपत्यकामा विपद् व्यवस्थापन गण रहेको छ । यसैगरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपद् व्यवस्थापन वेश स्थापना भएका छन् ।
हाल सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति २ हजार ४ सय ८५ जना छन् भने गोताखोरको संख्या १ सय ८ पुगेको छ । सशस्त्र प्रहरी बलसँग हाल ३३ मोटरबोट तथा ९१ ¥याफ्टबोट रहेको छ । मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको १३ वटा डोजर, लोडर र एक्जाभेटरसहित तालिम प्राप्त जनशक्ति तयारी छ ।
जसमध्ये सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ३ वटा, नं. १ बराह बाहिनी मुख्यालय सनुसरीमा २ वटा, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा १ वटा, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा ३ वटा, नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा १ वटा र नं. २४ कालिका गण कास्कीमा २ वटा हेभी इक्युपमेन्ट तयारी हालतमा राखिएको छ ।
यसैगरी देशका ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा १ सय २४ वटा मोटर बोट र ¥याफ्ट बोट तथा १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपाल कार्यालयहरुमा २८ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस कन्टेनर) समेत तयारी हालतमा राखिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल १÷१ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स राखिएको छ ।
त्यस्तै ए क्लासको एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १÷१ वटा राखिएको छ ।
१ सय ८ जना गोताखोरहरुलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, विपद् व्यवस्थापन वेश खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, रेस्क्यु टावर फेवाताल कास्की, नारायणी नदि किनार चितवन र सबै विपद् व्यवस्थापन वेशमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु परिचालित रहेका छन् ।
यसका साथै विपद्् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरु, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरुमा एक÷एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरुमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ रहने छन् । त्यसैगरी उपत्यकामा ७, कास्कीमा २, पश्चिम नवलपरासीमा, बाँकेमा र कैलालीमा १÷१ वटा गरी जम्मा १२ वटा डिप ट्युवेल मनसुन प्रतिकार्यको लागि तयारी हालतमा राखिएको छ ।











