कोलम्बो । मंगलबार श्रीलङ्काको एक्सप्रेस रेलले हबराना नजिकै लिक पार गर्दै गरेको जवान जङ्गली हात्तीलाई ठक्कर दिँदा हात्तीको मृत्यु भएको छ भने रेल लिकबाट बाहिर गएको छ । यो दुर्घटना फेब्रुअरी २० मा भएको वन्यजन्तु–रेल दुर्घटनामा संलग्न उही रेलसँग भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटनामा सात हात्ती मारिएका थिए ।

फेब्रुअरीको घटनापछि हात्तीको बासस्थान भएर गुजरने रेलहरूमा गति सीमा लागू गरिएको थियो । साथै, रेलको समयतालिका परिवर्तन, चालकको दृश्यता सुधार गर्न लिकको दुवैतर्फ झाडी सफा गर्ने र हात्तीलाई ठक्करबाट जोगाउन थप समय दिने उपायहरू घोषणा गरिएका थिए । तैपनि, यो दुर्घटना भएको हो ।
राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा भएको यो घटनामा यात्रुलाई केही भएको छैन । रेलवे अधिकारीहरूले दुर्घटनाको अनुसन्धान भइरहेको र इन्जिनियरहरूले कोलम्बो–बाट्टिकालोआ रेललाई लिकमा फर्काउन प्रयास गरिरहेको बताएका छन् ।
वन्यजन्तु अधिकारीहरूका अनुसार, पछिल्लो १७ वर्षमा रेल दुर्घटनामा १३९ हात्ती मारिएका छन् । श्रीलङ्कामा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण विगत एक दशकमा १,१९५ व्यक्ति र ३,४८४ हात्ती मारिएका छन् ।
श्रीलङ्कामा अनुमानित ७,००० जङ्गली हात्ती छन् । बौद्ध संस्कृतिमा महत्त्वपूर्ण मानिने हात्तीलाई राष्ट्रिय सम्पत्तिको रूपमा लिइन्छ र तिनलाई मार्नु वा हानि पुर्याउनु कानुनी अपराध हो । तथापि, हात्तीले बाली नष्ट गर्दा निराश किसानहरूले विद्युतीय झट्का, गोली वा विषको प्रयोग गरी हात्ती मार्ने क्रम जारी छ ।











