Logo
Logo

मेरो सुखदुःखको साक्षी


राजकुमार दिक्पाल

12.5k
Shares

समय पनि कति सजिलैसँग सुलुलु चिप्लेर जाँदोरहेछ ! कहिलेकाहिँ विगतप्रति यति लोभ र भोक जाग्छ कि त्यो फेरि थपक्कै फर्केर आइदिए हुनेजस्तो लाग्ने । तर, त्यो लोभलाग्दो विगत मेरो लागि फेरि फर्केर आउँदैछ, एउटा बेग्लै स्वरुपमा ।

त्यो बेला धनकुटा नगर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम थियो । हरेक पाँच वर्षमा राजारानीको भ्रमणमा सवारी मुकाम धनकुटामै रहन्थ्यो । राजारानीलाई स्वागत गर्न नगरलाई बेहुली सिंगारिएझैँ झकिझकाउ बनाइन्थ्यो । नगरबासीलाई अतिथी सत्कार गर्न भ्याइनभ्याई हुन्थ्यो । त्यो झिलिमिली साह«ै रमाइलोको क्षण हुने गथ्र्यो हामी केटाकेटीहरुका लागि ।

२०४४ सालको हिउँदमा राजारानीको भ्रमणताकाकै समयमा हाम्रो घरनेर छिमेकीका रुपमा एक जना सोझी तर देख्दैमा निर्दोष लाग्ने एक जना किशोरीको आगमन हुन्छ । भोटेचौतारा नामको हाम्रो टोलमा टोले–चर्चा हुन्छ, ‘बाजेको छोरी रे, अब यतैको स्कूल पढ्न आएको रे !’

धरान–धनकुटा राजमार्ग (मदन भण्डारी राजमार्ग) बेलायत सरकारको अमूल्य उपहार हो, नेपालका लागि । यो राजमार्गको स्थानीय क्षेत्रमा प्रभाव अध्ययनका लागि बेलायत सरकारले कोशी पहाडी क्षेत्र विकास परियोजना (खार्डेप) सञ्चालन गरेको थियो । यो परियोजनामा काम गर्नेहरुमध्ये एबी (अमरबहादुर), बीबी (बीरबहादुर) र सीवी (चन्द्रबहादुर) तीन जना पनि थिए ।

अनुक्रमणिका मिलाएर हेर्दा पनि गजबले मिलेको नाम एबी, बीबी र सीबी । तीमध्ये एबीको थर राई र अनि बीबी र सीवी चाहिँ लिम्बू । यी तीन जना एकापसमा साह«ै आत्मीय थिए । तिनै एबीले आफ्नो गाउँ संखुवासभाको दिदिङबाट माध्यमिक विद्यालय तहको अध्ययनका लागि छोरीलाई धनकुटा झारेका थिए । हाम्रो टोलबासीहरु एबीलाई ‘बाजे’ सम्बोधन गर्थे । सीबीलाई ‘मामा’ भन्थे । एबी संखुवासभाली, सीबी तेह«थुमबासी र बीबी चाहिँ धनकुटाबासी मेरो आफ्नै जेठा दाजु ।
यहाँ उनै ‘एबी बाजेकी छोरी”को विषयमा केही चर्चा गर्न लागिरहेको छु ।’

मेरा माहिला दाजु डम्बर कुनै समय ठूला क्रान्तिकारी सांस्कृतिक योद्धा थिए । धनकुटाका बामपन्थी नेता गोपाल गुरागाईँको उत्प्रेरणा र आफ्ना दौतरी रेख ब्लोनसँगको हातेमालोमा उनले २०३७–३९ सालको अवधिमा धनकुटा नगरको बामपन्थी आन्दोलनलाई जुरुक्कै उचालेका थिए । हाम्रो घर भूमिगत नेताका लागि सुरक्षित आश्रयस्थल थियो । यस्तो गतिविधिमा लाग्ने मेरा दाजु डम्बरको २०३८ सालमा सरकारी जागिर खोसिएको थियो ।

२०४१ सालसम्म उनले पार्टीले सञ्चालन गरेको पुस्तक पसलमा बिताए । त्यसपछि उनी पुख्र्यौली थलो ताप्लेजुङको हाङपाङतिर लागे । त्यहाँभन्दा पनि अझै दूर्गम गाउँमा गएर केही समय एक प्राथमिक विद्यालयमा पढाए । उनी धनकुटा–ताप्लेजुङ आऊजाऊ गरिरहन्थे ।

अचानक २०४४ सालको हिउँदमा उनले ताङ्खुवा गाउँ र धनकुटा नगर जोडिने एक ठाउँमा चौतारा बनाउने मनासय ब्यक्त गरे । चौतारो बनियो । चौताराको नाम राखियो, मायालु ‘चौतारा’ ।

चौतारा किन बनियो, हामी केटाकेटीलाई के थाहापत्तो ?

तर चौतारा उद्घाटन भएको दिन सानोतिनो भोज चलेको थियो । त्यहीँ चौतारामा चल्यो अर्को एउटा समारोह, मितेरी सम्बन्धको । बीबीले आफ्नी कान्छी बहिनी र एबीले आफ्नी छोरीलाई त्यहीँ मीत लगाइदिए । मितेरी साइनोले अब एबी बाजे हाम्रा मीत बुबा भए ।

पछि थाहा पाएअनुसार ताङ्खुवाकी एक युवतिसँग मेरा दाजु डम्बरको प्रेम रहेछ । तर त्यो प्रेम सफल हुन सकेन । त्यहीँ असफल प्रेमले वैरागिएका उनले स्मारकका रुपमा चौतारा बनाउने निर्णय गरेका रहेछन् । उनलाई परिवारका सबै सदस्यले यसमा साथ दिए । अझ जेठा दाजुले चौतारा बनाउन तन, मन र धन समर्पण गरेको स्पष्ट थाहा छ मलाई ।

तर दाजुको मनमा लागेको घाउमा क्रमशः खाटा बस्दै गयो, उनले नयाँ घर बसाए । चौताराको अहिले त नामोनिशान छैन । दाजुको पनि पाँच वर्षअघि देहान्त भयो । चौतारा बनाएर कसले के पाए, मलाई थाहा छैन । तर त्यहीँ चौतारालाई साक्षी राखेर जोडिएको मितेरी सम्बन्धबाट मैले भने एक सिर्जनशील र आत्मीय बहिनी पाएँ, कविता राई गाउँले ।

कविता र मैले एउटै विद्यालयबाट पढाईलाई अगाडी दौडायौँ । गोकुण्डेश्वर माविमा म कक्षा १० मा पढ्दा उनी कक्षा ८ को विद्यार्थी । म पढाईमा राम्रै थिएँ । मीत बुवाबाट पाएको थिएँ, उनको रेखदेख गर्ने जिम्मा । कसोकसो म उनको अनौपचारिक शैक्षिक परामर्शदाता पनि हुन पुगेछु । एसएलसीको ढोका पार गरेपछि मैले नै लगेर धनकुटा बहुमुखी क्याम्पसमा उनको नाम मात्रै लेखाइदिइनँ, उनलाई विद्यार्थी कार्यकर्ता पनि बनाएँ । उनी प्रत्येक कविता गोष्ठीमा दमदार कविता वाचन गर्ने भइन् । हामीले सञ्चालन गर्ने गरेको भित्तेपत्रिकाको उनलाई सम्पादक पनि बनायौँ ।

क्याम्पसको परिसर टेक्नुअघि एउटा नक्कली काम पनि गरेँ मैले । उनको फोटो मागेर एक टुक्रा कविता लेखेर “चाँदनी” नामको पत्रिकामा उनको नाममा छपाएँ, २०४७ सालमा । यसको एउटै उद्देश्य थियो, कवितालाई काब्यिक क्षेत्रमा प्रवेश गराउनु । यस हिसावले त मेरो कविताभन्दा कविता राई गाउँलेको कविता पो जेठो भएको छ, प्रकाशनको दृष्टिले ।

त्यसबेला कविता लेखनमा हुरुक्क हुने मैले यतिखेर एकै टुक्रा कविता लेख्न सकिरहेको छैन, तर निरन्तरको साधनाले उनलाई एक जब्बर कविको रुपमा स्थापित गरिसकेको छ ।

मलाई घस्रेरै भए पनि अध्ययन र लेखनलाई निरन्तरता दिन बारम्बार चिमोटिरहन्छिन् उनी । यसको ज्वलन्त उदाहरण हो, मेरो इतिहाससम्बन्धी पहिलो किताब ‘आदिवासी विद्रोहको इतिहास’को प्रकाशन । उनकै सौजन्यमा यो किताबको प्रकाशन सम्भव भएको हो । यो किताब मेरो लागि इतिहास अन्वेषणमा कोशढुङ्गा सावित हुनपुगेको छ ।

चार दशक हुनै लागेछ, कवितासँग घनिष्टता भएको । उनी मेरो सुखदुःखको पक्का साक्षी हुन् । मेरो सिर्जना यात्रामा मात्र होइन, ब्यावहारिक जीवनमा पनि उनको सद्भाव र सहयोग अविस्मरणीय छ । हामी दुई यस्ता दाजु–बहिनीको हौँ, हामी फरक आमाबाबुको कोखमा जन्म्यौ, त्यसैले हामीमा रगतको साइनो त रहेन । तर आत्मिक साइनो रगतको साइनोभन्दा कम महत्वको हुँदो रहेनछ ।

कविताको विहे हुने भयो, २०५६ साल वैशाखमा । मोरङको गच्छियास्थित माहिली दिदीको घरमा विवाहको स्थान तोकियो । माओवादीको बन्द र हवाई यातायात पनि रद्द भएपछि दाजु मानबहादुर (कविताको खास दाई) को विवाहमा उपस्थित हुन टुङ्गो भएन । त्यसपछि अनिवार्य रुपमा उपस्थित हुनु पर्ने माइतीको विकल्पमा मलाई तयार हुन खबर गरियो । त्यतिखेर म बेरोजगार थिएँ । के लैजाने होला बहिनीको विवाहका लागि उपहार ?

एक छिन सोच बिचार गरेपछि छोरीको पास्नीमा आएको एउटा काँसको थाल उठाएर कागजले बेरेँ अनि धनकुटाबाट पुगेँ, उनको विवाह समारोहमा । म पुगेको दुई घण्टापछि दाजुको आगमन भयो । माइतीको उपस्थितिमा उनको विहे भब्यतापूर्वक सम्पन्न भयो । दाजुको आगमन नभएको भए माइतीको अभाव हुन नदिन म विवाह समारोहमा वैकल्पिक रुपमा खडा छँदै थिएँ ।

पछिल्लो एक दशकदेखि सुदूर पूर्व सिमान्त क्षेत्रको पशुपतिनगरमा रहेर काब्यिक दूतको रुपमा उनले लोभलाग्दो सक्रियता देखाइरहेकी छन् । उनी कविता लेखनमा बामे सर्दै गरेको अवस्थादेखि देखिजान्ने सुनिजान्ने मजस्तो दाहिने किनारको साक्षीका लागि उनको साधना र सक्रियता गौरवपूर्ण बनेको छ ।

उनी कस्तो कविता लेख्छिन् ? यसबारेमा मैले समीक्षात्मक टिप्पणी गर्दा निष्पक्षताको कसीमा त्यो न्यायसङ्गत नहुन सक्छ । नातागत निकटता र सम्बन्धगत आत्मीयता भएको सर्जकको सिर्जनामाथि सार्वजनिक रुपमा म सकभर टिप्पणी वा समीक्षा गर्ने आँट कस्न सक्दिनँ ।

त्यसैले विज्ञ न्यायमूर्तिरुपी पाठकहरुको अदालतको कठघरामा उनी आफै आफ्नो काब्यिक बयान लिएर उभिएकै छिन् । त्यसैले मूल्याङ्कनको कसीमा सोही बमोजिम उनको कवितामाथि न्याय हुनेछ भन्ने अपेक्षासम्म म राख्न सक्छु । म त उनको सिर्जनशील यात्रामा सधैँ शुभेच्छाको पुष्पवर्ष गरिरहने पारिवारिक सदस्य परेँ ।

पछिल्लो समय उनी आफ्नो पहिलो कविता सङ्ग्रह “फाटकमा घाम” लिएर नेपाली साहित्यिक जगतमा दमदार उपस्थिति जनाउँदैछिन् ।

उनलाई ३८ वर्षअघि धनकुटामा पहिलोपटक भेट्दा धनकुटा राजारानीका स्वागतमा जसरी झकिझकाउ बनाएर सिंगारिएको थियो, आज उनको पहिलो काब्यकृति आउन लागेको खबरको उज्यालोले मेरो मन उसैगरी झकिझकाउ हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्