Logo
Logo

अनुभूति अनित्यता र विपश्यना


3.2k
Shares

समयको कुरा गर्दा विगत त जहिले पनि गइसकेकै हुन्छ, भविष्य आएकै हुँदैन, जे छ, त्यो त वर्तमान नै हो भनिन्छ । तर यही ‘वर्तमान’ पनि यति धेरै चिप्लो छ कि त्यसलाई पनि पक्रिन हामी सक्तैनौँ । एक पल वा एक सेकण्ड मात्र होइन, ‘अहिले’ भनुन्जेलमै त्यो बितिसकेको हुन्छ ।

मिलिसेकण्ड, माइक्रोसेकण्डलाई पनि अझै विभाजन गर्न सकिन्छ । अर्थात् ‘वर्तमान’ भन्नु पनि अविरल प्रवाह हो । यसरी हेर्दा ‘समय’ भन्नु नै परिवर्तनको प्रवाहबाहेक अरु केही होइन । कुनै कुरा स्थिर छैन यो अस्तित्वमा । बगिरहेको पानीलाई हेरौं या बलिरहेको बत्तीलाई ।

सोमबार बुद्ध पूर्णिमाको दिन, बौद्ध विहार र साहित्यिक कार्यक्रमहरूबाट निम्तो आइरह्यो । कता जाउँ कता जाउँ भइरहेको यतिबेला मनको भित्री तहले भने घरमै बसेर केही गर भनिरह्यो । दुई महिनाअघि आफ्नै जन्मदिन विपश्यना केन्द्रमा बिताउन मन लाग्यो । दशदिन लामो ध्यानको अनुभूतिलाई कुनैदिन लेख्नुपर्छ भन्ने लागेको थियो । योभन्दा उपयुक्त अर्को दिन कहिले होला र ?

पहिलो पल्ट विपश्यना २०५८ मा राज दरवार हत्या काण्डपछि मन असाध्य अशान्त भइरहेको बेला मेरी छोरीले पठाएकी थिई । मेरो बेचैन मनस्थितिलाई उसले नजिकबाट देखेको भएर– ‘मामु एकपल्ट विपश्यना जानुस्’ भनी । उसैको प्रेरणा र सल्लाहले म गएकी थिएँ बुढानीलकण्ठको धर्मशृङ्ग विहारमा ।

राजदरवारमा त्यत्रो पहरा र पर्खालबीच पनि कसरी राजपरिवार र अरुको समेत एकैपल्ट विनास भयो ? मैले कहिल्यै कल्पनासम्म पनि नगरेको कुरा थियो त्यो । आकाशै खसेजस्तो भएको थियो ।

व्यक्तिगत तहमा राजपरिवारसँग मेरो कुनै किसिमको सम्बन्ध थिएन । तर देशमा घटेको एउटा ठूलो दुर्घटना थियो । तत्कालै विश्वभरी यसको समाचार फैलियो ।

हामी त्यतिबेला भर्खरै हात्तीगौंडाको सानो घरमा सरेका थियौँ । जम्मा १५ दिन मात्र भएको थियो । सरोज पनि त्यतिबेला अमेरिका र क्यानाडाका मेडिकल स्कूल र युनिभर्सिटी अवलोकन गर्न गएका थिए । म र दुई छोरीहरू मात्र थियौं नयाँ र एकान्त घरमा । नयाँ बस्तीमा बानी नपर्दै त्यो दुर्घटना र विनाशले अकल्पनीय तनाव थपिदियो । कस्तो अनिश्चित हुँदोरहेछ जीवन ! यही तनावबाट मुक्ति मिलोस् भनेर छोरीले मलाई विपश्यना केन्द्रमा ध्यान गर्नु भनेकी थिई ।

त्यो पहिलो पटकको ध्यान शिविरमा १० दिन चुपचाप सात्विक भोजन खाएर कसैसँग नबोली आर्य मौनमा लगायत सम्यक शीलको पालना गर्दै दैनिक १० घन्टा ध्यानमा बस्दा म अर्कै क्षेत्रमा छु भनेजस्तो लाग्यो । म बस्ने कोठामा पहिले कहिल्यै नचिनेकी रुममेट एक अनुशासित भिक्षुणी थिइन्– मदर टेरेसाकी अनुयायी । सेतो धोतीमा थिइन् उनी । उनको रहनसहन र अनुशासनले पनि मलाई सकारात्मक प्रभाव पारिरहेको थियो– आपसमा बोलचाल नभए पनि ।

गुरु सत्य नारायण गोयनकाको भिडियो रेकर्डले मार्ग प्रदर्शन गरिरहेको हुन्थ्यो, सहायक आचार्य गुरु गुरुमाहरू आफै पनि ध्यानस्थ भएर सबैको सुपरिवेक्षण र मार्गदर्शन गरिरहनु भएको थियो । आवश्यक पर्दा उहाँहरू सँग भने ध्यान अभ्यासकै सम्बन्धमा भने कुरा गर्न मिल्थ्यो । त्यो बेलाको धर्मकक्ष भिन्दै थियो । एकातिर महिला र अर्कोतिर पुरुष साधकहरू बस्थे । भेट्न पाइँदैनथ्यो १० दिनसम्म पुरुष साधकहरूको बस्ने–खाने ठाउँ र बाटो नै भिन्दै हुन्थ्यो ।

मैले विपश्यना जाने पहिलो अवसर छोरीको करले पाएँ । पछि पछि भने स्वेच्छाले गएँ । एकपल्ट लुम्बिनीमा पनि बसेँ । तीनै पल्टको विपश्यनाको नियम र शीलको उस्तै अनुभव थियो । भित्री तहको अनुभूति भने फरक फरक भएको छ ।

पहिलोपल्टको अनुभव बिर्सिन सक्दिनँ । त्यसैपटक जे जति अनित्यबोध भयो, पहिले कहिल्यै भएको थिएन । मन अलि बढी नै संवेदनशील भएको बेला भएर पनि होला, प्रत्येक पटकको ध्यानमा गुरुले दिने अनित्यताको पाठले मन छुन्थ्यो । अनित्य, अनित्य, अनित्य … सबैकुरा अनित्य !

विभिन्न तहका सत्तामा बस्नेहरूले यो संसार र सत्ता मेरै मात्र हो र यो स्थिर छ वा स्थिर रहनुपर्छ भन्ने ठान्छन् । आफै मात्र कसरी शक्तिशाली र धनी भइरहने भनेर सोच्नेहरू धेरै हुन्छन् । तर जीवनकै कुनै भरोसा छैन । एकदिन खाली हात जानुपर्छ भनेरसमेत सोच्न भ्याएका हुँदैनन् धेरैले ।

संसारमा दुःख त छ नै । राजकुमार सिद्धार्थले त्यत्तिकै बहुलाएर राजकाज त्याग गरेका थिएनन् । प्रज्ञा र सत्यको खोजमा त्यसै हिंडेका थिएनन् । मान्छे बुढो हुँदै जानुपर्ने, शरीर एकनाश नरहने, बिरामी हुनुपर्ने र एकदिन मर्नु पनि पर्ने ‘जन्म मृत्यु जरा व्याधि’ जस्ता कुराले अनित्यताको पहिलो दर्शन गराएको हुनसक्छ । तर बुद्धत्व प्राप्त गरुञ्जेलसम्ममा अनित्यताका अनेक सूक्ष्म पक्षको पनि ज्ञान प्राप्त गरिसक्नुभएको थियो भगवान बुद्धले । सबै प्राणीको हितको निम्ति भनेर कठोर तपस्या र विपश्यनाबाट प्राप्त प्रज्ञाको बाटो चार दशक देखाइरहनु भयो शास्ताले ।

बुद्ध पूर्णिमाकै दिन जन्मनु भएका सिध्दार्थ यही दिन बुद्धत्व प्राप्त गरेर ४५ वर्षसम्म आफूले प्राप्त गरेको ज्ञान बाँड्दै ८० वर्षको उमेरमा महाप्रस्थान गर्नुभयो । संसारको भवचक्रबाट मुक्त हुनुभयो ।

विपश्यनाले शरीर मन दुबै क्षण प्रतिक्षण कसरी परिवर्तित भइरहेको छ, कसरी केही पनि शाश्वत र पूर्ण स्वतन्त्र छैनन्, हरेक वस्तु र घटना कसरी अन्तरनिर्भरतामा रहेका हुन्छन्, कुनैपनि कुरा पूर्णतया सन्तोषजनक किन हुँदैन जस्ता सत्य बोध हुँदै जाने रहेछन् । त्रिलक्षण– अनित्य, अनात्म र दुःख सत्यको प्रत्यक्ष बोध अनुभूतिकै तहमा गर्ने बाटोमा विपश्यनाले लैजाने रहेछ ।

बौद्धिक तहमा केही बुझे पनि अनुभूतिकै तहमा यो सत्यलाई उतार्न निरन्तर अभ्यास र साधना गरिरहनुपर्ने रहेछ । कुनै कुनै बेला केही क्षण ‘शून्यता’को अनुभव पनि हुँदोरहेछ कसैकसैलाई । तर यी त्रिलक्षणलाई स्पष्ट ‘देख्दै’ चित्त शुद्ध पार्दै अघि बढ्न र अमूल्य मानव जीवनको महत्व बुझ्नका निम्ति प्रज्ञा, शील, समाधिको निरन्तर अभ्यास नभइ नहुने रहेछ ।

विपश्यना ध्यानको अनुभूति सबैलाई एकैकिसिमको हुन्छ भन्ने छैन र सधैँ उस्तै हुन्छ भन्ने पनि छैन । साधकहरूको स्वभाव र संस्कारमा धेरै कुरा भरपर्छ । यो लेखेर वा बोलेर शब्दमा अटाउने कुरा पनि होइन रहेछ । तर विपश्यनामा बसुञ्जेल कम्तिमा १० दिनका निम्ति पञ्चशीलको पालना गर्दा मात्रै पनि जीवनमा राग द्वेष जस्ता क्लेषहरू कसरी मनमा आउने रहेछन् भन्ने कुरा थाहा पाइन्छ । सबैको कल्याणको कामना गर्ने चाहना जाग्ने रहेछ । सबैको मंगल होस् !

प्रतिक्रिया दिनुहोस्