Logo
Logo

बाग्लुङ प्रहरीमा बढ्दो विकृति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ साउन । नियमन र कारबाही प्रणाली बलियो हुन नसक्दा प्रहरीभित्र विकृति बढ्दो छ । मुद्दामा चलखेलदेखि अवैध धन्दामा साथ दिएर फाइदा लिने प्रवृत्ति बढ्दै गएको छ । बाग्लुङमा प्रहरीले ज्यान मुद्दामै चलखेल गरेको पाइएको छ । गत ६ बैशाखमा जिल्लाको गल्कोट नगरपालिका ५ मा स्थानीय पुरन रानाभाटको जंगलमा मृत्यु भएको थियो । सो घटनालाई भवितव्य बनाएर दोषीलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै माथिल्लो निकायमा उजुरी परेको छ ।

मुक्ति रोका, विकास श्रेष्ठसँग ती युवक सिकार खेल्न बन्दुक लिएर जंगल गएका थिए । मृग मार्ने क्रममा रानाभाटलाई गोली लागेको पीडित परिवारको दाबी छ । तर, भिरबाट लडेर मृत्यु भएको भनेर पीडकलाई उन्मुक्ति दिएको आरोप लागेको छ । त्यतिबेला बाग्लुङको एसपीमा नवराज भट्ट थिए । उनकै मिलेमतोमा सो घटनाको निष्पक्ष छानबिन नभएको बताइन्छ । अहिले गएका एसपी शारदा प्रसाद चौधरीमाथि पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन् ।

इप्रका हरिचौरका इन्सपेक्टर केशवसिंह थापाको समेत शंकास्पद भूमिका रहेको स्रोत बताउँछ । उनले घटना भवितब्य जस्तो रहेको भनेर मुचुल्का बनाएका थिए । बत्ती गएको बेला मुचुल्का रिपोर्टमा आफुहरुलाई सही छाप गर्न लगाएको पीडितको भनाइ छ । त्यतिबेला पीडितको परिवारलाई समेत आर्थिक सहयोग दिने आश्वासन दिई घटनाको अनुसन्धान नै प्रभावित पारिएको थियो ।

यसमा इप्रका हरिचौरका इन्सपेक्टर केशवसिंह थापाको समेत शंकास्पद भूमिका रहेको स्रोत बताउँछ । उनले घटना भवितब्य जस्तो रहेको भनेर मुचुल्का बनाएका थिए । बत्ती गएको बेला मुचुल्का रिपोर्टमा आफुहरुलाई सही छाप गर्न लगाएको पीडितको भनाइ छ । त्यतिबेला पीडितको परिवारलाई समेत आर्थिक सहयोग दिने आश्वासन दिई घटनाको अनुसन्धान नै प्रभावित पारिएको थियो ।

पर्याप्त प्रमाण नभएको भन्दै एसपी चौधरीले हाल मुद्दा दर्ता गर्न मानेका छैनन् । जसकारण पीडित पक्ष आइतबार गृह मन्त्रालयसम्म पुगेको छ । सुरुमै प्रहरीले प्रमाण नष्ट गरेकाले यो घटनाका कारण प्रहरुी विवादमा पर्ने देखिएको छ ।

उता बाग्लुङमा इन्सपेक्टर हेम केसीको आफ्नै धन्दा छ । बाग्लुङ र पर्वतको सीमामा रहेको मालढुंगा क्षेत्रमा सञ्चालित क्रसरहरुमा उनको सेटिङ रहेको स्रोत बताउँछ । मासिक नबुझाए उनी पक्राउ गर्न जाने गरेका छन् । एसपी बिदामा भएको बेलामा त्यसरी उनी क्रसर सञ्चालकलाई पक्राउ गर्न गएको विषय विवादित बनेको छ । सीमा क्षेत्र नाघेर पर्वततर्फ गएर कारबाही गरेपछि उनी विवादमा परेका हुन् ।

उनी पर्वतका स्थानीय हुन् । जसकारण त्यहाँका सेटिङका आधारमा आफु निकटलाई जोगाउने र अरुलाई दुःख दिने गरेको स्थानीयको भनाई छ । केही दिनअघि मालढुंगामा पर्वततर्फ पाँच जनालाई पक्राउ गरिएको थियो । जसमा पक्राउ परेका सबै छाडेर चाबी मात्र नियन्त्रणमा लिएको पर्वतका डिएसपी विश्वराज अधिकारीले बताएका छन् । असुलीकै विषयलाई लिएर यो घटनाले पर्वत र बाग्लुङको प्रहरीबीच विवाद बढेको छ । खोलामा जेसिभी लगाउन नपाउने भएपछि सिडिओ र प्रहरीकै मिलेमतोमा कालिगण्डकी नदीमा क्रसर व्यवसायीहरुको दोहन बढेको छ ।

हरेक जिल्लामा अवैध क्रसर प्रहरीको आम्दानीको प्रमुख स्रोत बनेको छ । कतिपय जिल्लामा त क्रसर व्यवसायीले नै आफु निकट सिडिओ र प्रहरीलाई आफ्नो जिल्लामा लैजाने गरेका छन् । यो कुरा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कत्तिको थाहा छ ? थाहा नभए बुझ्ने प्रयास गर्दा प्रहरीको छवि सुध्रिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्