गाजा । सोमबार रातिदेखि मंगलबारसम्म इजरेली आक्रमणमा गाजा पट्टीमा कम्तीमा ६० प्यालेस्टिनीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । इजरेलले हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूलाई फिर्ता ल्याउने र उग्रवादी समूहलाई नष्ट गर्ने लक्ष्यसहित गाजामा आक्रमण तीव्र पारेको छ ।

उत्तरी गाजामा एक परिवारको घर र विद्यालय–आश्रयस्थलमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ, जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् । देइर अल–बालाहमा १३ र नुसिरात शरणार्थी शिविरमा १५ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन् । खान युनिसमा दुई आक्रमणमा १० जनाले ज्यान गुमाए ।
इजरेली सेनाले उग्रवादीहरूलाई मात्र लक्षित गरेको दाबी गरे पनि नागरिक मृत्युको दोष हमासलाई लगाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा प्रवेश गर्ने सहायता ट्रकहरू अपर्याप्त रहेको बताएको छ । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ५३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।